मतदाता नामावली सङ्कलन हँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ फागुन ।
जिल्ला निर्वाचन कार्यालय सुर्खेतले यस वर्षको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम एक नगरपालिकासहित २९ गाविसमा सञ्चालन गर्ने भएको छ । आगामी चैत्र १० देखि वैशाख ११ गतेसम्म एक महिने अभियानमार्फत् यसअघि छुटेका मतदाताहरूको फोटोसहितको नामावली सङ्कलन गर्नुका साथै अद्यावधिक गर्ने काम गरिने कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन कार्यालयले तीन वटा टोलीमार्फत् अभियान सञ्चालन गर्ने योजना बनाएको छ । जसमा भेरीगंगा नगरपालिकासहित तीन वटै निर्वाचन क्षेत्रका गरी २९ वटा गाविस छन् । प्रत्येक गाविसमा पुगेर नामावली सङ्कलन गरिने जिल्ला निर्वाचन अधिकृत सुनिता थापाले जानकारी दिइन् ।  यस वर्ष बजेडीचौर, राकम, मालारानी, सहारे, साविकका घुमखहरे, दहचौर, मेहेलकुना, लेखपराजुल, बिजौरा, गुटु, विद्यापुर, घाटगाउँ, तातापानी, बावियाचौर, सालकोट र कुनाथरीमा यो अभियान सञ्चालन गरिनेछ । त्यसैगरी पोखरीकाँडा, हरिहरपुर, रानीवास, रझेना, नेटा, गुमी, लेखफर्सा, दशरथपुर, कल्याण, साटाखानी, गढी र लेखगाउँमा पनि अभियान सञ्चालन गर्ने तयारी गरिएको निर्वाचत अधिकृत थापाले जनाइन् । अघिल्लो वर्ष जिल्लाका सबै गाविस र नगरपालिकामा पुगेर मतदाता नामावली सङ्कलन गरिएको भए पनि यस वर्ष २९ गाविससहित एउटा नगरपालिकामा मात्रै हुने जनाइएको छ । जनसंख्या बढी भएको र विगतमा छुटेका सम्भावित गाविसहरूलाई यस वर्ष प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ । एउटा गाविसमा २ दिनसम्म नामावली सङ्कलनको कार्य गरिनेछ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ । 
तीन लाख ५० हजार जनसंख्या रहेको सुर्खेतका करिब एक लाख ८० हजारले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराइसकेको कार्यालयले जनाएको छ । उमेर पुगेका र विगतमा छुटेका अझै करिब ६० हजार जनाको नामावली सङ्कलन गर्न बाँकी छ । यस वर्षको एक महिने कार्यक्रममा जतिसक्दो धेरैलाई सहभागी गराउने लक्ष्य राखिएको अधिकृत थापाले बताइन् । मतदाता नामावली सङ्कलनमा अनेक चुनौतीहरू देखिएको भन्दै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताइन् । ‘गाविस र राजनीतिक दलहरूले तदारुकता देखाएमा सबैलाई समेट्न सकिन्छ’ थापाले भनिन्, ‘कतिपयले जानकारी नपाएर पनि नामावली दर्ता गरेका छैनन् भने कतिपयले थाहा पाएर पनि वेवास्ता गरेको पाइन्छ ।’ बसाइँसराइको दर बढेकाले पनि मतदाता नामावली सङ्कलनको कार्यमा उल्लेखनीय सहभागिता नभएको उनको भनाइ छ ।
रोजगारीका लागि भारत लगायतका बाहिरी देशमा गएकाहरू यही समयमा फर्कने हुनाले पनि उनीहरूलाई समेट्ने गरी चैतदेखि वैशाखसम्म अभियान सञ्चालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका पुरुषहरू रोजगारीको शिलशिलामा भारत जाने गरेका छन् भने स्वदेशमै भएका पनि विविध कारणले छुटेको जनाइएको छ । यस वर्ष भेरीगंगा नगरपालिका र २९ वटा गाविसमा निर्वाचन कार्यालयको टोली मतदाता नामावली सङ्कलनका लागि पुग्ने भए पनि अन्य गाविसका नागरिकले पनि त्यहाँ पुगेर नाम दर्ता गराउन सक्नेछन् । बसाइँसराइ गरेको भए त्यसको प्रमाणपत्रसहित मतदाता नामावलीमा भएको स्थान परिवर्तन समेत गर्न सकिने जनाइएको छ ।  
प्रकाशित मितिः   २२ फाल्गुन २०७२, शनिबार ११:०१