मास्क नलगाउनेलाई जरिवाना
सुर्खेत: जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा कडाइ गरेको छ । प्रशासनले मास्क नलगाउने व्यक्तिलाई जरिवाना तिराउने भएको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । शनिवार (आज) देखि मास्क नलगाइ सार्वजनिकस्थलमा गए त्यस्ता व्यक्तिलाई कारबाही गरिने भएको छ ।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । हाल सुर्खेतमा ‘स्मार्ट लकडाउन’ लागू गरिसकिएको छ । भिडभाडजन्य गतिविधि नगर्न प्रशासन कार्यालयले आदेश जारी गरेपनि त्यसको पूर्णरूपमा पालना भने भएको छैन । संक्रमण ब्यापक बन्दै गएपनि सार्वजनिक स्थलहरूमा सावधानीमा ख्याल नगरिएको हो । शुक्रवार प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोलीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए/नभएको अनुगमन गरेको छ । उक्त टोलीले बसपार्क तथा वीरेन्द्रनगर बजार क्षेत्रका मुख्य चोकमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांशले मास्कको प्रयोगसमेत नगरेको पाइएको जनाइएको छ । ‘अनुगमन गर्दा धेरैले मास्क नै नलगाएको पाइयो,’ प्रजिअ रिजालले भने, ‘पहिलो पटक भएकाले सम्झाई–बुझाई गरिएको छ । अब पनि बेवास्ता गरे जरिवाना तिर्नुपर्ने हुन्छ ।’ प्रशासनले जारी गरेको आदेशको अवज्ञा भएको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने उनले बताए । त्यस्तै, सरकारी सेवा लिँदा सेवाग्राहीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासँगै अनिवार्य रूपमा पूर्णखोप लगाएको कार्ड देखाउनुपर्ने छ । प्रशासन कार्यालयले जिल्लाका नौ वटै स्थानीय तहहरूलाई यस्तो सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ । प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनमा आवतजावत गर्दा यातायात व्यावसायी, चालक र यात्रुहरूले पनि स्वास्थ्य सतर्कतामा ध्यान दिन भनेको छ । औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना, मूल्य वृद्धि र आपूर्तिमा अवरोध पुग्ने गतिविविधि गर्ने उपर कानुन बमोजिम कारबाही हुने प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ ।
प्रकाशित मितिः ८ माघ २०७८, शनिबार ०५:०१
साझा बिसौनी ।