एमाले जिल्ला अधिवेशन

बदलियो समीकरण, कसले मार्ला बाजी ?

अध्यक्षमा बिसी र शर्मा भिड्दै, कंडेल भर्सेज रावतको चर्चा

सुर्खेत: नेकपा (एमाले) सुर्खेतको नेतृत्व चयनका लागि आज(सोमवार) निर्वाचन हुँदैछ । सर्वसम्मतिको प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हो ।

जिल्ला नेतृत्वका लागि नेताहरू अमृतकुमार बिसी र डण्डिप्रसाद शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । बिसी र शर्माले अध्यक्षमा उम्मेदवारी दिएका छन् । चुनावी प्रतिस्पर्धाका लागि दुवैजनाले आ–आफ्नो प्यानल बनाएका छन् ।

बिसीको प्यानलबाट उपाध्यक्षमा कुलमणि देवकोटा उम्मेदवार बनेका छन् । उनी सातौं जिल्ला अधिवेशनमा बिसीसँगै उपाध्यक्षमा पराजित भएका थिए । यसपटक भने बिसी र देवकोटा एकै प्यानलबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनेका हुन् ।

यस्तै सचिवमा कविन्द्रकुमार केसीले उम्मेदवारी दिएका छन् । उनी यसअघिका जिल्ला कमिटी सचिवालय सदस्य हुन् भने सिम्ता गाउँपालिकाका अध्यक्षसमेत हुन् ।

बिसीकै प्यानलबाट उपसचिवमा युवा नेता घनश्याम पाण्डे र बलबहादुर नेपाली उम्मेदवार बनेका छन् । उनीहरू यसअघि जिल्ला कमिटी सदस्य थिए ।

अर्कोतर्फ शर्माले पनि जिल्लाका तीन वटै क्षेत्र समेटेर उम्मेदवार बनाएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा ऋषि गिरी र सचिवमा रेशम राना मगर छन् । उपसचिवमा नेत्रलाल महतारा र टीकाराम सुवेदी उम्मेदवार बनेका छन् ।

प्यानलबाहेक चतुरभुज शाहीले पनि उपसचिवमा उम्मेदवारी दर्ता गराएका छन् । पाँच सदस्यीय पदाधिकारीमा ११ जनाको उम्मेदवारी परेको हो ।

फेरिएको समिकरण

आठौं जिल्ला अधिवेशनसम्म आइपुग्दा एमाले सुर्खेतभित्रको समूह समीकरणमा निकै फेरबदल भएको छ । सातौं अधिवेशनको समीकरण यसपटक फेरिएको छ । अध्यक्ष पदका उम्मेदवारद्धय बिसी र शर्मा अघिल्लो अधिवेशनमा एकै समूहमा थिए । दुवै जना अध्यक्ष ध्रुवकुमार शाहीको प्यानलबाट उपाध्यक्ष र जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । तर आठौं अधिवेशनसम्म आइपुग्दा दुई अलग समूहबाट एकै पदमा एकअर्काको प्रतिस्पर्धी बनेका छन् ।

त्यसो त यसअघिको समीकरणमा धेरै बदलाव आइसकेको छ । विगतमा केन्द्रमाजस्तै जिल्लामा पनि केपी शर्मा ओली र माधवकुमार नेपाल समूह थिए । तर पार्टी विभाजनपछि भने विगतको माधव समूह एक ठाउँमा रहेन, तितरबितर भयो । नयाँ समिकरण निर्माण भने रोचक तरिकाले भएको छ ।

फरक समूहमा रहेका एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल र जिल्ला कमिटी अध्यक्ष ध्रुवकुमार शाही अहिले एकठाउँमा छन् । एक समय यस्तो पनि थियो कंडेल र शाहीबीच सहज रुपमा बोलचाल समेत थिएन । अहिले उनै कंडेल र शाही एकै समूहमा छन्, मिलेर अमृतकुमार बिसीलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । शाही कंडेलको विश्वासपात्र बनेका छन्, कंडेल शाहीलाई साथमै लिएर हिँडेका छन् ।

अर्कोतर्फ एमाले केन्द्रीय कमिटी सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले अघिल्लो पटक फरक समूहमा रहेका शर्मालाई यसपटक अध्यक्षको उम्मेदवार बनाएका छन् । सातौं अधिवेशनमा रावत अध्यक्षको उम्मेदवार हुँदा शर्मा ध्रुवकुमार शाहीको समूहमा थिए । त्यतिबेला रावत र कंडेल भने अर्को समूहमा सँगै थिए । अहिले दुई अलग समूहमा छन् । यसरी एमाले सुर्खेतभित्रको समूह समिकरण बदलिएको छ ।

कंडेल भर्सेज रावत !

