सतीले सरापेको देश !

आशा गरिएका अगुवा असल व्यक्तिले विश्वासबाट स्खलित भएर जब निराशा दिन्छन् तब भन्ने गरिन्छ, ‘सतीले सरापेको देश ।’ को हुन् सती, किन सरापिन त्यसरी ?

त्यो इतिहासलाई चिरफार गर्दा तस्बिर यस्तो देखिन्छ । कान्तिपुरका राजा प्रताप मल्लका पालामा काजी भिम मल्ल लडाइँ गर्न भोट गएका थिए । काम तामेल गरेर काजी मल्ल फर्की दरबार आउँदा नआउँदै केही भारदारहरू आपसमा मतो गर्छन् र राजाकहाँ पुग्छन । भोटसँग मिलेर भिम मल्लले देशलाई हानी नोक्सानी हुने अपराधपूर्ण सम्झौता गरेका छन् भन्ने कुरा सुनाउँछन् । राजा रिसले तिलमाउँछन र गद्दार भिम मल्ललाई काटिदिनु भन्ने आदेश गर्छन् ।

राजाज्ञा मुताविक काजी मल्ल बाटैमा काटिन्छन् । भिम मल्लसँग हर्षोल्लास पूर्वक फर्की आएका सिपाहीहरू त्यो भयंकर घटनाले चिन्ताग्रस्त हुन्छन् र दरबारमा पुग्छन् । भिम मल्लले लडाइँ जितेर भोटलाई काबुमा पारी देशको चीरकालसम्म हित हुने लिखित सम्झौता गरेको सत्य र साँचो व्यहोरा रुँदै सुनाउँछन् । राजालाई आत्माग्लानी हुन्छ, ठूलो पश्चताप गर्छन् । तर कुनै प्रायश्चित र पश्चतापले काटेको घाँटी जोडिदैन । त्यतिबेला पति मरेपछि पत्नी सती जानुपर्ने परम्परा थियो । सती जाँदा काजी भिम मल्लकी पत्नीले आगोलाई नमन गरेर रुँदै भनिन्, ‘अब यो राज्यमा कसैको भलो नहोस् ।’

अनाहकमा देश बर्बाद हुँदा र निर्दोष जनताले सजाय मात्रै भोग्दा पर्यायवाची बनेको छ यो कथन, सतीले सरापेको देश । यो मार्मिक दृष्टान्तले चाकडीबाजहरूबाट घेरिएको शासक सदा आफ्नो भजन–कृतनमा रमाउँछ । ज्ञान बुद्धि र विवेकको सहि सदुपयोग गर्न सक्दैन, जान्दैन । अज्ञान र अल्पज्ञानका कारण जब दुर्घटना हुन्छ देशले क्षति बेहोर्नुपर्छ, जनताले अन्याय सहनु पर्छ भन्ने सन्देश दिएको छ कथनले । सराप लागेको हो वा संयोग मात्र यस्तो हो, मौसम झैं घरीघरी बदलिने मुलुकको राजनीतिमा हामीले लामो समयदेखि यस्तै नियति जो भोगी बस्नु परेको तितो यथार्थ छ ।

नियतबस काम कुराको तादात्म्य नमिलाउने राजनीतिका कतिपय ठूला ठेकेदारहरूलाई यो यथार्थ ढोङ, मिथ्या र आडम्बर लाग्न सक्छ । भौतिकवादीले आस्तिक कुरामा विश्वास गर्न हुँदैन भनी भ्रम छर्न सक्छन् । कुनै धर्मलाई टेरिदैंन वा मानिदैन भनी मुखले पुँजीवाद, जनवाद, साम्यवाद र वादैवादका नारा लगाएर नथाक्ने ती नास्तिक प्रगतिवादीले कुनै ठाउँमा राममन्दिर बनाउन टाउको धसेको कुरालाई जनताले के भन्ने होला ?

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी चढाएर घाँटीभरी रुद्राक्षको माला भिर्दै हिँडेको विषयलाई कसरी बुझ्ने होला ?

धर्म भनेको अफिमको नशा हो यसलाई ध्वस्त पार्नुपर्छ भनी विध्वंसमा लागेका कोही विध्वंसकारीले शनिग्रह शान्त पार्न भनी लुक्दैछिप्दै कोशी किनारमा धोतीपाटा फेरेर भैंसी पूजा गरेको घटनालाई कसरी हेर्ने होला ? ती प्रगतिवादीहरूसँग यसको उचित जवाफ त के होला, तर भ्रम घोलेर दूषित तर्क गर्दै आफ्ना कुरामाथि पार्न उनीहरूलाई कसैले भेटाउँदैन । त्यसैले भनाइ र गराइमा एकरूपता नभएपछि आस्था भिजेर गल्दै जान्छ, ढल्दै जान्छ विश्वास । परिस्थितिले त्यस्ता मान्छेलाई हरामी र सिल्लडमा रूपान्तरित गरिदिन्छ । अनेक जालझेल र कपट मिसाएर त्यस्ता व्यक्ति जब शासन सत्तामा पुग्छन् तब बर्बादी सुरुहुन्छ देशको,अत्यन्त कष्ट र सास्ती भोग्नुपर्छ जनताले ।

