हाट जान्या, भोट जान्या

राजबहादुर शाही (सभामुख, कर्णाली प्रदेश सभा)

मेरो जीवनमा म दुई पटक ‘हाट’ गएको छु । आजभन्दा ठीक ४० वर्ष अगाडी वि.सं. २०३७ सालमा म पहिलो पटक हाट गएको थिएँ । त्यसपछि दोस्रोपटक वि.सं. २०३८ सालमा गएको हुँ ।

पृष्ठभूमिको कुरा गर्दा ‘भोट’ जाने क्रम हाट जानेभन्दा पहिलेको क्रम हो । हामीभन्दा पहिलेको पुस्ता भोट गएर आउनुपर्दथ्यो ।

हाट र भोट मूख्यगरी तीन वटा विषयसँग सम्बन्धित छ । यो नुन, सुन र ऊनसँग सम्बन्धित छ । अन्यथा अरू आफूलाई आवश्यक पर्ने वस्तुहरू आफ्नै गाउँमा, आफ्नै ठाउँमा उत्पादन गरेर उपभोग गर्न सकिन्थ्यो । यी तीनवटा चिज आफ्नो ठाउँमा नपाइने हुनाले नै मान्छेहरू हाट र भोट गएका हुन् ।

जब तिब्बतलाई चीनले आफ्नो भूमि भनेर लग्यो र उसले अलिकति आवत–जावतमा नियन्त्रण ग¥यो, त्यसपछि हाट जाने परम्परा सुरु भयो । इष्ट इन्डिया कम्पनीले जब भारतमा राज गर्दथ्यो, त्यतिबेला जङ्गबहादुर राणाले १८५७ मा इष्ट इन्डिया कम्पनीविरुद्ध विद्रोह गर्ने सेनालाई दबाउने काममा सहयोग गरेको हुनाले हाम्रो तराइको केही भूभाग बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको केही भू–भाग जुन हामीले सुगौली सन्धिमा गुमाएका थियौँ, त्यो विद्रोह दबाएको पुरस्कार स्वरूप इन्डियाले फिर्ता दियो । सन् १८६० तिर नेपाल र भारतको बीचमा सम्बन्धहरू अलि खुकुलो भयो र समान संस्कृतिका, जातिका, रीतिरिवाजका व्यक्तिहरूको आवतजावत विस्तार भयो । त्यसपछि हाटको परम्परा सुरु भएको जस्तो लाग्छ । त्यसरी हाम्रो हाट जाने प्रवृत्ति बढेको हो ।

दुई वटा कारणले गर्दा भोट जाने क्रम बन्द भएको र हाट जाने चलन सुरु भएको जस्तो मलाई लाग्छ । खासगरी वि.सं. २०३७ सालमा म पहिलो पटक हाट जाँदाखेरि १९ दिन लागेको थियो । दोस्रो पटक म १८ दिनमा घर फर्केको थिएँ । उकाली–ओराली गरिन्थ्यो । अहिलेका जस्ता सहजै हिँड्न सकिने सडकहरू थिएनन् । भएका गोरेटा बाटोहरू पनि सहज बनाएको अवस्था थिएन । जहाँ डोबहरू परेका थिए ती डोबहरूमा नै टेकेर हामी हिँड्नुपर्दथ्यो । पछि आएर सडक सञ्जालको विस्तारसँगै खासगरी कर्णाली राजमार्गको विस्तारपछि २०५४ सालपछि दैलेख, कालीकोटभन्दा तल हाटको परम्परा कम भएको हो । त्यहाँ पछि पनि केही वर्ष यो हाटको परम्परा थियो । त्यो अनुभव मसँग छ ।

हाट जाँदाखेरि मुख्य रूपमा प्रयोग गर्ने सामग्रीहरू भनेका ‘हटाले डोको’ प्रयोग गरिन्थ्यो, निगालाले अलि बलियो गरी बनाएको डोका हुन्थे । ती डोकाको बिटमा अर्थात् टुप्पोमा जाला हुन्थ्यो । माथिसम्म पनि सामान ल्याउनुपर्ने हुनाले त्यस्तो खालको जाले डोको हुन्थ्यो । काँधको छाला नजाओस् भनेर पिठ्युँमा काम्लो अर्थात् पाखीलाई पट्याएर राखिन्थ्यो । दुई पटा काँधमा लगाएर त्यसको माथि पनि ‘खकन्ना’ भन्ने चिजले टाउकोमा लाम्पाते लगाएर, घरमै बाटेको अल्लाको बरियोले सामग्री लिएर आइन्थ्यो ।

