कांग्रेसको कमजोरी
नेपाली कांग्रेसले १३ औं महाधिवेशनसम्मको यात्रा तय गर्दा राजनीतिक र सैद्धान्तिक चेत खुलेको तर व्यावहारिक चेतनाको ढोका भने उग्रन नसकेको टिप्पणी हुने गरेको छ । नेपाली राजनीतिले आत्मसाथ गरेको हरेक परिवर्तनहरूमा नेपाली कांग्रेसको संलग्नता र योगदान रहँदै आएको कुरा कसैले नकार्न सक्दैन । इतिहासका विशेष कालखण्डको विशेष मोड र घुम्तीहरूमा पार्टी आन्तरिक दुर्घटनामा परेको र त्यसको असर सिंगो मुलुकको प्रजातन्त्रमा तरंगित भएको पाइन्छ । बीपीले तयार गरिदिएको राजकीय विचारधाराको हैसियतको प्रजातान्त्रिक समाजवादपछिका पुस्तालाई ब्याज खान लगानी गरेको राजनीतिक धनका रूपमा प्रयोग भयो । बीपीको राजनीतिक लगानी, त्याग तपस्यालाई साहु महार्जनको सम्पत्तिमा छोरारनातिले बिनाश्रम मोजमस्ती साथ उपयोग गरे जस्तो गरे । नेपाली कांग्रेसको जीवनमा प्रजातन्त्रको बुझाइप्रति बृहत क्षेत्र लिन सकेको देखिँदैन । प्रजातन्त्रप्रतिको यही साँघुरो घेराले गर्दा कांग्रेसलाई लाग्ने गरेको पूँजीपतिको पार्टी हो, सामन्त, दलाल तथा नेकरशाही पूँजीपति वर्गको प्रतिनिधित्व गर्छु भन्ने आरोप बेलाबेला आफैंले प्रमाणित गर्दै आएको छ ।
२०१५ सालको आमचुनावमा संसद्को दुई तिहाइ बहुमत ल्याएको नेपाली कांग्रेसको सत्ता यात्रा विशेषतः मातृका र बीपीबीच विवाद र टकरावकै कारण दुर्घटनामा प¥यो । कांग्रेसकै आन्तरिक कमजोरीमा टेकेर तत्कालीन राजा महेन्द्रले कांग्रेसको ढोका बन्द गरेर दलविहीन पञ्चायत घोषणा गरे । यसरी कांग्रेस ३० वर्ष पछाडि धकेलियो । २०४६ को जनआन्दोलनताका आइपुग्दा कांग्रेसले धेरै लगानी गर्नुप¥यो । प्रजातन्त्र पुनस्र्थापना गर्नुपर्ने चेत खुल्यो । त्यही अन्तर्गत अन्य वामपन्थी राजनीतिक दलहरूसँग सहकार्य गरेर मात्रै आन्दोलन सफल हुने चेतना कांग्रेसमा छायो । तर प्रजातन्त्रको पुनस्थापना पश्चात् राजनीतिक वा वामपन्थी दलहरूसँगको मित्रता र एकताले मात्रै प्राप्त उपलब्धि रक्षा हुने र प्रजातन्त्र सुदृढ तथा बलियो हुने चेत गुम हुँदै गयो । त्यसका लागि राजासँग भन्दा जनता र आन्दोलनको सहयात्री दलहरूसँग दूरी नजिक बनाउनुपर्ने होस् त्यत्ति खुलेको देखिएन । त्यसो त प्रजातान्त्रिक पार्टीका आन्तरिक प्रजातन्त्र बलियो बनाउन पार्टीभित्र एकता मजबुत हुनुपर्नेमा ध्यान नखिची सत्ता मजबुत गर्न गुट मजबुत गर्नेतर्फ कांग्रेस लाग्यो । पार्टीभित्र गुट, उपगुट र षड्यन्त्रका योजना मौलाए । फलस्वरूप छत्तीसे, बहत्तरेमा विभाजन हुँदै आफ्नै नेतृत्वको सरकार पूर्णकालीन हुन पाएन । पार्टीभित्रको यस्तो सत्ता, पद र शक्तिको लुछाचुँडीले प्रजातन्त्र नै कमजोर बनाउँदै लग्यो ।
राजतन्त्र बलियो बन्दै जाने क्रममा हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्रको कुको शिकार बन्यो मुलुक । प्रजातन्त्र अपहरण भयो । यति हुँदाहुँदै पनि नेपाली कांग्रेसमा चेत खुल्दैन, सुध्रदैन, सच्चिएर जाने छाँटकाँट देखिँदैन । उसले अहिलेसम्म पनि प्रजातन्त्रलाई कर्मकाण्डीतन्त्रका रूपमा लिएको देखिन्छ । माला जप्ने तर भौतिकवादी र वस्तुवादी ढङ्गले रूपान्तरित हुन गाह्रो मान्ने स्थिति यो पार्टीमा देखिइरहेको छ । प्रजातन्त्र कुनै अमूर्त सिद्धान्त मात्रै त होइन यो त व्यवहार हो । प्रजातन्त्रको रूप व्यवहारमा वस्तुगत ढङ्गले आउनुपर्छ । यो समाज रूपान्तरण गर्ने तन्त्र हुनुपर्छ । यो मापनीय, जाचकीय र परिणाममुखी हुनु पनि उत्तिकै जरुरी छ । फेरि पनि कांग्रेस पदीय लुँछाचुँडीमा जीवन–मरण लडार्इं लडेको आभाष मिल्छ । जब सत्ता र महाधिवेशन हात लाग्ने अवस्था आउँछ तब कांग्रेसमा यस्तै हुन्छ । गुटबन्दी सक्रिय हुन्छ । यतिबेला पनि सभापतिलगायत विभिन्न पदका लागि कांग्रेसमा रंगीविरंगीका प्यानल खडा छ । पद प्रवृत्तिको पुनरावृत्ति हो ।
साझा बिसौनी संवाददाता ।