अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा कर्णालीलाई दुई स्वर्ण

सुर्खेत: बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले दुई स्वर्ण र दुई काँस्यपदक जितेका छन् । बंगलादेश गोजुरियो कराँते दो संघको आयोजनामा गत डिसेम्बर २६ देखि २९ सम्म बिजी अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता भएको थियो । प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ केजी कुमितेमा कास्य पदक जिते छन् । त्यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ केजी कुमितेमा एक स्वर्ण र सुर्खेतका सन्दिप महतले ७० केजी कुमितेमा काँस्य पदक जितेका हुन् ।

निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका दुई र दैलेखका एक खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बिहीवार एक कार्यक्रमको आयोजना गरी पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले सरोकारवाला निकायसँग कर्णालीका खेडालीको खेल सहभागिता र खर्चका सम्बन्धमा ध्यानाकर्षण गराइने जनाए । ‘खेलकुद र खेलाडीको व्यवसायिकताका सवालमा कर्णाली सरकारको ध्यानाकर्षण गराउछौं,’ उनले भने ।

नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदिपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरव बढाएकोमा खेलाडीलाई बधाइ दिँदै यसमा प्रदेश सरकार पनि जिम्मेवार भएर लाग्नुपर्ने बताए । आगामी दिनमा प्रतियोगितामा अधिकतम् पदक ल्याउने सितेरियो कराँतेलगायतका मार्शल आट्र्स र एथलेटिक्सका खेलाडीका लागि विशेष प्याकेज ल्याउनुपर्नेमा उनले जोड दिए । कर्णालीमा बढी भन्दा बढी प्रतियोगिता आयोजना गर्नुपर्ने र विभिन्न प्रतियोगिताहरूमा खेलाडीको सहभागिता बढाउन प्रदेश सरकारले जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   ३० पुष २०७८, शुक्रबार ०५:०१