राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन
काठमाडौं – आगामी माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ। आयोगले आइतवार नै उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ।
एमालेका उम्मेदवारलाई सूर्य चिन्ह, नेपाली कांग्रेसकालाई रुख, नेकपा माओवादी केन्द्रलाई गोलाकारभित्रको हँसिया हथौडा र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारलाई कलम चिन्ह दिइएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो, जनता समाजवादीलाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टीलाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह दिइएको हो ।
राष्ट्रिय सभा सदस्यको १९ पदमा नौ दलका ४३ जनाको उम्मेदवारी परेको छ। निर्वाचनबाट ७ महिला, ३ दलित, २ अपांगता भएका वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार राष्ट्रियसभामा विजयी हुनेछन्।
आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभा निर्वाचन हुन लागेको हो।
फागुन २० मा एमालेका ८, एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४, कांग्रेसका ३ र १ जना मनोनीतको कार्यकाल पूरा हुँदैछ।
राष्ट्रिय सभा सदस्यको पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। यो निर्वाचनमा एमालेविरुद्ध कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले मोर्चाबन्दी गरेको छ।
माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।
प्रकाशित मितिः २५ पुष २०७८, आईतवार २१:११
साझा बिसौनी ।