मुख्यगरी हाट जाँदाखेरि दैलेखतिरबाट घिउ लिएर जाने चलन थियो । हाट जाँदा पनि दिन (साइत) हेराएर एउटा पूरै गाउँ जान्थे । दिन, बार, साइत हेराएर जाने चलन थियो । अहिले ठूला उद्योगधन्दाबाट नाफा कमाएझैं त्योबेला घिउ उत्पादन गरेर जाने कुरा हुन्थ्यो । त्यसमा पनि एक खालको प्रतिस्पर्धा हुन्थ्यो । जसले सबैभन्दा ठूलो घिउको भारी लिन सक्यो, उसले अलि गर्व महसुस गथ्र्यो । धेरै सामानहरू तल (हाटबजार) बाट ल्याइन्थ्यो । धेरै नुन ल्याउन सकिन्थ्यो ।

खोलामा पुल थिएनन् । काठबाट बनाएका नाउमा ठूल्ठूला भारी राखेर नदी तर्नुपथ्र्याे । त्यसो गर्दा ‘अब पल्लो छालमा पुगिने हो कि, होइन’ भन्ने पनि डर हुन्थ्यो । त्यो छाल कटेपछि ‘अर्को जुनी बाँचेको’ जस्तो अनुभव हुन्थ्यो । नाउ पनि सानो एउटा मात्रै हुन्थ्यो । मान्छे चाहीँ धेरै हुन्थे । जसले गर्दा पालो कुर्नुपर्ने हुन्थ्यो । एउटा नदीको किनारमा झन्डै–झन्डै पाँच दिन, दश, एघार दिनसम्म पनि बसेको अनुभव छ ।

प्रायःजसो त्यो बेला नापेर मात्र खाना खान पाइन्थ्यो । अन्दाज गरेर यति दिनमा घर फर्किन सकिन्छ भनेर सबै सातु, चामल, सामग्रीहरू पकाउने भाँडाकुँडी, दाउरा बनाउने हतियारहरू जस्तै बन्चरो, आँसी, बाउसो (कोदाली) घरबाटै बोकेर लिएर जान पथ्र्यो ।

भारी बोक्दाखेरी जुन काम्लो पिठ्युँमा राख्थ्यौँ, राती त्यही ओढ्थ्यौं । ओछ्याउनेमा स्याउलाहरू (रूखमा सुकेर झरेका पातहरू) ओछ्याएर बसिन्थ्यो । निश्चित बास बस्ने ठाउँहरू हुन्थे । प्रायजसो एउटै सिजनमा हाट हुने हुनाले प्रत्येक जिल्ला वा गाउँ ठाउँका मान्छेहरूको बास बस्ने ठाउँ पनि फरक–फरक पर्ने गरी छुट्याइन्थ्यो । नास्ताको रूपमा हामी सिरौँला, कसार, चामलका रोटी, सातु आदी घरबाटै बनाएर लैजान्थ्यौं ।

त्यो बेला आम रूपमा पुरुषहरू नै हाट जान्थे । पुरुषहरूमा पनि जो युवा वा परिवारको बलियो सदस्य छ उनीहरू नै हाट जाने परम्परा थियो । जसको घरमा युवा छैन त्यो घरबाट अलि बुढा व्यक्तिहरू पनि जान्थे । जुन घरमा महिलाहरू मात्र छन् अथवा श्रीमान् नभएको, छोराहरू नभएको घरबाट युवा महिलाहरू, वा विधवाहरू पनि हाट जाने गर्दथे । पछि आएर महिलाको सहभागिता पनि बढ्दै गयो । सुरुमा चाहीँ घरमा अरू कोही नभएपछि मात्र महिलाहरू जान्थे । एउटा गाउँबाट जाने २५–३० जना हटारुहरूमा हामीले पनि ४–५ जना महिलाहरू देख्थ्यौं । तसर्थ महिलाहरूको सहभागिता त्यो बेला पनि थियो ।

