लागूऔषधको दुव्र्यसनी बढ्दो
सुर्खेत: केही वर्ष अघिसम्म सुर्खेतलगायत कर्णालीका जिल्लाहरूमा लागूऔषधका सेवनकर्ता निकै थोरै संख्यामा थिए । यस क्षेत्रमा लागूऔषधको ओसारपसार तथा कारोबार पनि न्यून हुन्थ्यो । पछिल्ला वर्षहरूमा भने लागूऔषध ओसारपसार र प्रयोग बढ्दो छ । प्रहरी तथ्याङ्कले कर्णालीमा बर्सेनि लागूऔषधको दुव्र्यसनी बढ्दै गएको देखाएको छ । अहिले प्रदेशका हिमाली जिल्लासम्म यसको जालो फैलिएको छ । प्रदेश राजधानी सुर्खेत लागूऔषध ओसारपसारको सजिलो मार्ग बनेको हो ।
भारतसँगको खुला सीमानाका कारण ओसारपसार गर्नेहरूले नेपालगञ्ज हुँदै लागूऔषध सुर्खेतसम्म ल्याउने र यहाँबाट हिमाली जिल्लासम्म पु¥याउने गरेका हुन् । लागूऔषधको प्रयोग तथा ओसारपसारमा १५ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिहरू संलग्न हुने गरेका छन् । प्रहरीका अनुसार त्यसमा पनि १६ देखि २४ वर्ष उमेर समूहका ८० प्रतिशत छन् । ओसारपसारमा बालक र महिलाहरूको पनि संलग्नता बढ्दो छ । पक्राउ पर्नेमध्ये कतिपय आफै लागूऔषधको दुव्र्यसनमा लागेका र केही भने ओसारपसारको काम मात्रै गर्दै आएको भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जनाए । उनका अनुसार दुव्र्यसनमा पर्नेमा भने युवा पुस्ता र स्कुले बालबालिकाहरूको संख्या बढी छ । उनीहरूले ब्राउनसुगर, गाँजा, चरेश तथा विभिन्न ट्याब्लेटहरू प्रयोग गर्ने गरेको पाइएको हो ।
साढे तीन वर्षको अवधिमा प्रहरीले सुर्खेतमा तीन सय ३८ ग्राम ब्राउनसुगर बरामद गरेको छ। सोही अवधिमा तीन सय ६२ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । बरामद हुने लागूऔषधको परिमाणले पनि यहाँ कारोबार तथा सेवनकर्ताहरू बढ्दै गएको देखाउँछ।
प्रहरीले कर्णालीका जिल्लाहरूमा हरेक वर्ष ठूलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गर्दै आएको छ । चालु आर्थिक वर्षको झन्डै साढे ६ महिनाको अवधिमा सुर्खेत प्रहरीले मात्रै ६४ जनालाई रंगेहात पक्राउ गरी उनीहरूविरुद्ध ३५ वटा मुद्दा चलाएको छ । त्यसरी पक्राउ पर्नेमा ६० जना पुरुष, तीन महिला र एक जना बालक छन् । उनीहरूबाट ५६ ग्राम ब्राउनसुगर, एक सय ४८ ग्राम चरेश, दुई सय ५२ ग्राम गाँजा र तीन सय २७ ग्राम नाइट्राजेपाम ट्याब्लेट तथा एक सय एमएल कोरेक्स बरामद गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा सुर्खेतमा ७९ जना लागूऔषध प्रयोगकर्ता तथा कारोबारीहरू पक्राउ परेका थिए । उक्त वर्ष ८२ ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधका ४९ वटा मुुद्दा दर्ता गरेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा एक सय २९ जना प्रयोगकर्ता पक्राउ परे । उनीहरूविरुद्ध ६८ वटा लागूऔषधसम्बन्धी मुुद्दा चलाइएको थियो । पक्राउ पर्नेमा एक सय १५ पुरुष र १४ जना महिला थिए । सो वर्ष रंगेहात पक्राउ परेका अधिकांश युुवा उमेरका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । त्यसको पछिल्लो आर्थिक वर्ष २०७६/०७७ मा लागूऔषधसम्बन्धी ५२ मुद्दा दर्ता गरेको सुर्खेत प्रहरीले ९० जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार साढे तीन वर्षको अवधिमा सुर्खेतमा तीन सय ३८ ग्राम ब्राउनसुगर बरामद भएको छ भने तीन सय ६२ जनालाई पक्राउ गरेको छ । बरामद भएको लागूऔषधको परिमाणले पनि यहाँ कारोबार तथा सेवनकर्ताहरू बढ्दै गएको देखाएको छ ।
लागूऔषध सेवन र ओसारपसारमा युवाको संलग्नता बढी छ । अधिकांशलाई यात्राका क्रममा सवारी साधनमा पक्राउ गर्ने गरिएको प्रहरीले जनाएको छ । केही वर्षयता लागूऔषध प्रयोग गर्ने किशोरीहरूको संख्या पनि बढेको छ । प्रयोग तथा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले त्यस्ता व्यक्तिहरूलाई पक्राउ गर्छ । प्रहरीका अनुसार नेपाल—भारत सिमा नाकाबाट ल्याइएको लागूऔषध सुर्खेतसहित कर्णालीका अन्य जिल्लासम्म ओसारपसार हुने गरेको हो ।
रूपैडिया नाका कर्णालीका लागि लागूऔषध ओसारपासारको ट्रान्जिट मानिन्छ । सुर्खेतको बबई तथा कर्णाली आउने अन्य नाकाहरूबाट लागूऔषध भित्रिने गरेको छ । लागूऔषधको जालो तोड्न प्रहरीले पछिल्लो समय सक्रियतासमेत बढाएको छ । जसका कारण दैनिकजसो प्रयोगकर्ता र ओसारपसारमा संलग्नहरू पक्राउ परिरहेका हुन् । प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढेको प्रहरी निरीक्षक शाहीले बताए । किशोर तथा युवा पुस्तामा लागूऔषधको लत बढ्दो क्रममा पाइएकोले यही अवस्था रहिरहे भयावह अवस्था आउन सक्ने प्रहरी अधिकारीहरूको भनाइ छ । उनीहरूका अनुसार सोही पुस्तालाई लक्षित गरेर कारोबारी पनि बढ्दै गएको पाइएको छ । समाजमा हुने ९७ प्रतिशत आपराधिक घटना लागूऔषधको प्रयोगकर्ताका कारण घट्ने गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः ११ माघ २०७८, मंगलवार ०५:०४
रजनी याेगी ।