कर्णाली प्रदेशसभाको स्थापना दिवसमा विविध कार्यक्रम

सुर्खेत: कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना भइरहेका छन् । खुल्ला संसद् सप्ताहअन्तर्गत बुधवार ‘यूवासँग प्रदेशसभा’ संवाद कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले संसद्का गतिविधि र कार्यक्षेत्रबारे युवाहरूलाई जानकारी गराएका थिए । उक्त अन्तरक्रियामा उपस्थित युवाहरूले सभामुखसँग सवाल–जवाफसमेत गरे । कर्णाली प्रदेशसभाले स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको छ ।

प्रदेशसभाले चौथो वार्षिकोत्सव माघ २१ गते औपचारीक कार्यक्रम गरी मनाउँदै छ । जसअन्तर्गत विभिन्न कार्यक्रमहरू गरेर स्थापना दिवस मनाउन लागिएको हो । माघ १७ गतेदेखि स्थापना दिवस लक्षित कार्यक्रम आयोजना गर्न थालिएको छ । प्रदेशसभा सचिवालयका अनुसार माघ १७ गते प्रदेशसभा परिसरको सरसफाइ गरिएको थियो । त्यस्तै, माघ १८ गते खेलकुद प्रतियोगिताको आयोजना गरियो । स्थापना दिवसको अवसरमा वक्तित्वकला प्रतियोगिता समेत गर्न लागिएको छ । ‘म प्रदेशसभा सदस्य भएँ भने’ शीर्षकमा माध्यमिक विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता आज ‐बिहीवार) गरिने भएको हो । माघ २१ गते बिहान ११ बजे औपचारिक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण, स्मारिका विमोचनलगायतका कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अबदेखि हरेक महिनाको दुई दिन सर्वसाधारणको लागि कर्णालीको संसद् खुल्ला रहने जनाइएको छ । सर्वसाधारणको अवलोकनका लागि प्रत्येक महिनाको १५ र २९ गते संसद् खुल्ला रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मितिः   २० माघ २०७८, बिहीबार ०५:०२