परनिर्भर प्रदेश
कर्णाली प्रदेश आर्थिक रूपमा कमजोर छ । यहाँको ठूलो जनसंख्या अहिले पनि गरिबीको रेखामुनि छ । प्रदेश परनिर्भर छ । आन्तरिक आम्दानी निकै न्यून छ । जसले गर्दा प्रदेशको अर्थतन्त्र पनि कमजोर बनेको छ । परनिर्भर हुन परेको छ । वित्तीय स्रोतका लागि लगभग पूर्णरूपमै संघीय सरकारमा निर्भर छ । संघीय सरकारले दिने अनुदानकै भरमा प्रदेश सरकार सञ्चालित छ । हरेक वर्ष ठूलो आकारमा बजेट बनाउँदै आएको सरकारले सोहीअनुसार आम्दानीका स्रोत जुटाउन सकेको छैन । अनुमानित खर्च व्यहोर्ने आन्तरिक स्रोत नभएपछि अनुदानमा आधारित बजेट बन्ने गरेको हो । अर्को विडम्बनापूर्ण कुरा के छ भने प्रदेश सरकारसँग आफ्नो स्रोत वृद्धि गर्ने र आत्मनिर्भर बन्ने ठोस योजना पनि छैन ।
चालुु आर्थिक वर्षमा कर्णाली सरकारले ६० करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । पुस मसान्तसम्म २१ करोड ३८ लाख एक हजार चार सय रूपैयाँ आन्तरिक राजस्व संकलन भएको छ । चालु वर्षका ६ महिनामा सो रकम सरकारले आन्तरिक आम्दानी गरेको हो । गत वर्ष कर्णालीको आन्तरिक आम्दानी करिब ५० करोड थियो । हालसम्मको प्रगति हेर्दा यो पटक पनि त्यही हाराहारीमा राजस्व संकलन हुने देखिएको छ । आन्तरिक आम्दानीका स्रोतको दायरा साँघुरो भएकाले राजस्व संकलन पनि कमै हुने गरेको सरकारी अधिकारीहरू बताउँछन् । करको दायरा सीमित हुँदा प्रदेशले आन्तरिक आम्दानीको लक्ष्यसमेत थोरै राख्ने गरेको छ । कर्णाली सरकारले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ३० करोड रूपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य लिएको थियो । उक्त वर्ष लक्ष्यभन्दा झन्डै २० करोड बढी राजस्व उठ्यो । त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा २३ करोड ४४ लाख रूपैयाँ राजस्व संकलन भएको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७५/०७६ मा भने सात करोड तीन लाख रूपैयाँ मात्र आन्तरिक आम्दानी भएको थियो । प्रत्येक वर्ष राजस्व असुलीमा सुधार हुँदै गएपनि स्रोतको पहिचानमा भने उल्लेख्य प्रगति हुन नसकेको हो ।
संघीय व्यवस्थाले प्रदेशलाई अधिकारसम्पन्न बनाएको छ । अधिकारसम्पन्न हुनु भनेको आत्मनिर्भर हुनु पनि हो । सुरुवाती चरण भएकाले संघको अनुदानमा निर्भर हुनु अस्वभाविक होइन । तर आफ्नो स्रोत वृद्धिका लागि ठोस योजना र पहलकदमीको भने अभाव देखिन्छ । यसले अझै लामो समयसम्म कर्णाली प्रदेशरलाई परनिर्भर नै बनाइराख्ने छ । जबसम्म प्रदेश आत्मनिर्भर हुँदैन तबसम्म प्रदेश समृद्धिको सपना पनि साकार हुने देखिदैन ।
प्रकाशित मितिः ११ माघ २०७८, मंगलवार ०५:०२
सम्पादकीय ।