कर्णालीका ४४ प्रतिशतले पाए दुवै डोज खोप

सुर्खेत- कर्णाली प्रदेशका ४४ प्रतिशतले कोरोना भाइरसविरुद्वको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार खोप लगाउने लक्षित जनसंख्याको ४४.३ प्रतिशतले दुई डोज खोप लगाएका हुन् ।

१२ वर्षमाथिका १४ लाख १० हजार एक सय ८२ जनालाई खोप लगाउने लक्षित समूहमा राखिएको थियो । जसमध्ये आठ लाख ३५ हजार ३६ जनाले पहिलो डोज लगाएका छन् भने ६ लाख २४ हजार एक सय ८७ ले पूर्ण डोज कोरोना खोप लगाएको मन्त्रालयले जनाएको छ ।

कर्णालीमा कुल १४ लाख ५९ हजार दुई सय १३ डोज खोप लगाइएको छ ।  लक्षित समूहका ५९.२ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने ४४.३ प्रतिशतले दोस्रो डोज लगाएका हुन् ।

कोभिसिल्डको पहिलो डोज लगाउनेको संख्या एक लाख १७ हजार एक सय ३० रहेको छ ।  ९१ हजार ६ सय ८३ ले दोस्रो डोज लगाएका छन् । भेरोसेलको पहिलो डोज लगाउनेको संख्या पाँच लाख ११ हजार तीन सय चार रहँदा दोस्रो डोज लगाउनेको तथ्यांक तीन लाख ७० हजार ५३ रहेको छ ।

त्यसैगरी एक डोज मात्र लगाएर पुग्ने जोनसन एन्ड जोनसनको खोप एक लाख २० हजार सात सय ४३ डोज लगाइएको छ । आस्ट्राजेनेकाको ४३ हजार सात सय ११ जनालाई पहिलो डोज लगाइएको जनाइएको छ । त्यसैको दोस्रो डोज लगाउनेको स‌ंख्या ३९ हजार सात एक छ ।

यस्तै प्रदेशभर दुई हजार दुई सय ७२ लाई फाइजरको पहिलो डोज लगाइएको छ भने दोस्रो डोज लगाउनेको तथ्यांक दुई हजार सात रहेको छ ।  त्यस्तै एक लाख ६० हजार ६ सय नौ जनाले मोर्डनाको खोप पहिलो डोज लगाएका छन् ।

कर्णाली प्रदेशमा पछिल्ला दिनमा कोरोना संक्रमण दर पनि बढ्दै गएको छ ।

प्रकाशित मितिः   ७ माघ २०७८, शुक्रबार १५:१९