लामो समयसम्म सुर्खेतबाट पार्टीको केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने एक्ला नेता थिए यामलाल कंडेल । उनी पटक–पटक केन्द्रीय सदस्य र पोलिट्ब्युरो सदस्यसम्म भए । अहिले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज छन् । जिल्लाको राजनीतिमा उनको प्रभाव रहँदै आएको छ । तर उनलाई चुनौती दिने समूहमा पनि तयार भइरहेको छ ।

जिल्लाको आठौं अधिवेशन भइरहँदा यसअघि कंडेलकै समूहमा रहेका नवराज रावत अलग भएका छन् । फरक के छ भने यतिबेला जिल्लाबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने अर्का व्यक्तिसमेत हुन् रावत । दशौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका छन् । सुर्खेत जिल्ला इन्चार्जको जिम्मेवारी पनि उनकै काँधमा छ ।

केन्द्रीय सदस्यमा पुगिसकेका रावत अहिले जिल्लामा आफ्नै शक्ति निर्माणमा छन् । सातौं अधिवेशनमा कंडेलकै सहयोगमा अध्यक्षको उम्मेदवार बनेका रावत यसपटक कंडेलका उम्मेदवार अमृतकुमार बिसीलाई छोडेर डण्डिप्रसाद शर्मालाई अध्यक्ष बनाउन लागिरहेका छन् । स्रोतकाअनुसार यसअघि माधवकुमार नेपाल समूहमा रहेका शर्मालाई एमालेमै राख्न रावतले भूमिका खेलेका थिए । पार्टीअध्यक्ष केपी शर्मा ओलीसँग भेट गराउनेदेखि जिल्ला नेतृत्वका लागि आश्वासन दिएर शर्मालाई एमालेमै रोकेको चर्चा एमालेवृत्तमा चल्ने गरेको छ ।

अघिल्लो पटक कंडेलले रावतलाई अघि सार्दा ध्रुवकुमार शाहीले चुनौती दिए । जिल्ला अध्यक्षमा कंडेलका उम्मेदवार रावत पराजित भए, शाहीले जिते । अहिले भने कंडेल र शाही एकठाउँमा छन् । रावत अर्को समूहको नेतृत्व गर्दैछन् । कंडेलका उम्मेदवार बिसीलाई चुनौती दिन शर्मालाई अघि सारेका छन् । यसरी हेर्दा आठौं अधिवेशनलाई एमाले सुर्खेतमा कंडेल भर्सेज रावत प्रतिस्पर्धाका रूपमा हेरिएको छ । अधिवेशन प्रतिनिधिहरुमाझ कंडेल र रावतबीचकै प्रतिस्पर्धाका रुपमा चर्चा चल्ने गरेको छ ।

को कति बलियो ?

दुवै समूह आफ्नो जित हुने दाबी गरिरहेका छन् । तर विगतको समूह समीकरण फेरिएका कारण यसपटकको चुनावी परिणाम सहजै आकलन गर्न सकिने खालको छैन । प्रतिनिधिहरुमाझ प्रभाव राख्ने कतिपय नेताहरु खुलेर लागेका छैनन् । उनीहरुको समर्थन कसलाई हुन्छ भन्ने बाहिर आइसकेको छैन । यसले पनि नतिजामा प्रभाव राख्ने छ ।

सातौं अधिवेशनबाट उपाध्यक्ष जितेका बिसीलाई जिल्लाका ‘हेभ्भीवेट’ नेताहरुको साथ छ । स्थायी कमिटी सदस्य यामलाल कंडेल, केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला सहइन्चार्ज मोहनमाया ढकाल, निवर्तमान जिल्ला अध्यक्ष ध्रुवकुमार शाही, कर्णाली प्रदेश कमिटीका सचिव कमल शाहीसहित जिल्लाका प्रभावशाली नेताहरुले साथ दिएका छन् । कुलमणि देवकोटा, कविन्द्र केसी र घनश्याम पाण्डेजस्ता बलिया उम्मेदवार पदाधिकारीको टिममा छन् ।

अर्कोतर्फ शर्मालाई पनि जिल्लको राजनीतिमा प्रभाव राख्ने नेताहरुको सहयोग छ । केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतदेखि प्रदेश कमिटीका धेरै सदस्यहरु उनको पक्षमा छन् । विगतमा कंडेलकै समूहमा रहेका ताराकेशर गौतम, टेकेन्द्र बस्नेतलगायतका नेताहरु शर्माको पक्षमा देखिएका छन् । युवा नेताहरु हरि अधिकारी, नेत्रलाल महतारालगायतले पनि शर्मालाई जिताउन लागिपरेका छन् ।

पूर्वी सुर्खेतका शर्माले पदाधिकारीमा भुगोलको प्रतिनिधित्वलाई पनि मिलाएका छन् । उनको टिममा उपाध्यक्षमा वीरेन्द्रनगरका ऋषि गिरी छन् भने सचिवमा पश्चिम सुर्खेतका रेशम राना छन् ।

आज मतदान

नेतृत्व चयनका लागि आज (सोमवार) मतदान हुँदैछ । आइतवार उम्मेदवारी दर्ता गरिएको थियो । निर्वाचन कार्यतालिका अनुसार सोमवार बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । यस्तै ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश गरिनेछ । दिउँसो १ बजेदेखि मतदात सुरु हुनेछ ।

प्रकाशित मितिः   २६ पुष २०७८, सोमबार ०५:०३