त्यसबेला हाट जाने क्रममा साँझ आफ्नो आफ्नो क्षेत्रमा बास बस्ने बेलामा एउटा गाउँका पुरुषहरू र अर्को गाउँका महिलाहरू पनि मिलेर दोहोरी तथा देउडा गाउने प्रचलन पनि थियो । पहिलेको समाज आत्मनिर्भर थियो । विस्तारै विकासको प्रक्रिया अगाडि बढेसँगै हामी परनिर्भर हुँदै गयौँ भन्ने कुरा सत्य हो । खाली खुट्टा हाट गएको सम्झना छ । धेरै पछि पाँच रूपैयाँको प्लाष्टिकको जुत्ता लगाएको छु । त्योबेला कपडाको पनि थिएन । पछिल्लोपटक अलि नरम खालको दश रूपैयाँको जुत्ता लगाइयो । विस्तारै विस्तारै कपडाको जुत्ता पनि लगाइयो ।

मैले हिउँदको चिसो कठ्याङ्ग्रिने बेला पनि ‘ट्यारलिङ सर्ट’ लगाएको छु । यसरी दुःख कष्ट गर्ने हो भने अहिले पनि आत्मनिर्भर हुन सकिन्छ । आत्मनिर्भर हुन केही न केही त्याग गर्नुपर्छ जस्तो लाग्छ । तसर्थ हामी आधुनिक हुने होडमा परनिर्भर भइरहेको कुरा एकदम सत्य हो ।

अहिलेको नयाँ पुस्ताले हाम्रो पुरानो रीतिरिवाज, परम्परा, हाम्रो संस्कृति, संस्कार, अहिलेको आधुनिक विकास, आवश्यकता सबै कुरा झल्किने गरी जुन बहसको प्रारम्भ भएको छ, त्यो पनि हाम्रो रीतिरिवाज परम्परा, संस्कृतिको संरक्षणका लागि एक किसिमको जागरण ल्याउन गरिएको प्रयास हो जस्तो मलाई लाग्छ । हाट र भोट जाने लगायतका परम्परालाई झल्काउने कुरा संग्रहालयमा सुरक्षित राख्नुपर्छ भन्ने लाग्छ । यस कुरालाई मैले कर्णाली प्रदेश सरकार समक्ष पुर्‍याउँछु ।


धनराम वुढाथोकी

हाट र भोट हामी डोल्पालीलाई उत्तिकै चुनौतीपूर्ण थियो । अहिले पनि डोल्पाबाट हिँडेर भोट जाँदा पाँचदेखि ६ दिनसम्म लाग्छ । त्यो पनि भारी नबोकेर जानेलाई । भारी बोक्ने हो भने त झन् कुरै छोडौं ।

डोल्पाको भूगोल पनि ठूलो छ । भोटमा जाँदाखेरी त्यो बेला हामी कुनै पनि भोटे महिलाहरू देख्दैनथ्यौं । पुरूषहरू चौंरी, खसी आदि लिएर आउने, यताबाट हामी तिते फापर, मिठे फापर, गहुँ, जौ, उवा लगेर त्यहाँको नुनसित साटासाट हुन्थ्यो । नुन र ऊन त्यतिबेला सुनभन्दा बढी किन भयो भने ऊनबाट सबै लुगाहरू हुन्थ्यो । टोपीदेखि लिएर राडिपाखीसम्म सबै लगाउने कपडा उनबाट नै बन्ने हुँदा त्यो बेला ऊन र नुन, सुन भन्दापनि माथि थियो ।

सबै भाषाहरू पनि नजान्ने, महिलाहरू पनि नआउने, दुनैमा आयो भने पनि औडाले मरिन्छ भनेर दुनै पनि नबस्ने राति भयो भने काइके पुगिहाल्नुपर्ने त्यस्तो अवस्था थियो डोल्पाको र भोट क्षेत्रको । त्यसकारण माथि भोटमा जान एकदमै विकट हुन्थ्यो । नुन पनि भोटबाट नआइ नहुने, नुन ल्याएर यताको भोटभरी निङमामा आउँथ्यो । त्यहाँ मेला लाग्थ्यो । भोटेहरूले त्यहाँ नुन ल्याउने र तल्लो भेगका मान्छेहरूले अन्न ल्याएर नुन र अन्न साटासाट हुन्थ्यो । त्यसमा पनि उनीहरूको नुन एक पाथी दिँदा हामीले फापर तीन पाथी दिनुपर्ने हुन्थ्यो । त्यस्तै अन्य चिजहरू पनि हामीले बढी दिनुपथ्र्यो ।