युगौंदेखि यस्तै प्रवृत्तिका शासकको थिचोमिचो र अत्याचार सहन अभिशप्त छन् नेपाली । राजा हुन् या नेता कोही असल पात्रले बागडोर सम्हालेका भए देशले निरन्तर दुर्दशा खेप्नु पर्दैनथ्यो । घटनाक्रम हेर्दा इतिहासले पनि सत्य तथ्यलाई बटारेर गलत दिशानिर्देश गरेको रहेछ भन्ने देखिन आउँछ । किनभने बौद्धिक व्यक्तित्व डाक्टर केवी रोकायले वि.सं. २००७ साल र वि.सं. २०४६ सालको परिवर्तन नेपाली जनताले ल्याएका होइनन् भन्छन् । रोकायले त्यति मात्रै भनेनन् कि, २०६३ सालको परिवर्तन पनि जनान्दोलनको भरमा मात्र आएको होइन । बाहिरियाहरूको पनि प्रभाव, स्वार्थ र रुचि मिसिएको छ भनेर भनिदिए । समयले परिवर्तन ल्याउँछ, परिवर्तनले इतिहास बनाउँछ । त्यसैले इतिहासको पनि निर्ममता पूर्वक समिक्षा गर्नुपर्ने भएको छ । शासक वर्गको स्वार्थ बमोजिम अतीतका घटनाहरूमा झुठ र बेइमानी मिसाइ तथ्यलाई बंग्याउँदै खेतालामार्फत लेखिएको लेख बयानलाई बिजेताको घोडा भनिदो रहेछ । घोडा इतिहासले जनतालाई सदैव दिग्भ्रमित पार्दो रहेछ ।

स्कुले जीवनमा ७÷८ कक्षाका किताब घोकिरहँदा रगतको होलि खेलेर राजनीतिमा आएका राणाहरूले देशमा स्कुल अस्पताल खोल्न नदिने, जनतालाई दमन गर्ने, आफ्ना छोरी चेलीबेटी बिहा गराइ दिएर राजालाई राजदरबारमा मात्रै सिमित राख्ने, शासन सत्ता आफू र आफ्ना भाइ छोराले पालैपालो चलाउने भन्ने पाठ पढ्दा मात्रै पनि मन असाध्यै आक्रोसित हुन्थ्यो र देशबाट नामेट भइसकेको राणा शासन प्रति घृणाभाव जाग्थ्यो । निरंकुश जहाँनीया राणा शासन फालेर देशमा प्रजातन्त्र ल्याउन राजा त्रिभुवनले आफ्नो राजगद्दीसमेत त्यागेर गए, भन्ने विषय उठाउँदै एकदिन गुरुले इतिहास पढाए । सारांसमा त्यो इतिहासको पाठ यस्तो थियो, प्रजातन्त्र ल्याउन भनी राजा त्रिभुवन भागेर भारतीय राजदुतावासमा गए । दुतावासले आश्रय दियो र दिल्ली पु¥याइ दियो । कार्तिक महिनामा भागी गएका राजाले फागुनमा प्रजातन्त्र लिएर आए र राणा शासनको उठिबास लगाए । गुरुले पढाउँदा मनको आँखामा सफा चित्र देखिन्थ्यो र राजा त्रिभुवनप्रति श्रद्धाभाव जागेर आउँथ्यो ।

स्कुल सकिएपछि चेतनास्तर पनि थोरै उठ्यो अध्ययनको दायरा अलि फराकिलो भयो । पत्रपत्रिका र अन्य केही पुस्तकतिर पनि रुचि बढ्न थाल्यो । पाठ्यक्रम बाहिरका अरु इतिहास हेर्दा राजा त्रिभुवनका जेठा छोराबाट जन्मेका माइला नाति ज्ञानेन्द्र शाह बाहेक सपरिवार भारतीय राजदूतावासमा पुगेका रहेछन् । सुनी सुनाइमा अनेकन कुरा आए पनि मामाघर गएका भनिएका अढाई वर्षका ज्ञानेन्द्र के कारणले छुट्न पुगे छर्लङ्ग पार्ने तथ्य इतिहास फेला परेको छैन । नेपालमा पहिलो चोटी हवाई जहाज अवतरण गरेको परिवारसहित राजा त्रिभुवनलाई दिल्ली उढाउन रहेछ । शरण माग्दैमाग्दै खल्यातखुलुत परिवार लिएर जानू भनेको बसाइँ सर्न बाहेक अरु के होला त ? मनमा प्रश्न उब्जनु पनि के अपराध भयो र ! फेरि त्यही जहाजले फागुन पहिलो साता परिवारसहितका राजालाई काठमाडौं झारिदिए छ ।

