विरुवा काँटछाँटमा व्यस्त स्याउ कृषक
जुम्ला: जुम्लाका किसान स्याउका विरुवा काँटछाँट र बगैँचा व्यवस्थापनमा जुटेका छन् । स्याउका विरुवाको लागि पालुवा पलाउनु अघि यो कार्य निकै महŒवपूर्ण मानिन्छ । यसरी समयमै विरुवा काँटछाँट गर्दा स्याउ गुणस्तरीय र बढी स्वादिलो फल्ने बताइन्छ ।
‘आजभोलि अनावश्यक मानिएका र रोगकिरा लागेका हाँगा तथा भाग काटेर फाल्ने काम भइरहेको छ, स्याउकिसानको लागि यो समय निकै महŒवपूर्ण छ’ तातोपानी गाउँपालिका–७ का किसान प्रेम रावलले भने । रूखमा धेरै हाँगा हुँदा विरुवाको भित्रसम्म घाम पुग्न पाउँदैन, जसले गर्दा विरुवाले ताप र प्रकाश नपाउने उनले बताए । पछिल्लो समय इटालियन जातको फुजी स्याउ खेती पनि बढेको छ । यो जातको स्याउ पनि काँटछाँट गर्ने उपयुक्त समय भएकोले भ्याइनभ्याई भएको हमाल एग्रो एण्ड रिसर्चका सञ्चालनक स्याउ किसान दिपेन्द्र हमालले बताए । उनीसँग एक हजार विरुवाको स्याउ बगैँचा छ । ‘विरुवाले आफ्नो खाना आफैं बनाउँछ, यसको लागि विरुवालाई मल, सिँचाइ, प्रकाश आवश्यक पर्छ, प्रकाश विरुवाको भित्रि भागसम्म पुगोस भन्नका लागि काँटछाँट आवश्यक पर्छ, यसले विरुवा मजबुत र व्यवश्थित पनि हुन्छ’ उनले भने ।
यस्तै तिला गाउँपालिका–९ का कालीबहादुर रावत पनि गाउँमा विरुवा काँटछाँटको चटारो रहेको बताउँछन् । आफ्नो बगैँचामा काँटछाँट गर्न हप्ता बढी समय लाग्ने गरेको अनुभव उनले सुनाए । ‘तालिमप्राप्त व्यक्तिबाट काँटछाँट गराउनु पर्छ, जथाभावि काटे फल दिने हाँगा काटिने डर हुन्छ, ज्याला तिरेर भएपनि हरेक वर्ष अनुभवि व्यक्तिबाट विरुवा काँटछाँट गराउँदै आएको छु’ रावतले भने । स्याउको विरुवा वरिपरी मल हाल्ने, बोडो पेस्ट लगाउने बगैँचा घेरबार गर्ने काम भइरहेको पातारासी गाउँपालिका–५ का राजु बुढाले बताए ।
स्याउ उत्पादन बढ्ने वा घट्ने किसानको बगैँचा व्यवस्थापनमा भर पर्ने बागबानी अनुसन्धान केन्द्र राजीकोटका प्राविधिक हरी सुवेदीले बताए । समयमै काँटछाँट नहुनु, कमजोर बगैँचा व्यवस्थापन, सिँचाइ अभावलगाएतका समस्याले स्याउ उत्पादनमा कमि आउने उनले बताए । जुम्लाका विभिन्न ठाउँबाट किसानहरू राजीकोट पुगेर बगैचाँ काँटछाँट र ग्राफ्टिङ बारे सीप सिक्ने गरेको उनले बताए । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाका करिब १६ हजार घरधुरी स्याउ खेतीमा आवद्ध छन् ।
प्रकाशित मितिः १६ माघ २०७८, आईतवार ०५:०१
मानबहादुर कुँवर ।