भोट जाँदा बाटो अप्ठेरो हुन्थ्यो । भेडाहरू पनि चढ्न नसक्ने, हटारूहरू आउँदा पनि एउटाले भारी बोक्ने र अर्कोले पछाडिबाट धक्का लगाउनुपर्ने हुन्थ्यो । त्यतिबेला बाहिरबाट चामल आयात भएर कर्णाली जान्थेन । माथिबाट नुन आउने र तलबाट यहीँको उत्पादन खाद्यान्नहरू जाने त्यस्तो अवस्था थियो । हाटको कुरा गर्दा २०२५ सालमा म नेपालगञ्ज गएको थिएँ । त्यो बेला हामीसँग कटुको र अत्तिस भन्ने जडीबुटी थियो । त्यतिबेला मैले दश धार्नी अत्तिस बोकेको थिएँ । त्यसैले खाने, पिउने, तिते फापर, मिठे फापर सबै चिज बोकेर हामीलाई डोल्पाबाट गोतामटोल आउनमात्रै आठ दिन लागेको थियो । हामीलाई हाट पुगेर आउन लगभग ६० दिन लाग्थ्यो ।

पछि गएर २०२९ सालमा बल्ल कपडा डोल्पा पुग्यो । त्यतिखेरै स्कुलको पनि सुरुवात भयो । अहिले त कहाँबाट कस्तो अवस्थामा आइपुगियो । यसरी विकास देख्न पाइयो । अब त गाडीहरू पनि चल्न थाल्यो सामानको दुःख पनि छैन । यो देख्दा धेरै नै खुसी लाग्छ । भोटेहरूको संस्कृति बेग्लै थियो । उनीहरूले यताको भाषा नबुझ्ने र हामीले पनि उनीहरूको भाषा नबुझ्ने हुन्थ्यो । उनीहरू केवल नुन लिएर आउने र यहाँबाट अन्नमात्र लिएर जान्थे । त्यहाँका भोटेहरूलाई नेपालीभाषा र नेपाली विद्यालयको खाँचो भएको कारण उनीहरूलाई पाँच सय रूपैयाँ दिएर सरकारले पढाउन पठाउँथ्यो । माथिल्लो भोटको अवस्था त्यस्तो थियो ।


डा. जनक राई (मानवशास्त्री)

हटारुको रूपमा धेरैपटक भोट र तराई गएका दुईजना वक्ताहरू (राजबहादुर शाही र धनिराम बुढा) का जीवन्त अनुभवहरू सुनेपछि एउटा कुरा स्पष्ट भयो कि, ‘हाट जाने र भोट जाने’ कर्णालीको पुरानो परम्परा हो । यो परम्परा कर्णालीको सामाजिक, सांस्कृतिक, उत्पादन प्रणाली, जीवन वृत्ति, राजनीतिक र आर्थिक जीवनसँग अन्तरसम्बन्धित थियो तै पनि ‘हाट जाने र भोट जाने’ मूल रूपमा यो क्षेत्रको स्थानीय निर्वाहमुखी आर्थिक प्रणालीको अभिन्न अङ्ग– व्यापार–वस्तु विनिमय सित सम्बन्धित थियो । भौगोलिक रूपमा व्यापार–विनिमय केन्द्रदेखि धेरै टाढा रहेका पहाडका गाउँहरूमा मानिसहरूले आफ्नो परिवारलाई वर्षभरि जीवनयापनको लागि आवश्यक पर्ने नुन, ऊन, लत्ताकपडा, चिनी, गरगहना जस्ता सरसामानहरू किनेर ल्याउन भोट, र भारत नजिकको तराईसम्म जानैपर्ने बाध्यता थियो ।

