प्रशासनद्वारा पालिकाअनुसार पालो निर्धारण
सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवा प्रवाहका लागि पालिकाअनुसार पालो निर्धारण गरेको छ । आइतवारदेखि जिल्लाका नौ वटा पालिकाका सेवाग्राहीले प्रशासनले तोकेको पालोअनुसार मात्रै सेवा लिन पाउनेछन् ।
सेवाग्राहीको भिड र कोरोना संक्रमणको जोखिम बढेपछि बारअनुसार पालो लगाइएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरका नागरिकले आइतवार, मंगलवार र शुक्रवार सेवा लिन सक्नेछन् । लेकवेशी र पञ्चपुरी नगरपालिकाका सेवाग्राहीका लागि आइतवार र शक्रवारलाई तोकिएको छ ।
सोमवार र मङ्गलवार भेरीगङ्गा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिका तथा बुधवार र बिहीवार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका लागि पालो निर्धारण गरिएको हो ।
कार्यालयका प्रकाशकीय अधिकृत रामबहादुर बुढाले प्रशासनबाट नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता नामावली दर्ता तथा विद्युतीय राहदानीसम्बन्धी कार्यका लागि ‘बार’ प्रणाली तोकिएको जानकारी दिए ।
यसका साथै सेवा लिन आउँदा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने जनाइएको छ । पूर्ण खोप लगाएको कार्ड वा सोको मोबाइलमा खिचिएको फोटो भए पनि साथमा लिएर आउन सम्बन्धित सेवाग्राही र स्थानीय तहलाई प्रशासनले आग्रह गरेको छ ।
प्रकाशित मितिः ८ माघ २०७८, शनिबार १८:२९
साझा बिसौनी ।