संसद् बैठक दुई हप्ताका लागि स्थगित

सुर्खेत – कर्णाली प्रदेशसभाको नवौं अधिवेशन दुई साताका लागि स्थगित गरिएको छ । आज बसेको बैठकमा सभामुख राजबहादुर शाहीले आगामी फागुन १६ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

नवौं अधिवेशन गत पुस २८ गतेदेखि सुरु भएको थियो । अधिवेशन अन्तर्गत ९ वटा बैठक सम्पन्न हुँदा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको आर्थिक अध्यादेश पारित गरिएको छ । माघ १८ गते सम्पन्न चौँथो बैठकले आर्थिक अध्यादेश सर्वसम्मत स्वीकृत गरेको हो । प्रदेशसभा सञ्चालन नभएको अवस्थामा सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याएको थियो ।

प्रतिपक्षी दल नेकपा(एमाले)ले लगातार संसद बैठक अवरुद्व पारेपछि अध्यादेश पारित हुन सकेको थिएन । सर्वदलीय छलफलमार्फत विभिन्न सात बुँदे सहमति गरेर एमालेले विधेयक पारित गर्न सघाएको हो।

यस्तै अन्य विभिन्न विधेयकहरुमाथि पनि संसदमा छलफल भएका छन् । केही विधेयक पारित समेत गरिएको छ ।

 

प्रकाशित मितिः   २७ माघ २०७८, बिहीबार १७:५४