अलपत्र योजना
कर्णाली प्रदेश सरकारले सुरुवाती चरणदेखि नै विभिन्न महङ्खवाकांक्षी निर्णय र घोषणा ग¥यो । लोकप्रिय योजनाहरू बनायो । त्यस्तैमध्येको एक हो, कर्णालीलाई अर्गानिक प्रदेश बनाउने निर्णय । मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्गानिक प्रदेश बनाउने निर्णय गरिएको थियो । प्रदेशलाई विषादीरहित बनाउने, अर्गानिक कृषि उत्पादनमा जोड दिने लक्ष्य राखिएको थियो । यो योजनाले प्रशंसा पनि बटुल्यो । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पनि यसलाई उच्च प्राथमिकताका साथ समेट्यो । नीति–कार्यक्रममा कहिल्यै नछुट्ने अर्गानिक प्रदेशको योजना कार्यान्वयनमा भने अझै पनि अमलम नै छ । कार्यान्वयनका लागि ठोस कदमसमेत चालिएको छैन ।
कर्णालीलाई अर्गानिक प्रदेश निर्माणका लागि अझै गतिलो आधार तय भने भइसकेको छैन । कर्णाली सरकारले रैथाने बालीको संरक्षण तथा कृृषि उपजको उत्पादन अर्गानिक हुनुपर्नेमा जोड दिँदै आएको छ । त्यसको कार्यान्वयनको अवस्था भने सन्तोषजनक नदेखिएको हो । वितरणमुखी बजेटका कारण अर्गानिक खेतीको प्रवद्र्धन गर्दै कर्णालीलाई समृद्ध बनाउने सरकारी लक्ष्यमा अलमल देखिएको हो । अर्गानिक प्रदेश बनाउन कर्णाली सरकारले थुप्रै योजनाहरू अघि सारेको छ । झन्डै साढे चार वर्षदेखि यही नारा लगाइरहेको सरकारले उल्लेखनीय प्रगति भने हासिल गर्न सकेको छैन । यस्ता कार्यक्रमको प्रतिफल तत्कालै नदेखिने र त्यसका लागि आधार निर्माण गर्न प्रवद्र्धनमूलक कार्यक्रम सञ्चालन भइरहेको दाबी सरकारी अधिकारीहरूको छ । कानुुनी दस्ताबेजीकरण, निर्देशिका निर्माण तथा नियमावलीलगायतका कामहरू भने भएका छन् । अर्गानिक प्रदेशका आधार तयार गर्ने सवालमा केही योजनाहरू अघि बढाइ पनि त्यसको कार्यान्वयन भने प्रभावकारी ढंगले अघि बढेको पाइएको छैन । सरकारी निकायले दाबी गरेबमोजिम कार्यक्रमहरू सफल हुन नसकेका हुन् ।
किसानलाई अनुदान, परम्परागत बाली संरक्षण, कृषि उत्पादनको बजारीकरण, व्यावसायिक खेती प्रवद्र्धनलगायतका प्रदेश सरकारका थुप्रै कार्यक्रम अहिले पनि अलपत्र छन् । ती कार्यक्रमले सबै लक्षित वर्गलाई समेट्न सकेका छैनन् । यसै कारण पनि नीति तथा योजनाहरू किसानमैत्री बनाउन नसकेको आरोप सरकारलाई लाग्दै आएको छ । अनुदान र सहुलियतका कार्यक्रममा गैरकिसानको हालीमुहाली हुने गरेको छ । सरकारी मापदण्ड, कार्यविधि र केही प्रक्रियागत सवालहरूमा समस्या रहेपनि किसानका लागि ल्याइएका कार्यक्रम कार्यान्वयनको अवस्था सन्तोषजनक देखिदैन । अहिलेसम्मका कार्यक्रमको प्रगति हेर्दा अर्गानिक कर्णालीको अवधारणा पनि छिट्टै पूरा हुुने सम्भावना न्यून छ ।
प्रकाशित मितिः २६ पुष २०७८, सोमबार ०५:०१
सम्पादकीय ।