नाकामा बढाइयो सतर्कता
सुर्खेत: कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न कर्णाली भित्रिने सीमा नाकामा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ । दुई वटा स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर बनाएको हो । यी दुई नाका सुर्खेतसँगै कर्णाली भित्रिने मुख्य नाका हुन् । ती होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीयतहसँग समन्वय गरेर होल्डिङ सेन्टरहरूमा स्वास्थ्यकर्मी परिचालन गरिएको जनाए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका उनले सार्वजनिक सवारी साधनका यात्रुका लागि खोप कार्ड अनिवार्य गर्ने, खोप नलगाएको भए खोप लगाउन व्यवस्था मिलाउन निर्देशन जारी गरिएको बताए ।
कोभिड– १९ को दोस्रो लहरका बेला बबईमा स्थापना गरिएको होल्डिङ सेन्टर अहिले छिन्चुमा सारिएको छ । बबईमा पर्याप्त जग्गा र भवन नहुँदा होल्डिङ सेन्टर तथा स्वास्थ्य सहायता कक्ष सारिएको हो । स्वास्थ्य सहायता कक्षामा जनस्वास्थ्य सेवा कार्यालय र भेरीगंगा नगरपालिकाले स्वास्थ्यकर्मी खटाएका छन् । प्रमुख जिल्ला अधिकारी रिजालले सम्बन्धित स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा सीमा नाकाहरूमा सतर्कताका गतिविधि सञ्चालन गरिएको बताए । संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रदेश भित्रिने सीमा नाकामा यातायातका साधनमा समेत उच्च निगरानी बढाइएको प्रशासन कार्यालयले जनाएको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालयमा मंगलवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि सञ्चालित मास्क वितरण तथा खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
प्रकाशित मितिः १२ माघ २०७८, बुधबार ०५:०२
साझा बिसौनी ।