सुर्खेतका प्रतिष्ठित व्यापारीबाट रकम असुली

लामो समयदेखि जिल्लाका व्यवसायीहरूबाट रकम असुल्दै आएको भूमिगत समूहका दुई जना पक्राउ परेका छन् । समाज सुधार पार्टीको नाममा चन्दा आतंक मच्चाउँदै आएको उक्त समूहका दुई जनालाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट प्लाष्टिकको नक्कली हतियारसमेत बरामद गरेको छ ।

जिल्लाका व्यवसायीहरूलाई टेलिफोन र पत्र नै पठाएर यो समूहले रकम असुल्दै आएको थियो । आफूलाई भूमिगत पार्टी बताउने यो समूहले हालसम्म जिल्लाका व्यवसायीहरूबाट लाखौं रकम असुलेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त पार्टीको उपाध्यक्ष बताउने वीरेन्द्रनगर खजुराका भुवन विक र सदस्य बर्दियाका धनराज गिरीलाई पक्राउ गरेको हो । यस्तै उक्त पार्टीका अध्यक्ष सुरवीर थापा भने फरार रहेको प्रहरीले जनाएको छ । गिरोहमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यो समूहको धम्कीका कारण जिल्लाका व्यवसायीहरूले ठूलो मात्रामा रकम बुझाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी बहादुरजंग मल्लले व्यवसायीहरूलाई सदरमुकाम आसपासका जंगलमा नै बोलाएर यो समूहले रकम असुल्ने गरेको बताए । उक्त समूहलाई जंगलमै पुगेर रकम बुझाउनेहरूमा जिल्लाका ठूला व्यापारीहरू छन् । यद्यपि सुरक्षाका कारण उनीहरूको नाम गोप्य राखिएको छ । प्रहरीका अनुसार रकम नदिएपछि यो समूहले यसअघि जिल्लाका तीन जना व्यवसायीको पसल र घरमा आगजनी गरेका थिए । यस्तै अहिले पनि जिल्लाका दर्जनौं व्यवसायीहरू यो समूहको आतंकका कारण त्रासमा रहेको उनको भनाइ छ । जिल्लामा चर्को ब्याज असुल्ने व्यापारीहरूलाई तह लगाउन आफूहरूले यो पार्टी गठन गरेको पक्राउ परेकाहरूले प्रहरीलाई बयान दिएका छन् । नक्कली हतियार देखाएर रकम असुल्ने गिरोहलाई चार महिना लगाएर पक्राउ गरिएको मल्लले बताए ।

पक्राउ परेका विकलाई प्रहरीले बुधवार सार्वजनिक गरेको हो भने गिरीलाई केही समय अगाडि पक्राउ गरिएको थियो । उनी हाल कारागारमा छन् । भूमिगत समूहका मुख्य नाइके सुरवीर थापा रहेको र उनी नै उक्त पार्टीको अध्यक्ष रहेको प्रहरीको भनाइ छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले आफूहरूले पार्टी नै गठन गरेको बताए पनि प्रहरीले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । ‘सुर्खेतमा कुनै भूमिगत समूह छैन, यो गिरोहको दाबी मात्र हो’ डीएसपी मल्लले भने, ‘पैसा भएका व्यवसायीहरूलाई मात्र पत्र पठाएको भेटियो, रकम असुल्ने एकमात्र नियत उनीहरूको छ । यो गिरोहलाई कुनै पनि हालतमा हामी नियन्त्रणमा लिन्छौं, बरु कसैले पनि लुकेर रकम नदिनुहोला ।’ केही महिना अघिमात्र यो समूहले स्थानीय पत्रकारहरूलाई फोन गरेर आफूहरू भूमिगत पार्टीको सदस्य भएको र चर्को ब्याज असुल्नेहरूलाई कारबाही गर्ने धम्की दिदैं आएको थियो ।

हाल जिल्लामा चर्को ब्जाज असुल्ने गिरोह सक्रिय छ । मिटर ब्याजका नाममा परिचित यो कार्य रोक्न भन्दै यो समूहले व्यवयासीहरूलाई धम्की दिने र उनीहरूबाट उल्टै रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लामा मिटर ब्याजका नाममा एक घण्टाको लागि एक लाख रूपैयाँको १० लाखसम्म फिर्ता गरीदिने प्रलोभन देखाउँदै रकम संकलन गर्ने र चर्को ब्याज असुल्ने गिरोहका कारण धेरै परिवार घरवारविहीन भएको उल्लेख गरेको छ । पहिला ब्याज कमाउने लोभमा रकम लगानी गरेका र उक्त रकम डुबेपछि त्यसलाई असुल्न भूमिगत समूहको नाममा आतंक मच्चाइएको जनाएको छ । तर पक्राउ परेकाहरूले भने आफूहरू भूमिगत पार्टीको सदस्य भएको दाबी गरेका छन् । सर्वसाधारणबाट चर्को ब्याज असुलेका कारण केही व्यवसायीहरूलाई आफूहरूले त्यसो नगर्न चेतावनी दिने गरेको पक्राउ परेकाहरूले प्रहरीलाई बयान दिएका छन् । यो समूहले व्यवसायीलाई चर्को ब्याज असुल्ने काम बन्द गर्न धम्की दिने तर आफैले उनीहरूबाट रकम असुल्ने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   ७ पुष २०७३, बिहीबार १४:४०