जुम्लामा हिउँमा फसेकाको हेलिकोप्टरबाट उद्धार गरिँदै

चिसाेमा कठ्याङ्गिएर दुई जनाको मृत्यु

सुर्खेतः जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरिएको छ । कर्णाली प्रदेश सरकारले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेको जनाएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको गाग्रा पाटन पठाउन लागिएको बताएका हुन् ।

हिउँ पाँच फिट जति परेको र त्यहाँ हेलिकोप्टर बस्न सक्ने अवस्था नभएपछि भोकबाट बचाउन तत्काल उनीहरुका लागि खानेकुरा खसाल्ने तयारी भइरहेको जनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले त्यहाँको स्थिति थाहा पाउनका लागि तातोपानी गाउँपालिका–८, जुम्ला टोप्लागाउँका स्थानीय सुरतबहादुर शाहीसहित चिउरा, दालमोठ, चाउचाउजस्ता खानेकुरा लिएर जाने तयारी भइरहेको बताए । स्थानीयवासी शाहीका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन् । उनीहरु सेतक चिनी (खिरौंला) संकलन गर्न त्यहाँ गएका थिए ।

यसैबीच, हिउँमा पसेका दुई जनाको मृत्यु भएको छ । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार तातोपानी गाउँपालिका–८ की जैकुवाँरा शाही र तातोपानी–७ बाह्रगाउँका मुनबहादुर रावतको हिउँले कठ्याङ्गिएर मृत्यु भएको हो । उनले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिको उद्धारको तयारी भइरहेको बताइन् ।

प्रकाशित मितिः   २३ माघ २०७८, आईतवार १३:३०