स्थानीय सरकारको ‘भ्यूटावर’ मोह

अग्ला डाँडामाथि भ्यूटावर निर्माणको होडबाजी, विकासका अन्य पूर्वाधारमा बेवास्ता

सुर्खेत:

  • दैलेखको गुुराँस गाउँपालिकामा पर्यटक भिœयाउने उद्देश्यले अग्लो डाँडामाथि ५० फिट उचाईको दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले प्रकृतिको सामिप्यतामा रमाउन चाहने पर्यटकका लागि लक्षित गरेर भ्यूटावर बनाइएको बताए । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ६० लाख बजेटमा भ्यूटावर निर्माण गरिएको हो । भ्यूटावर बनेको स्थान समुन्द्री सतहदेखि करिब २५ सय मिटरको उचाईमा पर्दछ ।
  • सल्यानको बागचौर नगरपालिकाले पनि वडा नम्बर २ स्थित अग्ला टाकुरा डाँडामा भ्यूटावर बनाएको छ । नगरप्रमुुख लोकमान बुुढाथोकीका अनुसार भ्यूटावरबाट बागचौरका १२ वटै वडा र छिमेकी पालिका तथा जिल्लाहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
  • जुुम्लाको चन्दननाथ नगरपालिका–३ मा ‘डाँफे भ्यूटावर’ निर्माण गरिएको छ । त्यहाँबाट आसपासका पाटन अवलोकन गर्न सकिने वडा अध्यक्ष नन्द बुुढ्थापाले बताए । उनले जिल्लाकै पर्यटन प्रवद्र्धन गर्न भ्यूटावर बनाइएको जनाए । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १० लाख बजेटबाट यो भ्यूटावर निर्माण गरिएको हो ।
  • प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिको वडा नम्बर ९ लाटीकोइलीमा भ्यूटावर निर्माणाधीन अवस्थामा छ । ६० फिट अग्लो उक्त भ्यूटावरका लागि झन्डै दुई करोडको लागत अनुमान छ । प्रदेश सरकारले एक करोड ८३ लाख बजेट विनियोजन गरेको छ । वडाध्यक्ष सुरेश मानन्धरका अनुसार आर्थिक वर्ष २०७६÷७७ बाट निर्माणको काम सुरु भएको हो । बजेट अभावमा अहिलेसम्म निर्माणको काम सम्पन्न हुन सकेको छैन । सो भ्यूटावर काँक्रेविहार संरक्षित क्षेत्रको प्रवेशद्धार नजिकै निर्माण थालिएको छ ।
  • वीरेन्द्रनगर नगरपालिकाकै वडा नम्बर ११ मा ‘वाचिङ फायर भ्यूटावर’ निर्माण भइरहेको छ । देउती सामुदायिक वन क्षेत्रको अग्लो डाँडामा भ्यूटार बनाउन लागिएको हो । यसको उद्देश्य भने अलि फरक छ । वनमा डढेलो लागेको थाहा पाउन टावर निर्माण गरिएको वडाध्यक्ष नन्दलाल शर्मा बताउँछन् । ‘वाचिङ फायर भ्यूटावर’ को निर्माण कार्य बाँकी नै छ । आर्थिक वर्ष २०७७/०७८ बाट भ्यूटावर निर्माण थालिएको थियो ।

स्थानीय सरकारले निर्माण गरेका र निर्माणाधीन अवस्थामा रहेका भ्यूटावरका यी केही उदाहरण मात्र हुन् । कर्णालीमा कयौं गाउँ तथा नगरपालिकाले भ्यूटावर निर्माणका योजनालाई प्राथमिकता दिँदै आएका छन् । स्थानीय सरकारको दृश्यावलोकन स्तम्भ बनाउने होडबाजी चलेको हो । पालिकाहरू आफ्नै र माथिल्लो तहका सरकारबाट अनुदान प्राप्त ठूलो बजेट खर्चिएर भ्यूटावर निर्माण गरिरहेका छन् । स्थानीय सरकारले आवश्यकताभन्दा पनि देखासिकीमा भ्यूटावर बनाइरहेका देखिएको छ । स्वास्थ्य, शिक्षा, सडक र खानेपानीलगायतका क्षेत्रमा लगानी गर्ने बजेटको अभाव रहेको बताउँदै आएका स्थानीय तह अग्ला डाँडामाथि भने धमाधम भ्यूटावर बनाउन लागेका हुन् ।

