व्यावसायिक कृषिमा आकर्षण
सुर्खेत: वीरेन्द्रनगर–३ कि रत्ना पुुरी च्याउखेती गर्छिन् । यो व्यवसायबाट उनी स्वरोजगार मात्र भएकी छैनन्, अरु १५ जनाले पनि रोजगारी पाएका छन् । उनले पाँच वर्षअघि श्याम कृषि फर्म दर्ता गरेर व्यावसायिक रूपमा च्याउखेती थालेकी थिइन् । दुुई लाख लगानीमा वि.सं. २०७३ बाट सुरु भएको कृषि कर्म पुरीका लागि मनग्य आम्दानीको स्रोत बनेको छ । ‘कृषि क्षेत्रको वर्षौंको अनुभवले व्यावसायिक खेतीमा लागेकी हुँ,’ उनी भन्छिन्, ‘यसबाट कमाइसँगै रोजगारी पनि सिर्जना गर्न सकिएको छ ।’ पुुरीको कृषि फर्ममा च्याउसँगै अन्य तरकारी खेती पनि गरिन्छ । केही वर्ष अघिसम्म नुन तेलका लागि नगद जुटाउन हम्मेहम्मे पर्ने उनलाई व्यावसायिक कृषि खेतीले घरायसी गर्जो टार्न निकै सहज भएको छ । गोव्रे र सीताके च्याउ उत्पादन गर्ने पुरीले त्योसँगै काउली, बन्दा र सबैजसो मौसमी तरकारी फलाएर बजारमा पठाइरहेकी छन् । पुरी दम्पती मिलेर सञ्चालन गरिएको फर्मबाट च्याउँ मात्रै दैनिक ५०/६० किलो बिक्री हुुन्छ । उक्त च्याउ सुर्खेतमै खपत हुने गरेको हो ।
च्याउको बजार राम्रो देखेकी पुरीले यसमा अझै लगानी बढाउने सोच रहेको बताइन् । उनको फर्ममा उत्पादित तरकारी भने कर्णालीका अन्य जिल्लामा समेत पुग्छ । कालीकोट, जुुम्ला र डोल्पासम्म तरकारी बिक्रीका लागि पठाउने गरिएको छ । ‘हाम्रो फर्मले बजारमा पठाएको तरकारीमा कसैको केही गुनासो छैन । बिक्रेतादेखि उपभोक्ता सबैले स्वादिलो र गुणस्तरीय तरकारी दिएको भन्दै प्रशंसा गर्ने गर्नुभएको छ,’ कृषि उद्यमले दिएको आनन्दको अनुभव सुनाउँदै पुरीले भनिन्, ‘वार्षिक ३० लाख हाराहारीमा कारोबारो भइरहेको छ ।’
तरकारी खेतीमा उनले हरेक वर्ष लगानी बढाउँदै लगेकी छन् । उनको लगानी अहिले ६०÷७० लाखमा पुुगेको छ । फर्ममा १० जना महिला र पाँच जना पुुरुषले दैनिक रोजगारी पाइरहेका छन् । च्याउलगायत तरकारीको बजार झन्–झन् बढ्ने देखेकी पुरी भन्छिन्, ‘अझै लगानी बढाएर कम्तीमा ४० जनालाई रोजगारी दिने लक्ष्य छ । यसबाट अरुलाई पनि कृषिमा लाग्ने प्रेरणा मिलोस् ।’ सुरुवातीमा ६ कठ्ठा जग्गामा गरिएको तरकारी खेती हाल ३० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । आफूले तरकारीकै आम्दानीले जीवनस्तर सुधारेको फर्म सञ्चालक पुरी बताउँछिन् । उनले यही फर्मको आम्दानीले सन्तानलाई गुणस्तरीय उच्च शिक्षा दिन सकेको जनाइन् ।
यस्तै, व्यावसायिक कृषि उद्यमबाट राम्रो आम्दानी गरिरहेका अर्का व्यक्ति हुन्, दैलेखको दुल्लू नगरपालिका–६ का डम्बर खड्का । उनी शिक्षक थिए । शिक्षण पेसा नै छोडेर व्यावसायिक कृषि कर्ममा लागेका छन् । ‘चक डस्टर चलाउने हातले आजभोली खेतबारीमै नंग्रा खियाउँदै छु,’ उनले भने, ‘व्यावसायिक कृषि कर्मले निकै सन्तुष्टि दिएको छ ।’ खड्काले झन्डै दुई वर्ष अघिदेखि सुन्तला खेती गरेका छन् । उनले मालिका कृषि तथा पशुपंक्षी फर्म सञ्चालनमा ल्याएका हुन् ।
