दृष्टिविहीन केन्द्रको अठोटः सुर्खेतमा छात्राबास स्थापना गरिने

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ फागुन ।
दृष्टिविहीन बालबालिकाहरूलाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्नका लागि सुर्खेतमा छात्राबास स्थापना गरिने भएको छ । त्यसका लागि आवश्यक सहयोगको खोजी र योजना निर्माणको तयारी समेत सुरु भएको छ । जिल्लामा दृष्टिविहीन बालबालिकाहरूको शिक्षामा काम गर्दै आएको संस्था दृष्टिविहीन हेरविचार केन्द्रले वीरेन्द्रनगरमा आवासीय सुविधासहितको छात्राबास स्थापना गर्ने योजना तयार पारेको हो ।
आर्थिक अभाव र प्राविधिक सुविधा नहुँदा पढाइबाट वञ्चित भएका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्नका लागि स्थापना भएको दृष्टिविहीन हेरविचार केन्द्रले आफ्नो दोस्रो वार्षिक साधारणसभाको अवसरमा यस्तो योजना सार्वजनिक गरेको हो । शनिवार वीरेन्द्रनगरमा सम्पन्न साधारणसभामा केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले अब आवासीय सुविधासहितको छात्राबास स्थापना गर्ने आफूहरूको योजना रहेको जानकारी दिए । २०६७ सालदेखि दृष्टिविहीन बालिकाहरूको शिक्षाका लागि व्यक्तिगत रूपमा काम गर्दै आएका शाक्यले भने, ‘अब मेरो एउटामा मात्र लक्ष्य छ, त्यो भनेको आवासीय सुविधायुक्त आफ्नै छात्राबास स्थापना गर्ने । त्यसका लागि हामीले योजना बनाइ सकेका छौं, यसका लागि सबैले सहयोग र साथ दिनुप¥यो ।’
केन्द्रले अहिले वीरेन्द्रनगरस्थित खजुरामा घर भाडामा लिएर १० जना दृष्टिविहीन छात्राहरूलाई आवासीय सुविधा दिएर पढाइरहेको छ । उनीहरू अहिले उच्च मावि इत्राममा अध्यन गरिरहेका छन् । दृष्टिविहीन भएकै कारण परिवारले वेवास्ता गर्ने र आर्थिक अभाव हुँदा शिक्षाको अवसरबाट वञ्चित भएका उनीहरूलाई केन्द्रका संस्थापक शाक्यले विभिन्न माध्यमबाट आर्थिक सहयोग जुटाउँदै शिक्षा प्रदान गरिरहेका छन् । शाक्यले स्थापना गरेको हेरविचार केन्द्रले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाटै आर्थिक सहयोगको जोहो गर्ने गरेको छ । साधारणसभामा अध्यक्ष शाक्यले भने, ‘सामाजिक सेवा गर्ने काम त्यति सजिलो छैन, मलाई अधिकांशले माग्ने भनेर आरोप लगाउँछन् । तर, मैले दृष्टिविहीनलाई ज्योति दिन मागेको हुँ, राम्रो कामका लागि म अझै माग्न तयार छु ।’ आफूले हारगुहार गरकै कारण स्वदेश र विदेशबाट समेत आर्थिक सहयोग प्राप्त भएको भन्दै उनले अब छात्राबास स्थापनाका लागि पनि सहयोग जुटाउने बताए । उनले थपे, ‘मेरो अब एउटा मात्र सपना छ, मर्नेबेलासम्ममा सुर्खेतमा दृष्टिविहीनका लागि छात्राबास स्थापना गर्ने । त्यसका लागि म निरन्तर लाग्नेछु ।’
केन्द्रका अनुसार अहिले विभिन्न दाताहरूले दिएको करिब एक लाख ४५ हजार रूपैयाँ सहकारीमा बचत गरिएको छ । यस्तै उपत्यका नगरविकास समितिसँग जग्गा माग गरिएको र निकट भविश्यमा नै छात्राबास स्थापनाको प्रक्रिया सुरु हुने जानकारी केन्द्रले दिएको छ । छात्राबासका लागि दाताहरूले सहयोग गर्ने बचन समेत दिएको केन्द्रको भनाइ छ । अध्यक्ष शाक्यले २० जनालाई बस्न र खान मिल्ने क्षमताको छात्राबास स्थापना गर्ने आफूहरूको योजना रहेको बताए । दृष्टिविहीन छात्रहरूको लागि रामघाटमा आवासको सुविधा भएकाले आफूहरूले अब वीरेन्द्रनगरमा छात्राहरूका लागि आवासीय भवन स्थापनाको योजना बनाएको केन्द्रले जनाएको छ । त्यसका लागि आवश्यक सहयोग गरिदिन समेत केन्द्रले जिल्लाका राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय र सर्वसाधारणसँग आग्रह गरेको छ । छात्राबास स्थापना भएमा शिक्षाबाट वञ्चित दृष्टिविहीन छात्राहरूले शिक्षा पाउने अपेक्षा केन्द्रले गरेको छ ।
यसैबीच दृष्टिविहीन हेरविचार केन्द्रको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यको सभापतित्व तथा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा बोल्ने बक्ताहरूले दृष्टिविहीनको शिक्षाका लागि केन्द्रले महŒवपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरे । 
साथै उनीहरूले अब आवासीय सुविधासहितको छात्राबास स्थापनाका लागि सबैले सहयोग गर्नुपर्नेमा समेत जोड दिए । सो अवसरमा पत्रकार महासंघका अध्यक्ष भारतीले सामाजिक काममा जुटेको केन्द्रलाई सबैले सहयोग र साथ दिनुपर्ने बताए । साथै उनले आफूहरूले समेत केन्द्रको अभियानमा साथ दिने प्रतिबद्धता समेत जनाए । यस्तै राष्ट्रिय अपाङ्ग महासंघका जिल्ला अध्यक्ष शम्मरबहादुर मल्लले दृष्टिविहीन लगायत अपाङ्गता भएकाहरूका लागि राज्यले आवश्यक सहयोग गर्नुपर्ने माग गरे । कार्यक्रममा केन्द्रलाई आर्थिक सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । 
प्रकाशित मितिः   २३ फाल्गुन २०७२, आईतवार १०:४८