भित्रभित्रै चुनाबी तयारीमा दलहरु

तीनै तहको निर्वाचनका लागि संविधानले निर्धारण गरेको मिति नजिकिँदै गर्दा चुनावप्रति सरकारी तयारी शून्यप्रायः छ। न निर्वाचनसम्बन्धी ऐन निर्माण अघि बढेको छ न राजनीतिक वातावरण। समयमै चुनाव हुन्छरहुन्छ भन्ने अनिश्चित मात्र होइन, पहिले कुन निर्वाचन गर्ने भन्नेसमेत दलीय मतैक्य छैन। यस्तो बेला मुलुकका जिम्मेवार राजनीतिक दल भने भित्रभित्रै चुनाबी तयारीमा लागिसकेका छन्।

चुनावको मिति नजिकिएजस्तो गरी दलहरु चुनावी कार्यक्रम बनाएर गाउँगाउँ दौडाहा निस्कन थालिसकेका छन्। राजनीतिक वातावरण, सरकारी तयारी र दलहरुको यो तयारीबीच कत्ति तालमेल देखिन्न।

नेपाली कांग्रेसले ७५ वटै जिल्लामा चुनावी अभियान लिएर केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। मंसिर २५ गते महामन्त्री शशांक कोइरालाले गरेको सर्कुलरअनुसार जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिले कम्तीमा दुई साता बसेर पुस मसान्तभित्र रिपोर्ट दिनुपर्नेछ। उनीहरुले पार्टीको जिल्ला समितिका बैठक बसेरनबसेको, गाउँ तथा जिल्ला समितिले पूर्णता पाएरनपाएको लगायत पार्टीको चल तथा अचल सम्पत्तिबारे केन्द्रमा रिपोर्ट बुझाउन भनिएको छ।

कांग्रेसले काठमाडौंमा पूर्णबहादुर खड्का, ललितपुरमा किरण यादव, भक्तपुरमा अम्बिका बस्नेत, दाङमा मीनेन्द्र रिजाल, मुगुमा अर्जुननरसिंह केसी, पर्सामा डा। शेखर कोइरालालाई खटाएको छ।

कांग्रेस पार्टी कार्यालय सचिव प्रेम केसीले चुनावी तयारी सशक्त र प्रभावकारी बनाउन केन्द्रीय नेता जिल्ला–जिल्ला खटिएको बताए। ‘संगठन विस्तारसँगै चुनावको तयारीलाई तीव्र बनाउन केन्द्रीय नेता जिल्लाजिल्ला खटिएका हुन्, केसीले भने।

पार्टी सभापति शेरबहादुर देउवा र नेता पौडेलसमेत जिल्लाजिल्ला गएर पार्टी कार्यक्रममा सहभागी भइरहेका छन्।

एमालेले पनि जुनसुकै बेला चुनाव घोषणा हुन सक्ने भन्दै चुनावको तयारी अघि बढाएको छ। दुई महिनायता एमालेले चारमहिने संविधान कार्यान्वयन अभियान गरिरहेको छ। यससँगै चुनावी तयारीमा कार्यकर्ता परिचालन गरिएको एमाले नेताले बताएका छन्।

एमालेले देशव्यापी कार्यकर्ता प्रशिक्षणसमेत सुरु गरेको छ। ‘हामी जुनसुकै बेला सरकारले चुनाव घोषणा गरे चुनावमा जाने गरी अभियान तीव्र बनाएका छौं,’ एमाले सचिव गोकर्ण विष्टले नागरिकसँग भने, ‘लोकतन्त्रमा प्रतिनिधिविहीन राख्न मिल्दैन। त्यसैले हामीले चुनाव माग गरेका छौं।’

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि चुनावी तयारी सुरु गरेको छ। माओवादीले ‘जनताको घरदैलामा जाऔं, माओवादीलाई विजयी गराऔ’ भन्ने नारासहित चुनावी अभियानसहित आफ्ना केन्द्रीय नेतालाई गाउँगाउँ जान निर्देशन दिएको छ।

माओवादीले पुसभर गाउँ तथा नगर सम्मेलन तथा फागुनभित्र जिल्ला सम्मेलन गर्न मातहतका समितिलाई निर्देशनसमेत दिएको छ। वडा, नगर तथा जिल्ला अधिवेशनको तयारीसँगै चुनावी अभिायानलाई पनि तीव्र बनाउने माओवादी केन्द्रका नेताले बताएका छन्।

‘वडा, नगर तथा जिल्ला अधिवेशनको तयारीसँगसँगै गाउँगाउँमा चुनावी प्रचार अभियानलाई पनि तीव्र बनाएका छौं,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्।

प्रधानमन्त्री पुष्पकमल दाहाललगायत शीर्ष नेता विभिन्न कार्यक्रमबीच जिल्लाजिल्ला जान थालेका छन्। उनीहरु जुनसुकै नाममा कार्यक्रममा सहभागी भए पनि भित्री उद्देश्य चुनावी तयारी बढाउनु रहेको नेताहरु बताउँछन्।

राप्रपाले पनि चुनावी तयारी सुरु गरेको छ। राप्रपाले आगामी फागुन ६, ७ र ८ गते महाधिवेशन घोषणा गरेको छ। त्यसका लागि माघ २१ गते सबै क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्ने र माघ २५ गते सबै जिल्लामा जिल्ला अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।

‘हामीले महाधिवेशनसँगै चुनावको तयारी पनि तीव्र बनाएका छौं,’ राप्रपा नेता बुद्धिमान तामाङले भने, ‘चुनाव घोषणा भयो भने हामी चुनावमा जान तयार छौं।’

मधेसी मोर्चामा आबद्ध मधेसवादी दलले समेत भित्रभित्रै चुनावको तयारी गरेका छन्। संविधान संशोधन भए चुनावमा जाने र नभए आन्दोलनमा जाने गरी मोर्चाका नेताले चुनावको तयारी गरेका छन् ।

नागरिकबाट

प्रकाशित मितिः   ५ पुष २०७३, मंगलवार १४:२३