यसरी हाट र भोट जाने हटारूहरूले आफूसित आफ्नो गाउँघरको उत्पादन–अन्न, घिउ, जडीबुटी जस्ता बस्तुहरू बोकेर जाने र सो वस्तु बेचेर आएको पैसाले आफ्नो परिवारलाई आवश्यक लत्ताकपडा र अन्य बस्तु किनेर फर्कन्थे । भोटतिर हटारूहरूले आफूले लगेका अन्नसित साटेर नुन ल्याउने चलन पनि थियो । अलिकति सम्पन्न परिवारले पैसा जोहो गरेर भारत सिमाना नजिकको तराईको बजारमा लत्ताकपडा, सुन गहना, र अन्य बस्तुहरू किनेर पहाडतिर बेचबिखन गर्दै फर्कन्थे ।

यसरी ‘हाट जाने र भोट जाने’ प्रचलन मार्फत कर्णालीका मानिसहरूले व्यापार–वस्तु विनिमयबाट फरक–फरक भूगोलहरू– हिमाल, पहाड, र मधेस तथा फरक–फरक संस्कृति र समुदायहरूलाई जोड्दै आएका थिए ।

हटारूहरूले विकास गरेको वस्तु–विनिमय र व्यापार प्रणाली आधुनिक बजार प्रणाली जस्तो थिएन । यो प्रचलन अहिलेको बजार संस्कृति र बजार अर्थ प्रणाली जस्तो पूरै नाफामुखी र व्यक्तिपरक थिएन । जस्तै अहिले आफूलाई चाहिएको सामान लिन हामी बजारमा जान्छौँ । आफू र आफ्नो परिवारको लागि पैसा तिरेर चाहिएको सामान किन्छौँ । र, मन लाग्यो भने म गाउँका कसैलाई किनेर कोसेली लगिदिउँला तर गाउँको सबैको लागि किन्ने होइन । तर हाट जाने, भोट जाने नुन, ऊन, सुन, र अन्य आवश्यक वस्तुहरू गाउँघरमा ल्याउने र सँगसँगै यी वस्तुहरूको वितरण पनि हुने गर्थे । नातागोता र इष्टमार्फत धेरैले सो वस्तुहरू किन्ने वा विनिमय गर्न पाउँथे । यो हाट जाने प्रणालीमा आधारित व्यापार र वस्तु विनिमय नातागोता, इष्टमित्र, मितेरी साइनो जस्ता सामाजिक सम्बन्धहरूले चलायमान बनाएको हुन्थ्यो ।

हाट जाने र भोट जाने परम्परामा आधारित व्यापार र वस्तु विनिमयले कर्णालीका कुनै एउटा गाउँका मानिसहरूका सामाजिक सम्बन्धहरूलाई गाउँभन्दा बाहिर तिर–हिमाल, पहाड, र मधेससम्म–फैलाउन र सम्बन्धको गाँठोलाई बलियो बनाउन पनि महŒवपूर्ण भूमिका खेलेको थियो । मैले बुझे अनुसार हाट जाने भोट जाने प्रचलनको नयाँ सामाजिक सम्बन्धहरू बनाउन र ती सम्बन्धहरूलाई स्थायी बनाउने कुराहरूमा पनि महŒवपूर्ण भूमिका हुँदो रहेछ । हटारूहरूले हाट र भोट जाँदा बाटोमा पर्ने सबै ठाउँमा इष्टहरू बनाउने, र मित लगाउने चलन थियो । त्यसैले त्यो समयमा हटारूहरूको हिमालदेखि तराइसम्मका मानिसहरूसँग सौहार्द मित्रता हुन्थ्यो, र व्यापार–वस्तु विनिमयलाई सहज बनाउनको लागि यो सामाजिकता आवश्यक पनि थियो ।

