वीरेन्द्रनगरमा मसाज सेन्टर सञ्चालन

सुर्खेतः वीरेन्द्रनगरमा हर्वल स्पा (शरीर मसाज) सेन्टर सञ्चालनमा ल्याइएको छ । ड्रिम्स फिटनेस एण्ड हर्वल स्पाको शनिवार उद्घाटन गरिएको हो । कर्णाली प्रदेशमै पहिलो पटक सञ्चालनमा आएको उक्त मसाज सेन्टरको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले उद्घाटन गरेका हुन् । अध्यक्ष रावतले निजी क्षेत्रबाट प्रदेश राजधानीमा विभिन्न सेवा–सुविधासहित नयाँ व्यवसायहरु सञ्चालन गर्ने क्रम बढेको बताए । सौन्दर्य र स्वस्थ शरीरका लागि हर्वल स्पाहरुको आवश्यकता रहेको औंल्याउँदै उनले यस्ता व्यवसायले व्यस्त मानिसहरुको जीवनलाई स्वस्थ बनाउने विश्वास व्यक्त गरे ।

सञ्चालक विशाल ढकालका अनुसार हर्वल स्पामा साउना, स्टिम बाथ, ज्याकुजी थेरापीका साथै शरीर मसाजको सेवा दिइनेछ । स्पामा प्याकेजअनुसार एक हजार पाँच सय रुपैयाँदेखि तीन हजारसम्मको शुल्क तोकिएको छ । महिलाका लागि सोमवार र शुक्रवार विशेष प्याकेज बनाइएको सञ्चालक ढकालले जनाए । उक्त स्थानबाटै यसअघि फेसियल हाउस सञ्चालनमा आइसकेको छ । सञ्चालकहरुले अबको केही समयपछि दोहोरी साँझ र रेष्टुरेन्ट सेवा पनि सुरु गरिने बताएका छन् । हाल फेसियल हाउस र स्पामा गरी २० जनाले रोजगारी पाएका छन् । सुर्खेतका युवा व्यवसायीहरु विशाल ढकाल, उपेन्द्र खड्का, डम्मर गौतम र मानव बमले झन्डै दुई करोडको लगानीमा फेसियल हाउस र हर्वल स्पा सञ्चालनमा ल्याएका हुन् ।

प्रकाशित मितिः   ८ माघ २०७८, शनिबार १५:३०