परीक्षणको दायरा

कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर समुदायस्तरमा फैलिएको छ । हरेक दिन नयाँ संक्रमितको संख्या बढ्दै गएको छ । ठूलो संख्यामा संक्रमण पुष्टि हुँदै आएको छ । परीक्षण गरिएकामध्ये ७० प्रतिशतभन्दा माथिलाई दैनिक संक्रमण पुष्टि भइरहेको हो । यसले कोरोना संक्रमणको भयावह अवस्थालाई देखाउँछ । त्यसमाथि ओमिक्रोन भेरियन्टका संक्रमित पनि बढ्दै गएका छन् । यो जोखिमकाबीच सरकारले संक्रण नियन्त्रण तथा रोकथामका लागि भनेर शैक्षिक संस्था बन्द गरेको छ । सार्वजनिक स्थानहरूमा भिडभाड नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निर्देशन जारी गरेको छ । तथापी जोखिम बढाउने गतिविधि नियन्त्रण भने भएका छैनन् । अर्कोतर्फ सरकारले नै परीक्षणको दायरा पनि बढाउन सकेको छैन । अहिले परीक्षण नै सीमित संख्यामा भइरहेको छ ।

यतिबेला घर–घरमा रुघाखोकी र ज्वरोका बिरामी छन् । कोभिडसँग मिल्दोजुल्दो लक्षण भएपनि अधिकांशले परीक्षण गर्ने गरेका छैनन् । स्वास्थ्य संस्थाहरूले समेत पछिल्ला दिनमा परीक्षणको दायरा साँघुरो बनाएका छन् । यसअघि प्रत्येक स्थानीय तहमा कोरोना परीक्षण हुने गरेकोमा हाल उक्त सेवा सीमित बनाइएको छ । केही पालिकाहरूमा मात्र एन्टिजेन विधिबाट कोरोना परीक्षण हुन्छ । दुर्गमका धेरैजसो स्थानीय तहमा अहिले परीक्षणको सुविधा छैन । सरकारले कोरोनाविरुद्धको खोप र परीक्षणको दायरा बढाउन निर्देशन गरेपनि सोहीअनुुसार स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्न नसकेका हुन् । स्वास्थ्यकर्मीहरूका अनुसार कतिपय स्वास्थ्य संस्थामा जनशक्तिको अभाव छ भने केहीमा परीक्षण किटलगायतका स्वास्थ्य सामग्री उपलब्ध छैनन् । संक्रमण तीव्र बनेका बेला स्थानीय तहमा परीक्षणको व्यवस्थापन नहुँदा नागरिकहरू मर्कामा परेका छन् । सिकिस्त बिरामी परेकाहरू पनि परीक्षणका लागि स्वाब दिन सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ । जसले गर्दा लक्षणसहितका बिरामीले समेत सहज रूपमा परीक्षण गराउन पाएका छैनन् । हाल ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर आशंकित सबैको परीक्षण पनि हुँदैन । जसलाई लक्षण देखिएको छ उनीहरूले मात्रै कोरोना परीक्षण गर्ने गरेका हुन् ।

पहिलो र दोस्रो लहरमा निकै प्रभावित बनेको सुर्खेतमा तेस्रो लहरमा पनि कोरोना संक्रमण दर भने उच्च देखिने गरेको छ । यहाँ सम्बन्धित निकायले परीक्षणलाई तीव्र बनाउन नसक्दा पनि जटिल समस्या निम्तिन सक्ने जोखिम बढेको छ । परीक्षण र आवश्यक सतर्कतामा बेवास्ता गर्दा समुदायमा थप संक्रमणको जोखिम बढेको छ । त्यसैले सतर्कताका अन्य मापदण्ड पालनाका साथसाथै परीक्षणको दायरा पनि बढाउन जरुरी देखिएको छ ।

प्रकाशित मितिः   १९ माघ २०७८, बुधबार ०५:०४