उसो त खड्काका लागि कमाइ गर्ने अरु पनि थुप्रै विकल्प थिए । तर, कृषि पेसा नै अंगाल्ने निधो गरे । कारण थियो, बेरोजगार दुई जना युवालाई भएपनि रोजगारी दिनु । ‘आम्दानीसँगै रोजगारी पनि सिर्जना गर्न सकिने भएपछि म कृषिमा लागेको हुँ,’ खड्का भन्छन्, ‘त्यसमा पनि नगदे बाली भएकाले सुन्तला खेती गरेको हो ।’ खड्काले हाल सात जना युवालाई आफ्नो फर्मले रोजगारी दिएको बताए । यो व्यवसायलाई विस्तार गरेर थप रोजगारी सिर्जना गर्ने लक्ष्य उनको छ । शिक्षण पेसामा छँदैदेखि खड्काको अतिरिक्त रुचिको क्षेत्र कृषि नै थियो । एक लाख लगानीमा सुरु भएको सुन्तला खेतीमा अहिले लगानी बढाइएको छ । उनले सुन्तलाका बेर्ना उत्पादन गरेर मात्रै वार्षिक ६ लाख नाफा गरिरहेका छन् । मालिका कृषि तथा पशुपंक्षी फर्ममा चार वटा नर्सरी छन् । व्यवसायमा लगानी बढाएसँगै आम्दानी पनि बढ्दै गएको उनले बताए ।
दैलेखमा तरकारी खेती अहिले पनि व्यावसायिक बन्न सकेको छैन । फलफूल तथा अन्य जडीबुटीजन्य बिरुवाका बेर्ना लिन बनेपा र काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता छ । तर, अहिले गाउँघरमै नर्सरी स्थापना भएपछि स्थानीयसमेत खुसी भएका छन् । ‘बिरुवा सजिलै नपाइने हुँदा यस भेगका धेरैले चाहेर पनि फलफूल खेती गर्न सकेका थिएनन्,’ खड्काले भने, ‘अहिले अरु कृषकलाई पनि सहज भएको छ ।’ युवा जनशक्तिले निर्वाहमुखी खेती प्रणालीलाई सुधार गरेर व्यावसायिकतातर्फ लाग्नुपर्ने उनको सुझाव छ । गाउँघरमा धेरैका बारी बाँझो देख्दा मन खिन्न हुने गरेको उनी बताउँछन् ।
पुरी र खड्का प्रतिनिधि पात्र हुन् । उनीहरूजस्तै थुप्रै व्यक्तिहरू पछिल्लो समय व्यावसायिक कृषिमा होमिएका छन् । कृषि पेसा अंगालेकाहरूले आम्दानीसँगै रोजगारी पनि दिइरहेका छन् । सुरुमा लगानी जुटाउन समस्या भएपनि मेहनत गर्दै गए विस्तारै सहयोगी हातहरू भेटिने उनीहरूको अनुभव छ । मालिका कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक खड्काले आफूलाई सरकारी निकायबाट निकै प्रोत्साहन मिल्ने गरेको जनाए । उनको फर्मले हाल लगानीको ५० प्रतिशत रकम अनुदान पाएको छ । खड्काले कृषि विकास कार्यालय दैलेखबाट अनुदान लिएका हुन् । साना किसानदेखि व्यावसायिक कृषि गर्न चाहनेका लागि सरकारी निकायले अनुदान दिँदै आएको छ । कृषि अनुदानको झन्झटिलो प्रक्रिया र सूचनाको सहज पहुँमा नहुँदा किसानहरूको ठूलो संख्या भने अझै पनि लाभान्वित हुन सकेको छैन ।
कृषि विकास निर्देशनालयका बरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुुर रोकायले किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिँदै आएको बताए । संघीय, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रको उत्पादन बढाउन तथा कृषि पेसामा आकर्षित गर्न अनुदानका कार्यक्रम ल्याउने गरेका छन् । मलबिउ, नयाँ कृषि प्रविधि र बजारीकरणका लागि अनुदानका कार्यक्रम सञ्चालन गर्ने गरिएको हो । कृषि विकास निर्देशनालयका अनुसार पछिल्ला वर्षहरूमा कर्णालीमा व्यावसायिक खेती गर्नेको संख्या बढ्दै गएको छ । खासगरी युवा उमेर समूहका व्यक्तिहरूको कृषिमा आकर्षण देखिएको कृषि अर्थ विज्ञ रोकाय बताउँछन् ।
प्रकाशित मितिः २९ माघ २०७८, शनिबार ०५:०५
रजनी याेगी ।