एमालेलाइ लगायो मधेसी मोर्चाले यस्तो आरोप
मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रमुख प्रतिपक्षी दल एमालेविरुद्ध अर्को कडा वक्तव्य जारी गरेको छ। बिहीबार संघीय समाजवादी फोरम मूख्यालयमा गठबन्धन बैठकपछि संयोजक उपेन्द्र यादवले वक्तव्य जारी गर्दै एमालेलाई नश्लीय राजनीति गरी मुलुक विखण्डन गर्न खोजेको आरोप लगाएका छन्।
वक्तव्यको पहिलो बुँदामा भनिएको छ, ‘संविधान संशोधन विरोधको नाममा एमालेले दिएको नश्लीय अभिव्यक्ति मुलुकमा जातीय सामाजिक सहिष्णुता भड्काउने र मुलुकलाई विभाजन गर्नेतर्फ उन्मूख रहेकाले राष्ट्रिय एकतालाई कमजोर पारी मुलुकलाई अनिश्तित गृहयुद्धतिर धकेल्ने एमालेको यस प्रतिगमनकारी गतिविधिको हामी घोर भर्त्सना गर्दछौं।’
वक्तव्यमा एमालेले संघीयता, गणतन्त्र, धर्म्निरपेक्षता, समावेशी लोकतन्त्रजस्ता उपलब्धि धरापमा पारेको समेत आरोप लगाइएको छ।
विज्ञप्तीको दोस्रो बुँदामा जनाइए अनुसार आगामी साता मधेसी मोर्चाले संघीयता सम्बन्धी १० प्रदेशको माग गरी अन्तरक्रिया गर्ने र त्यसपछि आन्दोलन उल्लेख गरिएको छ।
तेस्रो बुँदामा भने सरकारसँग भएको तीन बुँदे सहमति अनुसार संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित संसदमा प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।
यसअघिको मधेसी मोर्चा बैठकमा पनि एमालेविरुद्ध कडा अभिव्यक्तिसहितको विज्ञप्ति जारी भएको थियो।
साझा बिसौनी ।