चुनावी चहलपहल

आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको मिति घोषणा भएसँगै राजनीतिक वृत्त तातिएको छ । दलहरू चुनाव केन्द्रित भएका छन् । निर्वाचनलक्षित गतिविधिमा सक्रियता बढ्न थालेको छ । जनाधार बटुल्न यतिबेला राजनीतिक दलहरू गाउँ–टोलमा केन्द्रित भएका छन् । राजनीतिक दलहरू संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिमा होमिएका हुन् । पार्टीको आन्तरिक नेतृत्व चयनका लागि भर्खरै अधिवेशनहरू सकेका पार्टीहरू अब भने आफ्नो पक्षमा जनमत पार्न जुटेका छन् । सुर्खेतमा क्रियाशील राजनीतिक दलहरूले आसन्न निर्वाचन लक्षित गतिविधि अघि बढाएका छन् । यसअघि नै जनाधार बलियो भएका पार्टीहरू मुख्य प्रतिष्पर्धीलाई जित्ने गरी रणनीति बनाउँदै छन् भने कमजोर जनमत भएका दलहरूले संगठन विस्तारलाई प्राथमिकता दिइरहेका छन् ।

सुर्खेतमा मुख्यगरी तीन दलबीचको प्रतिस्पर्धा हुने गरेको छ । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचको प्रतिस्पर्धाबीच एमाले टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) पनि मिसिएको छ । चुनावी मैदानमा अन्य दलहरू पनि सहभागी भएपनि प्रतिस्पर्धामा उत्रिन भने सकेका छैनन् । त्यसैले आगामी निर्वाचनमा पनि यिनै प्रमुख दलहरूबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । अहिले जिल्लामा उल्लेखित दलहरूले नै निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिएका छन् । एमाले सुर्खेतले केही दिन यतादेखि वडातहबाटै चुनाव लक्षित अभियानहरू गरिरहेको छ । हालकै सत्ता गठबन्धनसँग चुनावमा भिड्नुपर्ने अवस्था आएमा त्यसविरुद्ध प्रतिस्पर्धा गर्नसक्ने अवस्था विकास गर्नु एमालेको रणनीति र योजना हुनेछ । जिल्लामा क्रियाशील अर्को धेरै जनाधार भएको दल नेपाली कांग्रेसले पनि स्थानीय तहको चुनावका लागि पार्टी गतिविधि अघि बढाउने तयारी गरेको छ । चुनाव केन्द्रित हुनेगरी कांग्रेसले पार्टीका योजना बनाइएको हो । कांग्रेसले विशेष गरेर सांगठनिक प्रशिक्षणलाई जोड दिएको छ, कार्यकता र संगठनलाई सक्रिय बनाउन लागेको देखिन्छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) ले संगठन सुदृढीकरणमा जोड दिएको छ । जिल्लामा अघिल्लो स्थानीय तहको निर्वाचनामा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र अब भने एमाले–कांग्रेससँग प्रतिष्पर्धा गर्नेगरी जनमत जुटाउने तयारीमा होमिएको हो । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले पनि आफ्ना राजनीतिक गतिविधि गाउँ केन्द्रित गरेका छन् ।

स्थानीय सरकार सञ्चालनका लागि निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल सकिदैछ । नागरिक जनप्रतिनिधिको कामबाट कति सन्तुष्ट भए वा भएनन् त्यसको समीक्षा पनि आगामी निर्वाचनबाटै हुनेछ । त्यसैले पनि राजनीतिक दलहरू यतिबेला मतदाता रिझाउन र आफ्नो पकड बढाउन सक्रिय भएको देखिन्छ ।

प्रकाशित मितिः   २ फाल्गुन २०७८, सोमबार ०५:०३