यस्तो सामाजिक सम्बन्धलाई हामी मानवशास्त्रको भाषामा सामाजिक पुँजी पनि भन्छौँ । त्यो पुँजी निर्माण गर्न कर्णालीका मानिसहरूले धेरै अघिदेखि जानेको रहेछ नि त ! एकातिर भौगोलिक विकटता र यातायात र बजार सुविधा देखि धेरै टाढा, र अर्कोतिर राज्य र शासकहरूको बेवास्ताले ल्याएको चुनौती र समस्यासित जुध्ने शक्ति र समर्थता कर्णालीका मानिसहरूमा हिजो पनि थियो भन्ने प्रमाण पनि हो नि यो हाट जाने र भोट जाने प्रचलन । भौगोलिक कठिनाइ, सुविधाको कमी, राज्यको बेवास्ता जस्ता चुनौतीहरूका बाबजुद पनि त्यो समयमा आफ्नो गाउँ परिवारले भोगेका जीवन यापनका समस्याहरूलाई आफैले समाधान गर्न सक्ने एउटा इतिहास बनाएको रहेछ कर्णालीका हटारूहरूले ।

कर्णालीको हाट जाने र भोट जाने चलनको कथाहरू सुन्दा र यस बारे लेखिएका केही पुस्तकहरू पढ्दा मैले बुझेको एउटा कुरा के हो भने– हिजो राज्य उपस्थिति न्यून हुँदा र अहिले हामीले बुझेको ‘विकास’ नहुँदा पनि आफ्नो समाजलाई चाहिने वस्तुहरूको कसरी आपूर्ति गर्ने भन्ने कुराको अभ्यास त भुईंका मानिसहरूले गरेका रहेछन् । यो काम कुनै नेताले वा, योजना आयोगले गरेको होइन रहेछ ।

हाट जाने र भोट जाने कुरा कर्णालीको दुःखको कथा मात्र होइन, यो भौगोलिक र राज्य व्यवस्थाले थोपरेका कठिनाइहरूसँग लड्न सक्ने कर्णालीबासीहरू, त्यसमा पनि भुईं मानिसहरूका सङ्घर्षका गाथा र इतिहास पनि हो । त्यसैले हाट जाने र भोट जाने परम्पराको इतिहास र कथाहरूलाई हाम्रो सामूहिक स्मरणमा जीवन्त बनाइ राख्नु आवश्यक छ । अहिले मोटरबाटो गाउँमै आइपुगी सकेको छ, बजार पनि नजिक सरेको छ, र धेरै उपभोग्य वस्तुहरू किन्न हिजो जस्तो धेरै टाढा सम्म पुग्न पर्ने अवस्था छैन । अहिले हाट जानुपर्दैन । त्यसो भए किन हाटको कुरा गर्नु ?

‘हाट जाने र भोट जाने’ परम्पराको इतिहासलाई हामीले भुल्न हुँदैन; कर्णाली बासीहरूले यो इतिहासलाई भुल्न हुँदैन । ‘हाट जाने र भोट जाने’ परम्परा भुईं मान्छेहरूको इतिहास हो । यो इतिहास जीवन्त राख्नु भनेको उहाँहरूले कर्णालीको सांस्कृतिक निर्माणमा, कर्णालीको राष्ट्रियता निर्माणमा गरेको योगदानको कदर गर्नु पनि हो ।

हाट जाने र भोट जाने परम्पराले त्यस समयमा गाउँ परिवारलाई चाहिने आवश्यक वस्तुहरू मात्र आपूर्ति र वितरण गरेको थिएन । हटारूहरू एक ठाउँ देखि अर्कोतिर जाँदा, पुरानै ठाउँहरूमा आएका नयाँ चलनहरू देख्दा, नयाँ मानिसहरू सित भेटघाट र अन्तरक्रिया गर्दा हटारूहरूले नयाँ–नयाँ सूचना, जानकारी र ज्ञान पनि त थाहा पाउँथे । हटारूहरूले मधेस र भारतको सिमाना नजिकसम्म पुग्दा कुन कुन ठाउँहरूमा श्रम रोजगारका नयाँ अवसरहरू छन् भन्ने थाहा पाउँथे, नयाँ राजनीतिक परिवर्तनहरू, लवाइखवाइ, भाषा, र संस्कृतिको बारेमा जानकारी पाउँथे । सो सूचना, जानकारी, र ज्ञानको बारेमा पनि त गाउँघरमा जानकारी र सञ्चार पक्कै गर्थे होलान् ।

