राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा सरकारलाई ज्ञापनपत्र

सुर्खेत- राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतले विभिन्न १५ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

कोभिड –१९ को संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी एवं उपचार खटिने कर्मचारीहरुको मनोबल उच्च बनाउन संघले ज्ञापनपत्र मार्फत माग गरेको छ । यस्तै संक्रमित स्वास्थ्यकर्मीहरुको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्नुपर्ने, करारमा नियुक्त भई काम गरिरहेका स्वास्थ्यकर्मीहरुको म्याद थप गर्नुपर्ने माग गरेको छ ।

त्यसैगरी महामारी र नियमित स्वास्थ्य उपचारका लागि अत्यावश्यक औषधि, उपकरणहरुको अभाव र कालोबजारी तुरुन्त नियन्त्रण गर्नुपर्ने, कर्मचारी समायोजन, सरुवा, बढुवा, स्तरबृद्धि प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने माग पनि संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ । कोभिड–१९ प्रतिकार्यमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मीहरुका मागलाई सरकारले गम्भिर रुपमा लिएर सम्बोधन गर्नुपर्ने राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष हस्तराज गिरीले बताए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्वास्थ्यकर्मीका जायज मागहरु तीन वटै तहका सरकारसँग समन्वय गरेर पूरा गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः   ७ माघ २०७८, शुक्रबार १८:०१