कर्णालीका कतिपय पालिकाका केन्द्रसम्म सडक सञ्जाल पुगेको छैन । केही गाउँ तथा नगरकार्यपालिकाहरू अहिले पनि भाडाको घरबाट सञ्चालित छन् । विकासका आधारभूत र अत्यावश्यक संरचनामा लगानी नगरेका जनप्रतिनिधिहरूको मोह भने भ्यूटावर निर्माणमा देखिएको हो । अन्य विकास निर्माणका काम थाति राखेर स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि भ्यूटावर निर्माण गरिएको दाबी गरेका छन् । तर, त्यस्ता संरचनामा गरेको लगानीले न त पर्यटकीय गतिविधि बढेका छन् न आन्तरिक आम्दानी नै । स्थानीयस्तरका प्राथमिकताको बेवास्ता गर्दै बनाइएका दृश्यावलोकन स्तम्भबाट ती पालिकाहरूको विकास अवधारणालाई नै गिज्याइरहेको छ । गुराँस गाउँपालिकाका अध्यक्ष ओलीले भ्यूटावर बनेपछि पर्यटकीय गतिविधि बढेको दाबी गरे । ‘दैनिकजसो आन्तरिक र बाह्य पर्यटक आइरहेका छन्,’ उनले भने, ‘यसले पालिकाका बासिन्दाको व्यापार–व्यवसाय पनि बढेको छ ।’

पालिकाहरूले गौरवकै आयोजनाका रूपमा भ्यूटावर निर्माण गर्ने प्रवृत्ति बढ्नु राम्रो नभएको विकास आयोजनाका जानकारहरू बताउँछन् । यस्ता विकासको औचित्य नहुने उनीहरूको तर्क छ । स्थानीय नागरिकको जीवनस्तर उकास्ने क्षेत्रभन्दा अनुत्पादक ठाउँमा लगानी गर्ने होडबाजी बढ्नु पक्कै राम्रो नभएको डिभिजन वन कार्यालय दैलेखका इन्जिनियर भूपेन्द्र कोइरालाले बताए । यसरी ‘भ्यूटावर बनाउनुको औचित्य छैन,’ उनी भन्छन्, ‘स्थानीय तहले आफ्ना प्राथमिकता र उद्देश्य भुलेका छन् ।’ स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकताका लागि नै सेवा प्रवाह गर्न नसकिरहेका बेला अनावश्यक संरचनामा करोडौं खर्च गरिरहेका छन् । पहाडका टाकुरामा विकासका नाममा भ्यूटावर बनाइनु गलत भएको भन्दै इन्जिनियर कोइरालाले अनुत्पादक क्षेत्रमा भइरहेको लगानी र खर्च रोक्नुपर्ने बताए । कोइरालाले नागरिकका आधारभूत आवश्यकता पूरा गरेर मात्रै यसखालका क्षेत्रमा लगानी गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

उसो त कतिपय पालिकाहरूले भ्यूटावर निर्माण गर्ने योजना नबनाएको भएपनि प्रदेश र संघीय सरकारबाट सोही शीर्षकमा बजेट प्राप्त भएपछि संरचना निर्माण गरिएको जनाएका छन् । चन्दननाथ नगरपालिकामा भ्यूटावरको योजना नभए पनि त्यसकै लागि बजेट आएपछि बनाउनु परेको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् । ‘हामीले भ्यूटावरको योजनालाई प्राथमिकतामा राखेको होइन’, उनले भनिन्, ‘वडा तहबाट आउने यस्ता योजनालाई अस्वीकार गर्ने गरिएको छ । तर, कतिपय वडामा माथिल्ला सरकारबाट नै बजेट आएपछि संरचनाहरू निर्माण भएका छन् ।’ सेजुवालले आफूले शिक्षा, स्वास्थ्य, विद्युुत, खानेपानी र सडकजस्ता पूर्वाधारलाई मात्रै प्राथमिकता दिएको दाबी गरिन् । ‘यहाँ भ्यूटावरको आवश्यकता हुँदै होइन,’ उनले भनिन् । पालिकाहरूमा भ्यूटारमा सबैभन्दा बढी लगानी कर्णाली प्रदेश सरकारले गरेको छ । अधिकांश स्थानमा निर्माण भएका भ्यूटावरको लगानी प्रदेशको हो । केही स्थानीय तहले भने आफ्नै बजेटमा पनि त्यस्ता संरचना निर्माण गरिरहेका हुन् ।

प्रकाशित मितिः   २ फाल्गुन २०७८, सोमबार ०५:०५