त्यसकारण वस्तु–विनिमयले चेत पनि ल्याउँछ, सूचना पनि ल्याउँछ, र सँगसँगै यसले नयाँ संस्कृति पनि ल्याउने गर्छ । वि.स. २०२७ सालतिर जुम्लाको दियार गाउँमा मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठले गरेको अध्ययनमा के उल्लेख गर्नु भएको छ भने त्यस समय जुम्लाका दलितहरू मधेसतिर हाट झर्दा भारतको नैनी तालतिर पानी चल्ने र नचल्नेमा खासै विभेद नगर्ने रहेछ भन्ने थाहा पाइसकेपछि बिस्तारै यताका दलितहरू त्यता काम गर्न जान थाले । हाट जाने कुरा वस्तु विनिमय मात्र होइन विचारको विनिमय पनि थियो । वि.सं. २०२६ मा अमेरिकन मानवशास्त्री जेम्स फिसरले डोल्पाको काईके भाषी मगरहरूले गर्ने नुन, उन, र उपभोग्य वस्तुहरूका अन्तर–हिमालय व्यापार–विनिमयसम्बन्धी गजबको अध्ययन गरेको थिए । हरेक वर्ष यी काइके भाषी तरालि मगरहरू गर्मीमा भोट तिर गएर नुन ल्याएर अरू जिल्लामा व्यापार–विनिमय गर्ने, र खेतीपातीको काम सकेर दक्षिण तराईतिर झरेर भारत नजिकको बजार देखि विभिन्न सामानहरू खरिद गरेर पहाडतिर बेच्दै आउँथे ।

भोट जाने क्रममा उनीहरूले केही कुराहरू त्यहाँबाट सिके । पहाड झर्दा केही कुराहरू त्यहाँबाट सिके । र, तराई झर्दा केही कुरा त्यहाँबाट पनि सिके । फिसरका अनुसार काइके भाषी मगरहरू भोटतिर जाँदा उताका स्थानीयहरू सित उनीहरूकै संस्कृति अनुसार घुलमिल हुन्थे । तर मध्य पहाडतिर झर्दा जात व्यवस्था मान्ने हिन्दु समाजमा उनीहरू पनि ‘चोखो जुठो’ मान्ने जस्ता व्यवहारहरू गर्थे ।

उनीहरूले भोट, पहाड र मधेसका बाटोमा पर्ने गाउँहरूमा मित लगाएका हुन्थे जसले गर्दा उनीहरूले एकातिर सुरक्षा पाउन सजिलो हुन्थ्यो भने अर्कोतिर ती ठाउँहरूमा व्यापार र वस्तु विनिमय गर्न सहज हुन्थ्यो । यसरी हाट र भोट जाने कारणले काइके भाषी मगरहरूका संस्कृतिमा पनि केही परिवर्तनहरू भयो । उनीहरू अलिकति हिन्दुकृत भए । नेपाली भाषा सिक्दै गए । नेपालमा भएका नयाँ राजनीतिक परिवर्तन र राजनीतिक प्रणाली–पञ्चायती व्यवस्था, गाउँ पञ्चायतको बारेमा मात्र नभएर देशको राजधानी काठमाडौंको राजनीतिको बारेमा पनि जानकारी लिन पाए ।

कालान्तरमा यसरी भोट र तराईमा व्यापार गर्ने मगरहरू र उनका परिवारका सदस्यहरू नै आफ्नो गाउँ पञ्चायतको राजनीतिमा प्रभुत्वमा आए र आफ्नो समाजलाई मूलप्रवाहको समाजसित जोड्ने प्रयासमा लागे । तसर्थ हाट र भोट जाने कुरालाई वस्तु विनिमय अर्थात् नुन, ऊन, सुन ल्याउने कुरा सँगसँगै त्यसले कस्ता कस्ता खालका नयाँ नयाँ विचारहरू ल्याए भन्ने कुरा पनि त्यतिकै महŒवपूर्ण हुन्छ । यो हाट जाने र भोट जाने प्रथाले समाजमा नयाँ किसिमको परिवर्तन पनि ल्यायो । भान्साको स्वाददेखि लिएर राजनीतिक परिवर्तनका कुरादेखि लिएर, भेषभुसा लगायतका थुप्रै कुराहरूमा यसले परिवर्तन ल्यायो ।

