कांग्रेसको १३ औं महाधिवेशनः सुर्खेतबाट तीन जनाको उम्मेदवारी
साझा बिसौनी संवाददाता
सुर्खेत, २१ फागुन ।
राजधानी काठमाडौंमा जारी नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सुर्खेतबाट तीन जनाले उम्मेदवारी दिएका छन् । पार्टीको केन्द्रीय सदस्य पदका लागि सुर्खेतबाट नेताहरू पूर्णबहादुर खड्का, हृदयराम थानी र खड्गबहादुर बस्यालले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् ।
उनीहरू तीनै जनाले शुक्रवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेत क्षेत्र नं. १ का सांसद समेत रहेका कांग्रेस सहमहामन्त्री खड्काले यसअघि महामन्त्रीको आकांक्षा राखेको भए पनि अन्ततः केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले देउवा प्यानलबाट खुल्लातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । खुल्लातर्फ रहेको २५ वटा कोटामा उनले उम्मेदवारी दिएका हुन् ।
यस्तै सुर्खेत क्षेत्र नं. २ का सांसद हृदयराम थानी र समानुपातिक सांसद खड्गबहादुर बस्यालले संस्थापन पक्षबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । थानीले प्रदेश नं. ६ अन्तर्गतको केन्द्रीय सदस्यको कोटामा उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश नं. ५ बाट दुई जना केन्द्रीय सदस्यको कोटा रहेको छ । सांसद थानी यसअघि राज्य व्यवस्था समितिका सभापति थिए ।
यस्तै सांसद बस्यालले दलित कोटाबाट उम्मेदवारी दर्ता गराएका छन् । दुई जनाको कोटा रहेको पदमा बस्यालले पनि उम्मेदवारी दिएका हुन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका बस्यालले कांग्रेस निकट दलित संघको केन्द्रीय सभापतिको भूमिका पूरा गरिसकेका छन् । कांग्रेसको यसपटकको महाधिवेशनमा सुर्खेतबाट तीन जनाले केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।
साझा बिसौनी संवाददाता ।