आङ्गिक क्याम्पसमा देखिएका समस्या समाधान गर्न पहल
सुर्खेत – मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले आफ्ना आङ्गिक क्याम्पसमा देखिएका समस्या समाधानका लागि पहल थालेको छ । त्यसका लागि विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले एमयू अन्तर्गत रहेका १० वटा आङ्गिक क्याम्पसका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको स्थापनापश्चात् समायोजन भई आएका १० वटा आङ्गिक क्याम्पसहरुमा रुपान्तरणको प्रकृयामा घटुवा हुन गएका प्राध्यापक तथा कर्मचारीहरुको उचित व्यस्थापन, विभिन्न पदीय भत्ता, उपदान तथा निवृतिभरणसम्बन्धी व्यवस्था, आवश्यक जनशक्तिको प्रबन्ध, विद्यार्थीको शुल्क लगायतका विषयमा समस्या देखिएपछि समाधानका लागि छलफल गरिएको जनाइएको छ । साथै छलफलपछि सबै समस्या एकीकृत रुफमा समाधान गर्न कार्यकारी परिषदबाट निर्णय गर्ने सहमति पनि गरिएको छ ।
पर्याप्त समय र छलफल बिनानै विश्वविद्यालयमा समायोजन भएका आङ्गिक क्याम्पसहरुका समस्याहरुको शुक्ष्म विश्लेषण एवम् गहन छलफल गरी समाधानका लागि पहिलोपटक पहल थालिएको उपकुलपति सिंहले बताए ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, विभिन्न संकायका डिन, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, विभिन्न निर्देशनालयका कार्यकारी निर्देशक, १० वटा आंगिक क्याम्पसका क्याम्पस प्रमुख, उप-प्राध्यापकलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः ६ माघ २०७८, बिहीबार १८:२८
साझा बिसौनी ।