ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोल्पाबाट जुम्ला आउँदै गरेको भे १ त ६८४२ नंको ट्र्याक्टर आज बिहान दुर्घटना हुँदा ३३ वर्षीय लङ्कबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटना जुम्ला गोठीचौर गाविसस्थित कालो साँघु भन्ने स्थानमा भएको हो। मृतक डोल्पा रिमी गाविस– ५ झ्याकोट गाउँ निवासी रहेको स्थानीय व्यापारी प्रेमबहादुर बोहोराले जानकारी दिए।
बोहोराका अनुसार रोकायाका छवर्षीय छोरा निर्दोष बेपत्ता छन्। रोकाया १४ क्विन्टल जटामसीको ट्र्याक्टरमा बोकेर डोल्पा चौंरीकोटबाट जुम्लाका लागि बिहानै ३ बजे हिँडेको उनकै मीतभाइ नरबहादुर रोकायाले डोल्पाबाट जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय जुम्लाले दुर्घटनाग्रस्त ट्र्याक्टर सडकभन्दा एक सय मि तल खस्दा बाबु लङ्कको शव भेटिए पनि छोरा निर्दोष जवा नदीमा बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको बताएको छ।
दुर्घटनामा रिमी– ८ डोल्पाकै १७ वर्षीय मीरा बुढा गम्भीर घाइते भएको र उनलाई उपाचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइँदै गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता बालकको खोजी भइरहेको छ। ट्र्याक्टर चालक फरार रहेकाले घटना कसरी भएको हो भन्न थाहा हुन नसकेको जनाइएको छ।
बिदाका समयमा जडीबुटी लिएर तल झर्न खोजेका रोकाया महादेव निमावि थापागाउँ डोल्पामा निमावि कार्यरत शिक्षक थिए ।

प्रकाशित मितिः   ५ पुष २०७३, मंगलवार १४:४४