कर्णालीमा कोरोना संक्रमण दर उच्च

सुर्खेत: कर्णाली प्रदेशमा कोराना भाइरस ‐कोभिड–१९ को) संक्रमण दर उच्च देखिएको छ । शुक्रवार चार सय ७४ जनाको परीक्षण गर्दा तीन सय १३ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार एक सय ७८ जनाको आरटी–पीसीआर परीक्षणमा एक सय ४५ जनामा संक्रमण देखिएको छ भने दुई सय ९६ जनाको एन्टिजेन परीक्षण भएकोमा एक सय ६८ जनामा संक्रमण फेला परेको छ । यो संक्रमण दर ६६ प्रतिशत हो । पीसीआर परीक्षणमा भने ८५ प्रतिशतमा कोरोना पुष्टि भएको छ । शुक्रवार ठूलो संख्यामा संक्रमित देखिएको निर्देशनालयले जनाएको छ । गएको जेठ–असारमा कर्णालीमा कोरोना संक्रमण दर ९० प्रतिशतमाथि पुगेको थियो । त्यसयता विस्तारै घट्दो क्रममा रहेको संक्रमण माघ लागेदेखि पुनः बढ्न थालेको हो । पछिल्ला दिनमा संक्रमण दर ह्वातै बढेको निर्देशनालयले जनाएको छ ।

६६ प्रतिशतमा संक्रमण पुुष्टि

यसैबीच, शुक्रवार देशभर १० हजार सात सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६ सय १८ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार आठ सय १५ तथा चार हजार चार सय ७४ जनाको एन्टिजेन परीक्षणमा एक हजार आठ सय ८८ जनामा संक्रमण फेला परेको हो । मन्त्रालायको पछिल्लो विवरणअनुसार तीन जनाको मृत्यु भएको छ भने सात सय ६६ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ रहेको छ ।

प्रकाशित मितिः   ७ माघ २०७८, शुक्रबार १९:२०