फागुन ७ गते राजाले देशमा पहिलो प्रजातन्त्रको घोषणा गरे । त्यही प्रजातन्त्रले अत्याचारी राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन समशेरलाई राणालाई फेरि प्रधानमन्त्रीमा नियुक्त गरेछ । क्रान्तिले यस्तो अपमान त कहिल्यै स्वीकार्दैन । कत्रो नाटक ! स्कुल पढ्दा जुन श्रद्धा थियो खुइलदै गयो मनबाट । राजालाई तीन चार महिनासम्म दिल्लीले किन पालेको रहेछ ? त्रिपक्षीय दिल्ली सम्झौता भनिएको छ, तथ्यगत खास व्यहोरा के उल्लेख छ त्यसमा ? किन आसमान सन्धि भनिन्छ यसलाई ? त्यता कतै सम्प्रभुता हराएको त होइन हाम्रो ? यस्ता गम्भीर प्रश्नहरूबाट दिल्लीले दूषित मनसाय राखेकै हुँदो हो भन्नेमा शंका अडिन्छ ।

पछिल्लो पटक भारतले हामीलाई नाकाबन्दी लगाइरहेको अवस्थामा भारतीय विद्वान एसडी मुनिसँग बिबिसी रेडियोले अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्तामा मुनीले भनेका थिए, त्यतिबेला त्रिभुवनले भनेका कुरा जवाहरलाल नेहरूले मानेको भए अहिले यो समस्या आउने नै थिएन । त्यो भनाइको अर्थ के लाग्छ ? कस्तो भाव सम्प्रेषण गर्छ ? यो विषयमा वर्तमान परिवेशमा समेत आफूलाई मैं हुँ भन्ने नेता भनाउँदाहरू तातो वाफ पनि फाल्न सक्दैनन् । भ्रम बेचेर धन लुट्न र देश खोक्रो पार्न तल्लीन रहेछन् । आन्दोलनले परिवर्तन ल्याएको भनी डिङ हाँक्नु मिथ्या त रहेछ ।

तथ्यले के देखाउँछ भने नेपालमा राणा शासन यति बलियो थियो कि सानोतिनो हावा हुरीले ढाल्न सक्ने खालको थिएन । संसारमा अंग्रेजहरूकै बोलबाला र दबदबा कायम थियो । राणालाई तिनै अंग्रेजको आशीर्वाद थियो । त्यस कारण राणाले कुलदेवता झैं पुजेका थिए अंग्रेजलाई । भारतबाट अंग्रेजको उठिबास भएपछि मात्र यता राणा शासनको नुर गि¥यो र कमजोर कमजोर हुदै गयो । जनाधार पटक्कै थिएन, समयको चाप पनि सहन मुस्किल प¥यो । दिल्लीको ललाइ फकाइ र कोपभाजनमा परेर फस्यो । राणा शासन ढल्यो, सो बापत छिमेकीले अदृश्य मोलमोलाइ सुरु ग¥यो ।

लोकतान्त्रिक धार र अधिनायकवादी धार मुख्य यिनै दुई प्रणालीको शासन व्यवस्थाबाट चलेका छन मुलुकहरू । पटकपटक प्रणाली फेरिए पनि कुनै व्यवस्थामा व्यक्तिगत भावनालाई त्यागेर राष्ट्रका लागि समर्पित हुने युगपुरुष राजनेताको रूपमा कोही जन्मन सकेन । देशले प्रतिक्षा गरिरहेको छ एउटा सुपठित, स्वप्नशील र चिन्तनशील युगपुरुषको । देशमा अधिनायकवादी शासक ज्यादै निरंकुश भए लोकतन्त्र चाहिन्छ भनी राज्य शासन प्रणाली बदलियो तर सुखानुभूत लिएर आएन कोही राजनेता । भ्रष्टाचारको दलदलमा गढेका कारणले गणतन्त्रको सरकार बिचौलियाहरूको व्यवस्थापन समिति जस्तो देखिन आयो । खोइ अर्काको अभिष्ट पनि घुसेर होकि किन हो नयाँ व्यवस्थासँग उदाएका नायकहरू विस्तारै नालायक हुँदै खलनायक भए । चेतना पसेर होकि अहंकारले बास गरेर हो जनता पनि निधारमा छाप लगाएर विभिन्न पार्टीमा विभाजित भए । आफ्नो विवेकलाई सहि प्रयोग गर्ने हो भने पहिला निधारबाट पार्टी छाप मेटाउन जरुरी छ जनताले । त्यसपछि मनको आँखाले खोज्छ क्षमतावान योग्य र सक्षम व्यक्तित्व । तब मनकै आँखाले रोज्छ उसको चुनाव चिन्ह । स्वार्थान्धले मुलुक बर्बाद पार्ने सबै बढारिने छन नालायक र खलनायकहरू । मेटिनेछ त्यो कथन सतीले सरापेको देश । समयले उघार्दै जानेछ उन्नति प्रगतिमा रमाउने नेपालीको साझा सपना ।

प्रकाशित मितिः   १ माघ २०७८, शनिबार ०८:३२