विपदले दिएको घाउ

जुम्ला: गत कार्तिकको पहिलो साता जुम्लाबासी दसैंलाई बिदा गरी तिहारको स्वागतमा जुटेका थिए । मार्सी फाँटमा लहलह धान झुलेका थिए । अनि पाटन तथा खर्कबाट बेसी झारिएका भेडिगोठ र भैंसी गोठहरूरुले वर्षा सकिएर हिँउद लाग्ने संकेत दिइरहेका थिए ।
कार्तिक महिना लाग्नासाथ वर्षा हुन छोड्छ, यहाँका किसानलाई सिमी, मकै, धान, कोदोलगाएतका बाली भित्र्याउने चटारो सुरु हुन्छ । सँगै हिँउदभरी गाइवस्तुलाई पुग्ने घाँस काट्ने ध्याउन्नमा मग्न हुन्छन् कृषक । तर यो वर्ष प्रकृतिले पनि आफ्नो कर्म भुल्यो । कार्तिक सुरु भएकै दिनबाट जुम्लामा भारी वर्षा सुरु भयो । ठाउँठाउँमा पहिरो जान थाल्यो । अझ ठूलो विपद तब आयो जब वर्षभरीको दुःख भुलेर भकारीमा मार्सी भित्र्याएर भोक मेट्ने किसानको सपनामाथि वर्षाको बज्र पर्यो ।
सरकारले आश्वासन दियो, राहत दिएन
मानवीय क्षति नहोस् भन्नका लागि काम छोडेर घरभित्रै बस्न थाले भेरिखोलाका नागरिक । खोलानालामा आवतजावत पनि बन्द भयो । विगतमा भेरिखोलामा बाढी र पहिरोले सामान्य असर गथ्र्यो । यो पटकको वर्षाले पनि ठूलो क्षति नहुने विश्वासमा थिए, किसानहरू । गत कार्तिक महिनाको ३ गते राती १२ बजे भेरीखोला उर्लेर आयो । ‘बिहान उठेर हेर्दा मार्सी फाँटमाथि बाढी हिँडिरहेको थियो, दर्जनौं विद्युतगृह बगेको खबर कानमा पर्यो, डेढ सय भेडाको बथान बाढीमा मिसिएको थियो, यो हाम्रो कल्पना बाहिरको परिणाम थियो’ तातोपानी–७ सर्मीका दलजीत बुढाले त्यो दिन सम्झिए ।
अहिलेका पुस्ताले भेरीखोला नदिमा यति ठूलो बाढी आएको कहिल्यै देखेका थिएनन् । बुढापाकाका अनुसार वि.सं. १९८४ सालमा ठूलो बाढी आएको थियो, झन्डै सय वर्ष पछि पुन उर्लेर आएको बाढीले भेरिखोलाका नागरिकलाई रित्तो बनाएर गयो । ‘सर्मीको छिमेकी गाउँ नुवाकोटमा बाढी एक बजे पुगेको थियो, गाउँमा आफन्तको घरमा बस्न गएका थियौं, राती फर्केर घर पुग्दा त छिमेकीको घर बगरमा मिसिएको थियो, मेरो घरको आँगनसम्म बाढी पुगेको थियो’ तिला–४ नुवाकोट कि जानकी शाहीले भनिन् । जानकीको परिवारले ज्यान त जोगाए तर मार्सी झुलेको फाँट जोगाउन सकेनन् । खेत बाढीले बगर बनायो । ‘खेत बगर भइसके, बाढीले क्षेक्षिग्रस्त शेषहरू हेर्दा सम्हालिन मुस्किल पर्र्छ, विपदका आला घाउहरूले बेला–बेला झस्काउन्छ, मन अतालिन्छ’ तातोपानी–७ का अर्का कृषक कृष्ण खड्का भन्छन् ।
बाढीले जुम्लाका दुई दर्जन पानी घट्ट, एक दर्जन विद्युतगृह, झन्डै डेढ सय भेडाबाख्रासहित दुई घर बगायो भने १८ दशमलव ७३ हेक्टर मार्सी फाँट बगरमा परिणत बनायो । कृषि विकास कार्यालय जुम्लाले संकलन गरेको तथ्याङ्क अनुसार बाढीले जुम्लाका एक हजार दुई सय १२ जना किसानको मार्सी धान र अन्य बालीमा क्षति गरेको छ । बाढीले धानमा क्षति गर्दा यस वर्ष झन्डै १२ सय मेट्रिक टन धान उत्पादन घटेको छ । गत वर्ष साढे ६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष पाँच हजार चार सय मेट्रिक टन मात्रै धान उत्पादन भएको कार्यालयले जनाएको छ ।
बेमौसमी वर्षाले ठूलो नोक्सानी व्यहोरेका किसानले अझै राहत भने पाएका छैनन् । संघीय र प्रदेश सरकारले क्षतिको मुल्याङ्कन गरेर तत्काल राहत वितरण गर्ने भने पनि चार महिना वितिसक्दा समेत पीडितलाई राहत दिने कुनै सुरसार छैन । राहत पाउने आशमा बसेका किसानहरू निराश बनेका छन् । ‘भित्र्याउन तयार गरिएको मार्सी धानसखाप भयो, अहिले ऋण गरेर जीविका चलिरहेको छ ।’ तिला ३ कि कलि चौंलागाईले भनिन्, ‘जीविकोपार्जन हुने उपायबारे सरकारले सोचिदिए हुन्थ्यो ।’
प्रकाशित मितिः २० माघ २०७८, बिहीबार ०५:०१
साझा बिसौनी ।