प्रदेशभर कोभिड लक्षित एम्बुलेन्स

सुर्खेत: प्रदेशभर कोभिड विशेष एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । प्रदेशका दश वटै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्न कर्णाली सरकारले मातहतका निकायलाई निर्देशन गरेको हो ।

कर्णाली प्रदेश विपद व्यवस्थापन समितिको बैठकपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले तेस्रो चरणको कोरोना महामारीलाई मध्यनजर गरी प्रत्येक जिल्लामा विशेष एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । त्यसका लागि तत्कालै एम्बुलेन्सहरू खरिद प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरिएको छ । विपद व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
तेस्रो चरणको कोभिड प्रतिकार्यका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट गर्न सकिने कामहरू तत्काल सुरु गर्ने निर्णय विपद व्यवस्थापन बैठकले गरेको छ । कर्णाली सरकारले सुर्खेतको छिन्चुमा होल्डिङ सेन्टर बनाउने, भारतसहित तेस्रो मुलुकबाट कर्णाली भित्रिनेहरूको अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय पनि गरेको छ ।

बाहिरी मुलुकबाट आउने कर्णालीका नागरिकमध्ये सडक पूर्वाधार पुगेका जिल्लाका भए सम्बन्धित जिल्लामा पु¥याउने र सडक नपुगेको ठाउँका भए सुर्खेतको होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरिने जनाइएको छ । मुख्यमन्त्री शाहीले सबै तहका स्वास्थ्य संस्थाहरूलाई कोभिड प्रतिकार्यका लागि उच्च सतर्कताका साथ क्रियाशील रहन र प्रचारप्रसारलाई तीव्रता दिन निर्देशन समेत दिएका छन् ।

यस्तै, कोभिड नियन्त्रण कार्यमा खटिनेहरूलाई मात्र जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   १ माघ २०७८, शनिबार ०८:३३