एमालेको प्रदेश अधिवेशन फेरि स्थगित

सुर्खेत- नेकपा(एमाले)को प्रदेश अधिवेशन फेरि सरेको छ । सुरुमा माघ ८ का लागि तय भएको अधिवेशन कोरोना संक्रमणको जोखिम बढेको भन्दै २८ र २९ गते सारेको थियो । उक्त मितिमा पनि अधिवेशन नहुने भएको छ ।

एमाले कर्णाली प्रदेश कमिटीले अर्को सूचना नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको जनाएको हो । प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले पार्टी केन्द्रको निर्देशनबमोजिम अधिवेशन स्थगित भएको बताए ।

प्रदेशले पार्टी केन्द्रको निर्देशनअनुसार आइतवार सबै जिल्ला कमिटीहरुलाई यसबारे जानकारी गराइसकेको छ । प्रदेश कमिटीद्वारा जारी निर्देशनमा जिल्लामा अधिवेशनसँग सम्बन्धी कुनै पनि कार्यहरु नगर्न भनिएको छ ।

कर्णालीका कतिपय जिल्लामा अहिले प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटका काम भइरहेका छन् । अब त्यस्ता भेलाहरु पनि रोकिने भएका छन् । अहिले कोरोना संक्रमणको जोखिम रहेकाले परिस्थिति सहज भएपछि मात्र अधिवेशनको मिति तय गरिने एमालेले जनाएको छ मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते देशभर एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मितिः   १६ माघ २०७८, आईतवार १५:३४