कर्णालीको जनसंख्या १६ लाख ९४ हजार
सुर्खेत – कर्णाली प्रदेशको जनसंख्या करिब १७ लाख पुगेको छ । तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार आठ सय ८९ पुगेको छ ।
यसअघि वि. स. २०६८ सालमा गरिएको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार चार सय १८ थियो । दश वर्षको अवधिमा यो प्रदेशमा एक लाख २४ हजार चार सय ७१ जनसंख्या बढेको हो । अघिल्लो जनगणनामा कर्णालीको जनघनत्व ५६ थियो भने अहिले ६१ पुगेको विभागले जनाएको छ ।
सात वटा प्रदेशमध्ये सबैभन्दा कम जनसंख्या कर्णालीमा छ । सबैभन्दा बढी प्रदेश १ मा रहेको छ । सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार २१ जनसंख्या पुगेको छ । त्यस्तै, मधेश प्रदेशमा ६१ लाख २६ हजार दुई सय ८८, बागमतीमा ६० लाख ८४ हजार ४२, गण्डकीमा २४ लाख ७९ हजार सात सय ४५, लुम्बिनीमा ५१ लाख २४ हजार दुई सय २५ र सुदूरपश्चिममा २७ लाख ११ हजार दुई सय ७० जनसंख्या रहेको छ ।
तथ्यांक विभागको प्रारम्भिक विवरणले नेपालको कूल जनसंख्या करिब तीन करोड पुगेको जनाएको छ । नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको हो । वि. सं.२०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो । यसपटक जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार नौ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको हो ।
यसपटकको जनगणनामा महिलाको संख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ रहेको छ । पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यस पटकको जनगणना गएको कार्तिक २५ गतेबाट सुरु भएको थियो । १५ दिनसम्म चलेको जनगणनामा देशभर ४० हजार गणक र आठ हजार पाँच सय सुपरिवेक्षकहरुले तथ्यांक संकलन कार्य गरेका थिए ।
प्रकाशित मितिः १२ माघ २०७८, बुधबार १७:१३
साझा बिसौनी ।