लापरबाही नगर

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम फेरि बढेको छ । केही दिनयता दैनिकजसो संक्रमण दर बढ्दै गएको छ । संक्रमित भेटिने क्रम तीव्र बनेपछि महामारीको तेस्रो चरण सुुरू भएको आकलन गरिएको छ । सरकारले संक्रमण फैलिन सक्ने ठहर गरेर शैक्षिक संस्थाहरू बन्द गर्ने र सबै क्षेत्रमा आवश्यक सावधानी अपनाउने निर्णय गरिसकेको छ । सोहीअनुसार हरेक जिल्लामा परिपत्रसमेत गरिएको छ । तर, त्यसअनुरूप गतिविधि भने अघि बढ्न सकेका छैनन् । सतर्कता अपनाउनेबारे सरकारी निकायले नै अलमल गरिरहेका हुन् । सतर्कता अपनाउने छलफल र निर्णय गरिए पनि व्यवहारमा त्यो देखिएको छैन । यसले थप जोखिम बढ्ने संकेत देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको नयाँ भेरियन्टको संक्रमण जोखिम कम गर्न थुप्रै निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएको बैठकले तत्काल सीमा नाकामा सर्तकता अपनाउने, स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने र जोखिम न्यूनीकरण गर्न सार्वजनिक स्थलमा निगरानी बढाउनेलगायतका निर्णय गरेको थियो । प्रशासन तथा सरोकारवाला अन्य निकायले ती निर्णय कार्यान्वयन भने गरेका छैनन् । संकट व्यवस्थापनका लागि भएका जिल्लास्तरीय निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको हो । छिमेकी मुलुक भारतमा ओमिक्रोनको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू धमाधम फर्किन थालेका छन् । त्यसरी फर्किनेहरूमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने संख्या पनि बढेको छ । तर कर्णाली प्रदेश भित्रिने नाकाहरूमा अहिलेसम्म आवश्यक सतर्कता अपनाएको पाइँदैन ।

देशका विभिन्न ठाउँमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का संक्रमित बढ्दै गएपनि संक्रमण भित्रिन नदिन सरकारी निकायले आवश्यक सावधानीमा हेलचक्य्राइँ गरेका छन् । कर्णालीका दश वटै जिल्लामा स्थानीय प्रशासनले संक्रमणको जोखिम घटाउन स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न अनुरोध मात्र गरेका छन् । प्रदेश तथा जिल्ला भित्रिने सीमा नाकादेखि सार्वजनिक स्थलमा सोहीअनुसारको निगरानी भने बढाइएको छैन । त्यस्ता जोखिमजन्य ठाउँहरूमा चेकजाँच तथा भिडभाड नियन्त्रणका लागि कडाइ नगरिएको हो । सीमा नाकामा निगरानी नहुँदा संक्रमणको उच्च जोखिम रहँदै आएको छ । प्रदेश सरकारले समेत कर्णाली भित्रिने मुख्य नाकाहरूमा निगरानी गरिने बताए पनि यसबारे कुनै काम अघि बढेका छैनन् ।

प्रकाशित मितिः   ३० पुष २०७८, शुक्रबार ०५:०४