जोखिमको बेवास्ता गर्दै मेला

सुर्खेत: अहिले कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण तीव्र बनेको छ । संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्द गरिएका छन् । सरकारी कार्यालयमा समेत भिडभाड कम गर्न आलोपालो सेवा प्रवाह गरिँदै आएको छ । तर, यसैबेला वीरेन्द्रनगरमा भने जात्रा–मेला पनि भइरहेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले २५ जनाभन्दा बढी भेला हुन नपाइने आदेश जारी गरिरहेकै बेला त्यसको अवज्ञा गर्दै वीरेन्द्रनगरमै सयौंको संख्यामा भेला भएर मेला लगाइएको हो ।

शनिवार नगरपालिकाको दक्षिणमा रहेको खुला चौरमा देउडा मेला चलिरहेको थियो । उक्त स्थान जिल्ला प्रहरी कार्यालयदेखि झन्डै पाँच÷सात सय मिटरको दूरीमा मात्र छ । स्वास्थ्य मापदण्डको पालना भए÷नभएको अनुगमन तथा नियमन गर्ने निकाय नै जोखिमजन्य गतिविधि भइरहँदा मूकदर्शक बनेको हो । स्थानीय प्रशासनले मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डूल गरे कारबाही गरिने बताउँदै आएको छ । आदेशविपरीत सार्वजनिक स्थानमा ठूला जमघट भएपनि प्रशासनले त्यसको वास्ता नगरेको पाइएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डको खिल्ली उडाउँदासमेत प्रशासन कार्यालयले कुनै कदम चालेको छैन । सो स्थानमा हरेक महिनाको १ र १५ गते यसैगरी मेला लाग्छ । कोभिड संक्रमणको उच्च जोखिम हुँदा पनि मेलालाई निरन्तरता दिइँदै आएको छ ।

यसरी भेला भइरहँदा पनि नियामक निकायले बेवास्ता गर्नु हदैसम्मको गैरजिम्मेवारी भएको वीरेन्द्रनगर–७ का प्रविन भण्डारीले बताए । ‘जोखिम न्यूनीकरण गर्न भनेर विद्यालयमा पठनपाठन बन्द गरिएको छ,’ उनले भने, ‘यस्तो बेला यता भने मेला चलिरहेको छ । यो हदको लापरबाही हुँदा प्रशासन भने मौन छ ।’ कर्णाली प्रदेशमा पछिल्ला दिनमा कोरोना संक्रमण दर उच्च छ । प्रदेशमा सबैभन्दा बढी संक्रमति सुर्खेतका छन् । प्रदेश राजधानीसमेत भएकाले भिडभाडका कारण वीरेन्द्रनगरमा संक्रमणसमेत अधिक छ । संक्रमणको जोखिम बढी भएकै ठाउँमा हेलचक्याइँ हुँदा पनि सरोकारवाला निकायबाट बेवास्ता गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मेला लागेको जानकारी हुनासाथ प्रहरी पठाएर रोक्न भनिएको बताए । ‘त्यहाँ मेला लागेको रहेछ,’ उनले भने, ‘जानकारी पाउन बित्तिकै प्रहरी पुगेर रोकेको हो ।’ प्रशासनले स्वास्थ्य मापदण्डको पालनामा नियमित निगरानी गरिरहेकै भएपनि अटेरी गर्ने प्रवृत्ति हाबी देखिएको उनी बताउँछन् ।

प्रकाशित मितिः   १६ माघ २०७८, आईतवार ०५:०२