अनियमित विधुतले मर्का

भोल्टेजको समस्या समाधान गर्न वितरण केन्द्रलाई आग्रह

सुर्खेत – अनियमित विधुतका कारण सास्ती खेप्दै आएका सुर्खेतका उद्योगी व्यावसायिहरुले तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन् । विधुत नियमित नहुँदा व्यवसाय नै चौपट भएको भन्दै उनीहरुले विधुत प्राविधिकरणको सुर्खेतस्थित वितरण केन्द्रको ध्यानाकर्षण गराएका हुन् ।

बिहीवार निजी क्षेत्रको एक टोलिले वितरण केन्द्र प्रमुखलाई भेटेर व्यवसायीका मर्काबारे जानकारी गराएको हो । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले विधुतको समस्या विगतदेखिकै भएपनि पछिल्लो समय झन् बढेर गएको बताए । विधुत लाइनमा आइरहने खराबीले सबैभन्दा बढी मारमा निजी क्षेत्र परेको उनले जनाए । ‘भोल्टेजको समस्या हल गर्न बारम्बार आग्रह गरिए पनि वितरण केन्द्रले बेवास्ता गर्दै आएको छ,’ उनले भने, ‘हामीलाई व्यवसाय सञ्चालन गर्नै कठिनाइ भइरहेको छ ।’

व्यवसायीहरुका अनुसार वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा भोल्टेजको समस्या छ । आवश्यक ट्रान्समिटर राखिदिन अनुरोध गरिएपनि वितरण केन्द्रले त्यसको सुनुवाइ गरेको छैन । भोल्टेज कहिले बढी र कहिले कम हुँदा विधुतीय उपकरणहरुमा दिनहुँजसो क्षति हुने र आगलागीका घटनासमेत भइरहेको व्यवसायीको गुनासो छ ।

वितरण केन्द्रलाई पुनः एक पटक भोल्टेजको समस्याबारे जानकारी गराइएको नेपाल मुद्रण उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष पञ्चरत्न शर्माले बताए । उनका अनुसार बजार क्षेत्रमा विधुत अनियमित भइरहँदा विधुतीय मेसिनहरु बिग्रने र व्यवसाय नै ठप्प हुने अवस्था छ । यसअघि थुप्रै पटक उद्योग वाणिज्य संघ र नागरिक समाजको टोलिले विधुत नियमित गराउन वितरण केन्द्रको ध्यानाकर्षण गराए पनि समस्या भने झनै बढ्दो छ ।

लो–भोल्टेज र पटके लोडसेडिङ्गले सबैजसो व्यवसायको नियमित काम प्रभावित बन्ने गरेको छ । छिनछिनमै घटबढ भइरहने भोेल्टेजले विधुतीय उपकरण तथा औजारहरू बिग्रिएर ठूलो नोक्सानी व्यहोर्नु परिरहेको व्यवसायीहरु बताउँछन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा विधुत अनियमित भइरहँदा आमउपभोक्ता हैरानीमा छन् ।

व्यवसायिका समस्या सुनेपछि वितरण केन्द्र प्रमुख युवराज रावतले बजार क्षेत्रमा आवश्यक ट्रान्सफर्मर जडान गरिने बताए । ‘अहिले वीरेन्द्रनगरभित्र धेरैजसो स्थानमा भोल्टेज कम आएको गुनासो हुने गरेको छ,’ उनले भने, ‘समस्या सुल्झाउनेगरी हामी लागिरहेका छौं ।’ माग बढी र क्षमता कम हुँदा समस्या भइरहेको भन्दै १३२ केभिए प्रसारण लाइन विस्तारपछि मात्रै यहाँको विधुत समस्या पूर्णरुपमा समाधान हुने वितरण केन्द्रले जनाएको छ । वीरेन्द्रनगरमा विधुतको माग बढ्दै गएपनि सेवा भरपर्दो बनाउन सोहीअनुसारका पूर्वाधार छैनन् । जीर्ण संरचना र पुराना उपकरणका कारण विधुत अनियमितको समस्या जटिल बन्दै गएको छ ।

प्रकाशित मितिः   ६ माघ २०७८, बिहीबार १८:१५