तिवारी हत्याकाण्डको छानविन गर्न समिति गठन

सरकारले एमालेको भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दूर्गा तिवारी को हत्याबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन भएको छ ।

उनीहरुले घटनाको अनुसन्धान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

गृहका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार अपराधिलाई पक्राउ गर्ने उद्देश्यले सबै सुरक्षा निकायहरुलाई बिभिन्न नाका लगायत सीमावर्ती क्षेत्रमा परिचालन गरिएको छ र ‘कोर्डन एण्ड सर्च’ को काम भइरहेको छ ।

गृहले घटनामा ज्यान गुमाएका तिवारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

रुपन्देहीमा हिजो अपरान्ह युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली प्रहार गरी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले उनको हत्या गरी फरार भएका थिए ।

प्रकाशित मितिः   ५ पुष २०७३, मंगलवार १४:३७