नेपाली सेनाद्वारा गढीमा पृथ्वीनारायणको सालिक स्थापना

सुर्खेत: वीरेन्द्रनगर–१४ गोठिकाँडास्थित सुर्खेतको पुरानो सदरमुकाम बयलकाँडा गढीमा पृथ्वीनारायण शाहको सालिक राखिएको छ । शाहको ३००औं जन्मजयन्तीको अवसरमा मंगलवार गढीमा उनको सालिक अनावरण गरिएको हो । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर नेवारेका कमाण्ड सेनापति उपरथी प्रेम शाहीले शाहको सालिक अनावरण गरेका हुन् । नेपाल एकीकरणमा प्रयोग भएका देशभरका ऐतिहासिक गढी संरक्षण गर्ने क्रममा नेपाली सेनाले यसअघि गढी प्रवेशद्वारमा गेट निर्माण गरेको थियो । गढी क्षेत्रमा पूरातत्व विभागले बाहेक अन्य निकायले उत्खनन् र पुनर्निर्माण गर्न नमिल्ने भएकोले नयाँ सबुज गण कपासे ब्यारेकले पहिलो चरणमा पाँच लाखको लागतमा स्वागतद्वार निर्माण गरेको थियो । बयालकाँडा गढी पाँच कठ्ठा १३ धुर जग्गामा रहेको छ । गढीको संरक्षणबाट गोठीकाँडा क्षेत्रको ऐतिहासिक, पूरातात्विक र पर्यटकीय महत्व बढ्ने नेपाली सेनाको अपेक्षा छ ।

गढीमा पृथ्वीनारायण शाहको सालिक राखेर इतिहास तथा संस्कृति संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको सेनापति उपरथी शाहीले बताए । नेपालको रक्षा गर्न र देशलाई एकताको सुत्रमा बाँध्न यस्ता गढीहरूले महत्वपूर्ण योगदान गरेकाले ऐतिहासिक धरहरा र सांस्कृतिक सम्पदाको संरक्षणमा सेना लागि परेको उनको भनाइ छ । सेनाको पश्चिम कमाण्डका अनुसार नेपाल एकीकरणमा प्रयोग भएका ऐतिहासिक गढीहरूमध्ये दैलेखको कोतगढी, डडेल्धुराको अमरगढी, डडेलधुराकै पातलगढी र पातलकोटलाई संरक्षण गरिएको छ । नेपाली सेनाले रणनीतिक महत्व बोकेका देशभरका ऐतिहासिक गढी तथा किल्लाहरूको ‘राष्ट्रिय एकीकरण मार्ग’ अन्तर्गत गढीको संरक्षण गर्ने अभियानलाई पनि निरन्तरता दिएको जनाएको छ ।

प्रकाशित मितिः   २८ पुष २०७८, बुधबार ०५:०३