कर्णालीमा पाँच मन्त्री थपिए, तीन महिनापछि सरकारलाई पूर्णता

सुर्खेत- तीन महिनापछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आइतवार थप पाँच जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

थपिएका मन्त्रीमा नेपाली कांग्रेसकातर्फबाट यज्ञबहादुर बिसी र हिमबहादुर शाही छन् । बिसीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी अघिल्लो सरकारमा पनि सोही मन्त्रालयका मन्त्री थिए ।

यस्तै पहिलो पटक मन्त्री बनेका शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । आठ सदस्यीय मन्त्रीमण्डलमा कांग्रेसले मुख्यमन्त्रीसहित थप दुई मन्त्रालय लिएको छ ।

गठबन्धनभित्रको सबैभन्दा ठुलो दल नेकपा (माओवादी केन्द्र)ले सांसद गणेशप्रसाद सिंह र गैरसांसद छिरिङ डम्डोल लामा (कार्चेन लामा)लाई मन्त्री बनाएको छ । सिंहलाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र लामालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । माओवादीबाट यसअघि विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का सांसद पदमबहादुर रोकायाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । एकीकृत समाजवादीबाट यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दलका नेता चन्द्रबहादुर शाही मन्त्री भइसकेका छन्।

नवनियुक्त मन्त्रीलाई आइतवार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

प्रकाशित मितिः   २३ माघ २०७८, आईतवार १९:०६