शान्ति तथा पुनर्स्थापना केन्द्र स्थापनाका लागि कानुन बनाइने

सुर्खेत – कर्णाली प्रदेशमा शान्ति तथा पुनर्स्थापना केन्द्र स्थापनाका लागि कानुन बनाइने भएको छ । केन्द्र स्थापनाका लागि बनेको विधेयक प्रदेश सभामा छलफलका लागि पेश गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बिहीवार संसदमा छलफलका लागि विधेयक पेश गरेका हुन् ।

जनयुद्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनमा मृत्यु भएका र बेपत्ता पारिएका व्यक्तिका परिवार तथा घाइते र अपाङ्गता भएकाहरुको हेरचाह, पुनर्थापनासहित सीपमूलक तालिम प्रदानका लागि शान्ति तथा पुनर्स्थापना केन्द्र स्थापना गर्नुपर्ने भएको बताए । उनीहरुको सहज जीवनयापनका लागि पनि केन्द्र आवश्यक रहेको उनले औल्याए । साथै यसले दिगो शान्ति व्यवस्थापनमा सघाउ पुग्ने मन्त्री शाहीको भनाई थियो ।

छलफलका क्रममा सांसदहरु ठम्मर विष्ट, दल रावल, कौशीलावती खत्रीले विधेयकलाई संशोधन गरेर थप प्रभावकारी बनाउनुपर्ने बताए । उनीहरुले द्वन्द्वका पीडितहरुले न्याप पाउने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः   २७ माघ २०७८, बिहीबार १४:००