स्वास्थ्य शिविर सम्पन्न
साझा बिसौनी संवाददाता
दैलेख, ३० चैत ।
दैलेखको बिन्ध्यावासिनी गाविसको आर्थिक सहयोग तथा प्रजनन् अधिकार मञ्च बिन्ध्यावासिनीको आयोजनामा पाठेघर खसेका महिलाको समस्या पहिचान सम्बन्धी एक दिने शिविर टाटामाखुमा मंगलवार सम्पन्न भएको छ । शिविरका लागि बिन्ध्यावासिनी गाविसले चालु आर्थिक वर्षको महिला लक्षित बजेटबाट ३५ हजार रूपैयाँ दिएको थियो । सो कार्यक्रमको समन्वय जिल्ला स्वास्थ्य कार्यालय र महिला सशक्तीकरण मञ्चले गरेको हो ।
सो शिविरमा कूल एक सय ५ जनाको स्वास्थ्य परीक्षण गरिएका मध्ये १४ जनालाई पाठेघरको अप्रेशन गर्न सिफारिस गरिएको शिविरका संयोजक महिला प्रजनन् अधिकार कार्यक्रमका जिल्ला संयोजक दुर्गा खत्रीले जानकारी दिईन् । जिल्ला स्वास्थ्य कार्यालयका डा. हरिकृष्ण लामिछाने, पब्लिक हेल्थ नर्स हरिकला थापा, बिन्ध्यावासिनी स्वास्थ्यचौकीका सि. अहेव चन्द्रबहादुर बिक, नेपाल परिवार नियोजनकी स्टाफ नर्स कुसुम हमालको टोली महिलाहरूको स्वास्थ्य परीक्षण गरेको थियो । शिविर सम्पन्न भएपछि भएको समीक्षा कार्यक्रम गाविस सचिव युवक हमालले शिविरले महिला स्वास्थ्य सेवा प्रभावकारी बनाउन सबै निकायलाई सम्वेदनशील बनाएको बताए ।
समीक्षा कार्यक्रममा महिला सशक्तीकरणमञ्चका अध्यक्ष डिलकुमारी चन्द, बिन्ध्यावासिनीको महिला सञ्जालका अध्यक्ष मन्धरा मल्ल र बिन्ध्यवासिनी स्वास्थ्यचौकीका इञ्चार्ज सि. अहेव चन्द्रबहादुर बिकले बिन्ध्यावासिनीमा महिला लक्षित कार्यक्रम जिल्लाकै उत्कृष्ट रूपमा परिचालन भएको दाबी गरे ।
साझा बिसौनी संवाददाता ।