प्रहरी हुने अवसर आउँदै

प्रहरीले स्वयंसेवक प्रहरी अवधारणालाई देशभर विस्तारित गर्ने योजना बनाएको छ। प्रहरीसरह सेवा गर्ने मौका नेपाल प्रहरीले इच्छुक सर्वसाधारणलाई दिने भएको छ ।

गृह मन्त्रालयमा गत मंसिर ४ को सचिवस्तरीय बैठकले महानगरीय स्वयंसेवक प्रहरी परिचालनसम्बन्धी निर्देशिकामा केही थपघट गर्दै सेवा विस्तार गर्ने निर्णय गरेको हो। हाल नमुना परियोजनाका रुपमा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र कार्यरत स्वयंसेवक प्रहरीलाई देशभर विस्तार गर्ने योजना प्रहरीले बनाएको छ। प्रहरीमा स्वेच्छाले स्वयंसेवाको व्यवस्था रहे पनि औपचारिक भर्ना आह्वान गर्दै अघिल्लो वर्षबाट मात्रै सेवामा लगाउन थालिएको हो।

‘समाजप्रति उत्तरदायी र जिम्मेबार बनाउन स्वयंसेवक प्रहरीको अवधारण सफल छ, सेवाभाव हुने योग्यता पुगेका नागरिकलाई सहकार्यको अवसर हो,’ महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले भने। उनका अनुसार १८ देखि ५० वर्ष उमेर समूहका नेपाली नागरिकले स्वयंसेवक प्रहरी भएर सहकार्य गर्न सक्ने व्यवस्था निर्देशिकामा छ।

प्रहरी प्रधान कार्यालयले स्वयंसेवक प्रहरीका लागि आवश्यक सेवासुविधा उपलब्ध गराउन गृह मन्त्रालयमा पत्राचार गर्ने भएको छ। निर्देशिकाअनुसार प्रहरीले सार्वजनिक सूचना निकालेर स्वयंसेवक प्रहरी भर्ना गर्नेछ। उमेर पुगेका, फौजदारी अभियोग नलागेका र सेवाभाव भएका व्यक्तिलाई निर्देशिकाअनुसार गठन हुने छनोट समितिले भर्ना गर्नेछ।

‘भर्ना प्रक्रियापछि न्यूनतम एक सय २० घन्टा सेवा गर्नेलाई प्रमाणपत्र दिने व्यवस्था छ। सेवाभाव र नयाँ सोच भएका युवासँग सहकार्य गर्न प्रहरी सधैं तयार छ,’ वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले भने। उनका अनुसार एक हजार घन्टा सेवा गर्नेलाई वरिष्ठ स्वयंसेवकको पद दिने व्यवस्था निर्देशिकामा छ।

‘यो राष्ट्र सेवा अभियान हो, समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिकलाई अधिकार प्रत्यायोजन गर्ने र दायित्व तथा जिम्मेबारी बोध गराउने अवधारणा कार्यन्वयन भएको हो,’ ज्ञवालीले भने।

गृह मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार स्वयंसेवक प्रहरीलाई स्थानीय तहको सुरक्षासम्बन्धी छलफल, अपराध रोकथाम, महिला, बालबालिका तथा वृद्धको सुरक्षा र ट्राफिक व्यवस्थापनजस्ता कार्यमा सहभागी गराउन सकिनेछ। यस्तै प्रहरीले गठन गरेको परिचालन समितिमा छनोट भएका स्वयंसेवक प्रहरीलाई युनिट तोकेर खटाउन सकिनेछ।

प्रहरीले स्वयंसेवक प्रहरीको स्वास्थ्य तथा दुर्घटना बिमा, परिचयपत्र, पोसाक र निश्चित अवधिपछि प्रमाणपत्रको व्यवस्था गर्ने निर्देशिकामा उल्लेख छ। प्रहरी आचरणविपरीत क्रियाकलाप गरेमा वा जिम्मेबारी वहन गर्न असक्षम भएमा र फौजदारी अभियोग लागेमा हटाउन सक्ने व्यवस्था छ।

हाल १९ जना स्वयंसेवक प्रहरी खटाएको क्षेत्रमा कार्यरत छन्। अघिल्लो माघमा निवेदन दिएका एक सय चारमध्ये ४० जना छनोट भएका थिए। तीमध्ये केहीले तत्काल सेवा छाडेका थिए।

नागरिकबाट

प्रकाशित मितिः   ५ पुष २०७३, मंगलवार १४:२९