विधान कुल्चेर अघि बढ्दै देउवा

गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत अपूर्ण नै छन्।

१३औं महाधिवेशनअघिसम्म स्पष्ट दुई गुटमा विभाजित कांग्रेस अहिले आधा दर्जनभन्दा बढी समूहमा बाँडिएको छ।

पार्टीभित्र रहेका अन्य समूहलाई मात्र होइन, निकटकालाई पनि मिलाउन नसक्दा देउवाले नेतृत्व सम्हालेको नौ महिनासम्म सबै निकाय रिक्त छन्। उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनसहित विभाग र अन्य निकाय गठन प्रक्रियासमेत सुरु भएको छैन।

केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीमा भागबन्डा संस्कृति विकास हुँदा गुटबन्दी मौलाएको बताए। निर्वाचनबाट आएको नेतृत्वलाई विधि र प्रक्रियाअनुसार काम गर्न दिनुपर्ने बताउँदै घिमिरेले सबै पक्षलाई समेटेर अघि बढ्ने प्रयास गर्दा विधि र विधान पछि परेको तर्क गरे।

नेता रामचन्द्र पौडेल निकट एक केन्द्रीय सदस्यले नेतृत्वमा नपुग्दासम्म विधान पालना भएन भन्ने आफैं पुगेपछि अटेर गर्दै अघि बढ्ने प्रवृत्ति नराम्रो भएको बताए।

सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई अघि बढाउन सभापतिले समय दिनुपरेकाले पदाधिकारी मनोनयनमा विलम्ब भएको देउवा निकट स्रोतको दाबी छ।

केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पदाधिकारी नियुक्तिको विषय परिपक्व भइसकेको बताए।

पार्टीको महाधिवेशन सम्पन्न भएको नौ महिनामा एक दशकदेखि हुन नसकेको प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन भने सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलको नयाँ नेतृत्व चयन गर्नुबाहेक महाधिवेशनमा वैचारिक बहस भने भएन।

केन्द्रीय सदस्य घिमिरेले भ्रातृ संगठनको महाधिवेशनमा मात्र नभएर पार्टीभित्रै पनि वैचारिक बहस पक्ष कमजोर बन्दै गएको बताए। महाधिवेशन भनेपछि नेतृत्व चयनमात्र हो भन्ने मानसिकता विकास भएको औंल्याउँदै घिमिरेले भने, ुकम्तीमा भ्रातृ संगठनले नयाँ नेतृत्व पाएका छन्, सभापतिलाई यतिका लागि भने पनि धन्यवाद दिनुपर्छ।’

संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनको गृहकार्यसमेत भएको छैन। विधानको धारा ४९ उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ। देउवा फागुन २४ गते सभापति निर्वाचित भएका हुन्।

 

प्रकाशित मितिः   ५ पुष २०७३, मंगलवार १४:१३