फास्ट ट्र्याक भारतीय कम्पनीलाई दिने प्रस्ताव रद्द

सरकारले काठमाडौं–तराई जोड्ने फास्ट ट्राक आफैं निर्माण गर्ने घोषणा गरेको छ। बिहीबार मन्त्री परिषद्को बैठक बसी सरकारले स्वदेशी लगानीमा आफैं निर्माण गर्ने औपचारिक घोषणा गरेको हो।

बैठकपछि पत्रकारहरुसँग बोल्दै सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले फास्ट ट्राक सरकार आफैले बनाउने औपचारिक निर्णय सरकारले गरेको जानकारी दिए।

सो योजना सफल बनाउन सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको समेत बताए।

यसअघि फास्ट ट्राक बनाउने जिम्मा भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लेजिङ एन्ड फाइनान्सिएल सर्भिस लिमिटेड आईएल एण्ड एफसलाई दिइएको थियो।
निर्णय भएको लामो समयसम्म निर्माण सुरु हुन नसकेपछि आयोजनाको चौतर्फी विरोध समेत भएको थियो।

त्यस्तै मन्त्री परिषद्को बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्षमा प्रमोद कुमार वैद्यलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

आजैको बैठकले पुनर्निर्माणमा खटेका प्राविधिकलाई ७५ प्रतिशत भत्ता दिने निर्णय मन्त्री परिषद्ले गरेको भने सामूहिक राजिनामा दिएका पुनःनिर्माण प्राधिकरणका इन्जिनियरहरुलाई ४८ घन्टासम्म काम फर्कन समेत निर्देशन दिएको छ।

प्रकाशित मितिः   ७ पुष २०७३, बिहीबार १५:१३