सौर्य पम्पिङबाट किसान बने लखपति

राष्ट्रिय समाचार समिति
सुर्खेत, २२ फागुन । 
झण्डै १५ वर्ष भारतमा मजदुरी गर्दा पनि घरखर्च चलाउन मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै कतार हानिएका भीमबहादुर गुरुङ्गको सपना अधुरै रह्यो । डेढ लाख रूपैयाँ साहुसँग ऋण गरेर गएका उनी भनेजस्तो काम नपाएपछि छ महिनामै गत वर्ष रित्तो हात फर्किए । सिँचाइको अभावमा श्रम र लगानीको अनुपातमा उत्पादन नहुँदा वर्षमा आठ महिना ज्याला मजदुरी गरेर परिवार पाल्नुपर्ने उनको बाध्यता गाउँमा सौर्य पम्पिङ प्रणालीबाट सिँचाइ सुविधा उपलब्ध भएपछि अन्त्य मात्र भएन, छ महिनाको अवधिमै उनी लखपति बन्न सफल भए । 
गत जेठमा विनरक इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोग, युएसएआइडीको किसान परियोजना र भेरी गंगा नगरपालिका सुर्खेतको आर्थिक सहयोगमा सिँचाइका लागि सौर्य पम्प जडान गरेपछि सुर्खेत छिन्चु ताउलेका भीम गुरुङ्गको जीवनले कायापलट भएको छ । उनी मात्र होइन, गाउँको ११ परिवारले तरकारी खेती गरेर डेढदेखि तीन लाख रूपैयाँसम्म आर्जन गर्नसकेका छन् । गाउँतलको ताउले खोलाको पानीलाई एक हजार दुई सयबाट क्षमताको सौर्य पम्पबाट तानेर उनीहरूले खेतबारीमा सिँचाइ गरी तरकारीखेती गर्न सुरु गरेका हुन् । 
विनरक, नगरपालिका र किसान परियोजनाले दुई लाख २० हजार अनुदान उपलब्ध गरेपछि सीताराम कृषि समूहमार्फत् नपुग तीन लाख साना किसान कृषि सहकारीबाट ऋण लिइ सौर्य पम्प जडान गरेका गाउँलेले छ महिनामै एक लाख रूपैयाँ कर्जा पनि चुक्ता गरिसकेका छन् । ‘पहिले आकाशको पानीमा भरमा गरिएको एक बाली खेतीले वर्षमा तीन महिना पनि पुग्न मुस्किल हुन्थ्यो’, स्थानीयवासी देव गुरुङ्गले भन्नुभयो, ‘अहिले समूहका सबैले मौसमी र बेमौसमी तरकारीखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।’ पम्पबाट तानेको पानीलाई ट्याङ्कीमा जम्मा गरी वितरणको व्यवस्था मिलाइएको बताउँदै उनी अब अर्को ट्याङ्की पनि निर्माण गरी सामूहिक माछापालन गर्ने तयारीमा रहेको बताउँछन् । 
सिँचाइ सुविधा सोलारबाट पानी पानेर सिँचाइ होला भन्ने पहिला त स्थानीयवासी हरि परियारलाई विश्वास थिएन तर हिउँदको सुक्खायाममा पनि पानी आएको देख्दा उनी पनि खेतबारीमा बाह्रैमास अनेक प्रजातिका तरकारी लगाएर पैसा कमाउने जुक्तिमा व्यस्त छन् । गाउँलेले सौर्य पम्पबाट दैनिकरूपमा औसत १३ हजार लिटर पानी निकाली २९ रोपनी जमिनमा सिँचाइ गरेका छन् । यस सौर्य वाटर पम्प जडान भएपछि यहाँका आठ साना किसान परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यसबाट भएको छ । सो पम्पबाट सिँचाइमा लगाउने गरिएको छ । 
पम्प जडान भएको ६ महिनाको अवधिलाई हेर्दा सिँचाइ सुविधा उपलब्ध भएपछि जमिनको उर्वरा शक्तिमा सुधार आइ उत्पादकŒवको वृद्धि भएको स्थानीय किसानको भनाइ रहेको छ । यस पम्पको जडानपछि कृषि उत्पादन वृद्धि, कृषिमा लगानी अभिवृद्धि र पानीको खपतमा वृद्धि भएकाले किसान निर्वाहमुखी खेतीबाट विस्तारै नगदेबाली तथा व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधाले अन्नबाली उत्पादनमा सकारात्मक वृद्धि आउनुका साथै बालीमा विविधीकरण र तरकारीखेती गरी आयआर्जनमा वृद्धि भएको छ र उनीहरूको जीवनस्तरमा सुधार ल्याएको छ । 
ठूला सिँचाइ परियोजनामा साना तथा सीमान्तकृत किसान वर्गको पहुँच पुग्न नसक्दा उनीहरू सिँचाइ सुविधाबाट वञ्चित रहनुपरेकाले ग्रामीण क्षेत्रमा अधिकांश खेतीयोग्य जमिनमा एकबाली मात्रै उत्पादन हुँदा खाद्यान्न अभावको समस्या तीव्र रहेको छ । नजिकै पानीको स्रोत रहेर पनि सिँचाइ सुविधा पुग्न नसकेका स्थानमा सौर्यपम्पबाट साना किसानमा सिँचाइको पहुँच पु¥याउन यस किसिमका नमुना प्रदर्शनी योजनाबाट सरकार, विकास साझेदार र किसानले सिकाइ गर्नसक्ने विनरक इन्टरनेसनलका निर्देशक विनोद श्रेष्ठ बताउँछन् ।
हालसम्म सरकार र विभिन्न गैरसकारी एवम् दातृ निकायको सहयोगमा सौर्य ऊर्जाबाट पम्प सञ्चालन गरी खानेपानीको आपूर्ति गर्ने गरेकामा सुर्खेत छिन्चु ताउले लगायत विभिन्न जिल्लामा आठवटा सौर्य पम्पिङ प्रविधिबाट साना सिँचाइ योजना सञ्चालन भएको छ । यस परियोजनाले साना किसानलाई सोलार वाटर पम्पिङ प्रविधिका बारेमा जनचेतना अभिवृद्धि गर्ने, यस प्रविधिको बजार प्रणालीलाई सबलीकरण गर्ने तथा अनुदानको निर्भरतालाई कम गरी नयाँ तरिकाको व्यावसायिक र वित्तीय ढाँचाको प्रबद्र्धनमा जोड दिएको उनको भनाइ छ ।  
साना सोलार पम्प सिँचाइ योजना हाम्रो जस्तो देशमा छरिएर रहेका साना किसानलाई सर्वसुलभ सिँचाइ सुविधा पु¥याउने भरपर्दो प्रविधि हुनसक्ने वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका सहायक निर्देशक नवराज ढकाल बताउँछन्् । सौर्य पम्पिङबाट साना किसानलाई सिँचाइ सुविधाको उपलब्धताले खाद्य सङ्कटको समस्या कम हुनुका साथै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर हुन सहयोग पुग्ने पुग्ने अपेक्षा गरिएको छ ।