स्थगित परीक्षा फागुनमा हुने

त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएका परीक्षा फागुनमा हुने भएको छ। त्रिवि पदाधिकारीको सोमवार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरेर फागुनमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । पछिल्लो समय कोभिड संक्रमण घट्दो क्रममा रहेकाले पूर्व निर्धारित परीक्षाको रुटिन केही दिनभित्रमा जारी गर्ने तयारी भइरहेको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनले भने,‘ सञ्चालनको क्रममा रहेका बाँकी परीक्षाहरु र सञ्चालनको पूर्व तयारी अवस्थामा रहेर परीक्षाको तालिका प्रकाशन भएर स्थगित हुन पुगेका परीक्षा सञ्चालन गर्छौं। परीक्षा फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक हुन्छ।’

विश्वविद्यालयले कोभिड १९ को तीव्र संक्रमणका करण अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत संक्रमण भएका कारण सम्पूर्ण परीक्षाहरु स्थगित गर्न यसअघि सूचना जारी गरेको थियो। कोभिड संक्रमण बढेसँगै त्रिवि, पूर्वाञ्चल, मध्यपश्चिम, सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित भएका छन् ।

प्रकाशित मितिः   १७ माघ २०७८, सोमबार १७:०७