त्यसैले यो ‘हाट जाने र भोट जाने’ परम्पराले विगतमा कर्णाली क्षेत्रमा ल्याएका परिवर्तनहरूको बारेमा अध्ययन र छलफल हुन आवश्यक छ । अहिले पनि कर्णालीका मानिसहरू काठमाडौंमा चाइनिज कपडाहरू, गलैँचा किनेर नेपालको सुदूर पूर्व पहाडका गाउँहरूमा व्यापार गर्न गइरहेका हुन्छन् । तर कर्णालीमा पूर्वतिरका कोही पनि व्यापार गर्न आएको पाईंदैन । कर्णालीका मानिसहरू अहिले पनि आफ्नो गाउँदेखि धेरै टाढाका ठाउँहरूमा व्यापार गर्न जाने भनेको हिजोको हटारू प्रचलनले सिकाएको ‘सांस्कृतिक पुँजी’ हो । जसले अहिले पनि जीवन निर्वाहको लागि सहयोग गरिरहेको छ ।

अतः हाट र भोट जाने भन्ने दुःखको कुरा मात्र होइन, यसले त व्यावसायिक क्षमता, सीप, अनुभवहरूलाई सांस्कृतिक पुँजीको रूपमा निर्माण गरेको छ । कर्णालीका मानिसहरूसँग त पहिलेदेखि नै उद्यमशीलता र व्यापारको सांस्कृतिक पुँजी रहेछ त ! त्यसकारण यो इतिहासबाट हामीले सिक्नुपर्ने कुराहरू धेरै छन् जस्तो मलाई लाग्छ । भूगोललाई जोड्ने मानिसहरूले नै हो र भूगोलको कथा संस्कृतिले लेख्ने हो । यो कर्णालीको भूगोलमा हटारूहरूले पनि त्यस्तै कथा, इतिहास, र संस्कृति निर्माण गरेका छन् । तर यी इतिहास र कथाहरू अहिलेको नयाँ विकास र आधुनिकीकरणको होडमा छाँयामा परेका छन्, हराउँदै गएका छन् । अब के गर्नुपर्ला भन्ने सन्दर्भमा हटारू भएर हाट जाऊ बजार नजाऊ भन्ने कुरा पनि सम्भव भएन । हामीले बुझ्नुपर्ने के हो भने हाट जाँदा खेरि कस्तो खालको अर्थतन्त्रलाई उहाँहरूले प्रश्रय दिनुभयो भन्ने कुरा महत्वपूर्ण होला । यो मुनाफा मात्र कमाउने हिसाबले गरेको विनिमय थिएन । यो एउटा मूल्य मान्यता, समाजका सम्बन्धहरूलाई प्राथमिकतामा राखेर अवलम्बन गरिएको अर्थव्यवस्था थियो ।

त्यो अर्थव्यवस्थामा दुःख गर्नेहरूले आफ्नो घरको लागि मात्रै सामानहरू ल्याएको हुँदैन थियो । हटारूहरू धेरै नाफा कमाउने भन्दा पनि मितको लागि, इष्टको लागि, पल्लो गाउँको लागि पनि सामान ल्याइदिने गर्थे । यस्तो सामाजिकताको भावना, उनीहरूको नेतृत्वशैली अहिलेको बजारलाई पनि सिकाउन जरुरी छ र हामीले पनि सिक्नु जरुरी छ । कर्णालीका मान्छेहरूले सिकाएको यो कुरालाई हामी विभिन्न कविता, नाटक, चलचित्र, साहित्यको माध्यमबाट पनि प्रचार गरौं । वस्तु विनिमय मार्फत् विगतमा हटारूहरूले भूगोल र विविध समुदायलाई जोड्दै यो कर्णाली क्षेत्रमा क्षेत्रीय र राष्ट्रिय संस्कृतिको निर्माणमा ठुलो योगदान गरेका थिए । यो कुरा अहिलेको पिंढीलाई सिकाउनु जरुरी छ ।


(ऋति फाउण्डेसनको आयोजनामा २०७७ फागुनमा वीरेन्द्रनगरमा भएको ‘कर्णाली उत्सव’को दोस्रो संस्करणको ‘हाट जान्या, भोट जान्या’ सत्रका वक्ताहरूले व्यक्त गरेका विचार हुन्, यी ।

प्रकाशित मितिः   ८ माघ २०७८, शनिबार ०५:०३