औचित्यहीन खर्च

आवश्यकताका आधारमा योजनाको छनोट, निर्माण तथा सञ्चालनमा ध्यान दिनुपर्ने हुन्छ । तर स्थानीय सरकार बनेसँगै भ्यूटावर निर्माणमा देखिएको होडबाजी भने अचम्मलाग्दो छ । कर्णालीमा कयौं गाउँ तथा नगरपालिकाले भ्यूटावर निर्माणका योजनालाई प्राथमिकता दिँदै आएका छन् । स्थानीय सरकारको दृश्यावलोकन स्तम्भ बनाउने होडबाजी चलेको हो । पालिकाहरू आफ्नै र माथिल्लो तहका सरकारबाट अनुदान प्राप्त ठूलो बजेट खर्चिएर भ्यूटावर निर्माण गरिरहेका छन् । स्थानीय सरकारले आवश्यकताभन्दा पनि देखासिकीमा भ्यूटावर बनाइरहेका देखिएको छ । स्वास्थ्य, शिक्षा, सडक र खानेपानीलगायतका क्षेत्रमा लगानी गर्ने बजेटको अभाव रहेको बताउँदै आएका स्थानीय तह अग्ला डाँडामाथि भने धमाधम भ्यूटावर बनाउन लागेका हुन् ।

विकासका लागि गर्नुपर्ने काम र बनाउनुपर्ने योजना धेरै छन् । कर्णालीका कतिपय पालिकाका केन्द्रसम्म सडक सञ्जाल पुगेको छैन । केही गाउँ तथा नगरकार्यपालिकाहरू अहिले पनि भाडाको घरबाट सञ्चालित छन् । विकासका आधारभूत र अत्यावश्यक संरचनामा लगानी नगरेका जनप्रतिनिधिहरूको मोह भने भ्यूटावर निर्माणमा देखिएको हो । अन्य विकास निर्माणका काम थाति राखेर स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि भ्यूटावर निर्माण गरिएको दाबी गरेका छन् । तर, त्यस्ता संरचनामा गरेको लगानीले न त पर्यटकीय गतिविधि बढेका छन् न आन्तरिक आम्दानी नै । स्थानीयस्तरका प्राथमिकताको बेवास्ता गर्दै बनाइएका दृश्यावलोकन स्तम्भबाट ती पालिकाहरूको विकास अवधारणालाई नै गिज्याइरहेको छ । पालिकाहरूले गौरवकै आयोजनाका रूपमा भ्यूटावर निर्माण गर्ने प्रवृत्ति बढ्नु राम्रो नभएको विकास आयोजनाका जानकारहरू बताउँछन् । यस्ता विकासको औचित्य नहुने उनीहरूको तर्क छ । स्थानीय नागरिकको जीवनस्तर उकास्ने क्षेत्रभन्दा अनुत्पादक ठाउँमा लगानी गर्ने होडबाजी बढ्नु पक्कै राम्रो होइन । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकताका लागि नै सेवा प्रवाह गर्न नसकिरहेका बेला अनावश्यक संरचनामा करोडौं खर्च गरिरहेका छन् । अझ अचम्म त के छ भने यस्ता भ्यूटावरहरू अग्ला पहाडका टाकुरामा निर्माण गरिएका छन् ।

भ्यूटावर निर्माण गर्नुलाई पर्यटन विकासको पूर्वाधारका रूपमा व्याख्या गर्ने गरिएको छ । तर अहिले निर्माण भइरहेका त्यस्ता संरचनालाई पर्यटक आकर्षित गर्न भने सकेका छैनन् । यसले पनि विकासका नाममा भ्यूटावरमा गरिएको लगानी र खर्च औचित्यहीन रहेको पुष्टि गर्दछ । स्थानीय आवश्यकता, नागरिकको माग तथा दीर्घकालीन उपलब्धीलाई हेरेर मात्रै संरचना विकासमा ध्यान दिनुपर्ने देखिन्छ । हचुवाका भरमा बनाइने संरचनाले राज्यकोषको दोहोन मात्रै गर्दछन् ।

प्रकाशित मितिः   ३ फाल्गुन २०७८, मंगलवार ०५:०१